arrow

प्रचण्डको मुखुण्डो उतार्ने कुकुल्याण्ड, उदाङ्गियो टेलिकम माफियासँगको साँठगाँठ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २२ बिहिबार
Cuckooland-pic.jpg

काठमाडौं। बेलायती पत्रकार र लेखक टम बर्जिसको नयाँ पुस्तक ‘कुकुल्याण्ड-व्हेर द रिच होल्ड द त्रुथ’ मा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को टेलिकम माफियासँगको साँठगाँठ र उठबस लगायत उनले लिएका आर्थिक र भौतिक फाइदाहरूबारे उजागर पारिएको छ। 

लाजिम्पाटमा प्रचण्ड लामो समय बसेको ‘रातो घर’ पनि टेलिकम माफियाहरूले किनेर उपहार दिएको प्रसङ्ग पुस्तकमा उल्लेख गरिएको छ। प्रचण्ड र दरबारसँग नजिक मानिएका विवादास्पद व्यापारी अजय सुमार्गीले बिचौलियाको काम गर्ने गरेको र प्रचण्डको आर्थिक व्यवस्थापन गर्ने गरेको पनि पुस्तकमा उल्लेख गरिएको छ। 

विशेषतः नेपालमा २०६२/६३ सालको जनआन्दोलनको सफलता र माओवादी नेता प्रचण्ड खुला भएपछि एकाएक चर्चामा आएका सुमार्गी अझै पनि रहस्यमय पात्र हुन् ।

उक्त पुस्तकमा हेलो नेपालको स्थापना र एनसेलमा टेलियासोनेराको लगावसम्मका कर्तुतहरू उदाङ्गो पारिएको छ। । उक्त पुस्तकका लेखक बेलायती पत्रिका गार्जियनमा आबद्ध रहेका छन् भने उनले बेलायती पत्रिका फाइनान्सियल टाइम्समा काम गर्ने क्रममा अफ्रिका र एसियामा कसरी बिचौलियाहरूले काम गर्छन् भनेर धेरै रिपोर्टिङ गरेका छन्। 
त्यही रिपोर्टिङका क्रममा उठेका प्रश्नहरूलाई पुस्तकका रूपमा उनले ‘द लुटिङ मशिन’ र ‘क्लिप्टोपिया’ गरी दुई पुस्तक प्रकाशित गरिसकेका छन्। अफ्रिकी खानीहरू बारे रिपोर्टिङ गर्ने क्रममा देखेका अनियमितता बारे उनले ‘द लुटिङ मशिन’ लेखेका थिए भने कालो धन र विश्वको अर्थ राजनीतिमा केन्द्रित भएर ‘क्लिप्टोपिया’ पुस्तक लेखिसकेका छन्। 

बर्जिसका अघिल्ला दुई पुस्तकले विश्वमा राम्रो चर्चा पाएसँगै नयाँ पुस्तक ‘कुकुल्याण्ड’मा नेपालको समेत चर्चा हुनुले नेपाली समाजको ध्यान आकर्षित गरेको छ। प्रचण्ड र सुमार्गीको सम्बन्धबारे नेपाली मिडियाहरूले धेरै पहिलेदेखि रिपोर्टिङ गरिरहेका भए पनि उनीहरूको सत्ता र शक्तिले गर्दा रिपोर्टिङहरूको खासै प्रत्यक्ष प्रभाव परेको थिएन । 

आर्थिक रूपमा मध्यम वर्गीय सुमार्गी कसरी खरबपति बने भन्नेबारे उक्त पुस्तकले स्पष्ट पारेको छ। सुमार्गीले प्रचण्डलाई रक्सीदेखि बङ्गलासम्म उपहारका रूपमा दिएको उक्त पुस्तकमा बर्गिसले लेखेका छन्। प्रचण्डले सुमार्गीसँग रहेका रक्सीहरूको सङ्ग्रह बारे तारिफ गरेको पनि पुस्तकमा उल्लेख गरिएको छ। 

बेलायती नागरिक मोहम्मद अमेर्सीलाई सुमार्गीले प्रचण्डसँग भेटाएको प्रसङ्ग उल्लेख गर्दै अमेर्सी बाहिरी रूपमा उद्यमी, समाजसेवी देखिए पनि असलीमा टेलिकम बिचौलिया भएको उल्लेख गरिएको छ। अमेर्सीले एनसेलको तत्कालीन लगानीकर्ता टेलियासोनेराको सल्लाहकारका रूपमा काम गरेका थिए।

त्यही क्रममा उनले अजय सुमार्गीको हेलो नेपालमा टेलियासोनेराको लगानी, एनसेल कर छुटदेखि किनबेचसम्मको विवरण र घटनाक्रम उक्त पुस्तकमा उल्लेख गरिएको छ। नेपालको ठुलो काण्डमा पर्ने एनसेल किनबेच काण्डमा प्रचण्ड र सुमार्गी जोडिएका रहेछन्। 

हेलो नेपालमा टेलियासोनेरालाई लगानी गराउनका लागि सुमार्गीले प्रचण्ड मार्फत नेपालका सरकारी निकाय लगायत दूरसञ्चार प्राधिकरणसम्मलाई प्रभावमा पारेका थिए। सुमार्गी धनी हुनुमा प्रचण्डको सहयोग र उनको हेलो नेपालमा टेलियासोनेराको लगानी प्रमुख रहेका छन्। हेलो नेपालको तत्कालीन बजारभाउ भन्दा ४ गुणा बढि लगानी गर्न टेलियासोनेरालाई मनाएको प्रसङ्ग पनि पुस्तकमा उल्लेख गरिएको छ। 

बहुराष्ट्रिय कम्पनि टेलियासोनेराले सन् २०११ मा गैर कानुनी तरिकाले नेपाल स्याटलाइट टेलिकम(हेलो नेपाल)मा ७५ प्रतिशत लगानी गरेको बारेमा नेपाली छापाहरूमा समाचार आएका थिए। तत्कालीन समयमा माओवादी शक्तिशाली रहेका हुनाले उक्त समाचारहरूको प्रभाव परेको थिएन। 

माओवादीले युद्धताका बैङ्क लुटेको पैसा र पछि क्यान्टोनमेन्टको घोटालाको पैसा सुमार्गी मार्फत प्रयोग गरेको बताइएको छ। त्यही क्रममा विश्व बजारमा रहेका टेलिकम बिचौलियाहरू सुमार्गीको सम्पर्कमा आए र सुमार्गीले आफ्नो पहुँचको फाइदा उठाउँदै प्रचण्डसँग सम्पर्क गराइदिए। 

यसकाममा तत्कालीन सञ्चार मन्त्री कृष्णबहादुर महराले पनि निकै सहयोग गरेका छन्। हेलो नेपाललाई अनुमति दिने काम उनै महराले गरेका हुन्। उनै महरा अहिले सुन तस्करी काण्डमा अनुसन्धानको घेरामा रहेका छन्।

कुकुल्याण्डमा उल्लेख भएको प्रचण्डको सन्दर्भ

 

कुकुल्याण्डमा उल्लेख भएको प्रचण्डको सन्दर्भ


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ