कपिलवस्तु । नेपाल रेडक्रस सोसाईटी कपिलवस्तु शाखाले बिगत ४ महिना देखि बन्द रहेको रक्त संचार केन्द्रलाई पुनः संचालन गर्नका लागि पहल सुरु गरेको छ । नेपाल रक्तदाता स्वमसेवी नेपाल कपिलवस्तुले बन्द रहेको केन्द्रलाई पुनःसंचालन गर्नु पर्ने भन्दै प्रशासन कार्यालय लगायतका निकायमा ज्ञापन पत्र दिए पछि सो पहल थालिएको हो ।
आर्थिक र कर्मचारी अभावले तौलिहवा अस्पतालमा संचालित केन्द्र बिगत ४ महिना देखि बन्द छ । शाखाको तौलिहवामा भएको बैठकले अस्पतालमा रहेको केन्द्रलाई शाखाको आफनै भवनमा मंसिर १५ भित्रै स्थातान्तरण गरी संचालन गर्ने निर्णय भएको शाखा सभापति केशव सिंहले बताए । ‘ केन्द्र संचालनका आफनै भवनमा सार्ने निर्णय गरेको छौ, सबैको सहयोग र साथ रहेको चाडै नै संचालनमा आउने छ ’ उनले भने । केन्द्र संचालनकालागि चाहिने आर्थिक स्रोत जुटाउन रक्तदाता स्वयमसेवी संघ, जिबिस, नगरपालिका, सांसद, संघ संस्थाहरुसंग सहयोग जुटाउने समेत निर्णय समेत गरिएको छ ।
बैठकमा सहभागी रहेको रक्तदाता स्वयमसेवी संघका जिल्ला अध्यक्ष मन्दीप सिंहले आफुहरुले केन्द्र संचालनकालागि सक्दो पहल र साथ दिने प्रतिबद्धता ब्यक्त गरे । गत असार सम्म संचनलनमा रहेको सो केन्द्र आर्थिक र कर्मरी अभाव देखाउदै अस्पतालले बन्द गरेको जनाएको छ । केन्द्र बन्द हुदा प्रसुति र अन्य केही अप्रेशन सेवाकालगि रगतको आवश्यक पर्ने भए पनि नपाईदा उपचारमा कठिनाई आएको तौलिहवा अस्पतालका डाक्टरहरु बताउछन् । ढाई बर्ष अघि आइएनएफ र रेडक्रसको सहयोगमा अस्पतालमा ब्लड बैक संचालन गरिएको थियो । केन्द्र संचालनार्थ जिबिसले अढाई लाख बजेट पनि छुट्टाएको थियो । तर गत पुस मै रेडक्रसलाई दिनु पर्ने सो बजेट राजीनिकरण गरी अस्पताल विकास समितिलाई गत जेठमा दिईएकाले समस्या आएको थियो ।