arrow

दूतावासमा आक्रमणपछि मेक्सिकोले तोड्यो इक्वेडरसँगको कूटनीतिक सम्बन्ध 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २५ आइतबार
moscow-equator.jpg

काठमाडौँ । भ्रष्टाचारको आरोपमा दोषी ठहर भएपछि राजनीतिक शरण मागेका इक्वेडरका पूर्वउपराष्ट्रपतिलाई गिरफ्तार गर्न प्रहरी मेक्सिकाली दूतावासमा प्रवेश गरेपछि मेक्सिकोका राष्ट्रपतिले तुरुन्तै इक्वेडरसँगको कूटनीतिक सम्बन्ध तोड्ने कदम चालेका छन् । 

डिसेम्बरदेखि मेक्सिकाली दूतावासमा बस्दै आएका जर्ज ग्लासलाई गिरफ्तार गर्नका लागि इक्वेडरको प्रहरी राजधानी क्विटोस्थित दूतावासमा प्रवेश गरेपछि राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्रेडोरले शुक्रबार साँझ इक्वेडरसँगको कूटनीतिक सम्बन्ध तोड्ने घोषणा गरे । 

घुसखोरी र भ्रष्टाचारको आरोपमा दोषी ठहराइएका ग्लास सम्भवतः इक्वेडरमा सर्वाधिक वाञ्छित व्यक्ति छन् र इक्वेडरका अधिकारीहरूले अहिले पनि उनविरुद्ध थप आरोपहरूको अनुसन्धान गरिरहेका छन् । इक्वेडरको राजधानीमा मेक्सिकाली कूटनीतिक मुख्यालयबाहिर ढोका फोरेर ग्लासलाई लिन प्रहरी मुख्य आँगनमा प्रवेश गरेको थियो । 

“यो सम्भव छैन, यस्तो हुन सक्तैन, यो पागलपन हो”, क्विटोमा मेक्सिकाली कन्सुलर खण्डका प्रमुख रोबर्टो क्यान्सेकोले दूतावास बाहिर उभिएर स्थानीय प्रेसलाई भने, “उनीहरूले ग्लासलाई मार्न सक्छन् भनेर म अत्यन्त चिन्तित छु, यस्तो गर्ने कुनै आधार छैन, यो सम्पूर्णरूपमा मानकभन्दा बाहिर छ ।”

आफ्नो फैसलाको बचाउ गर्दै इक्वेडरका राष्ट्रपतिले एक विज्ञप्तिमा भने, “इक्वेडर एक सार्वभौम राष्ट्र हो र हामी कुनै पनि अपराधीलाई स्वतन्त्र रहन अनुमति दिने छैनौँ ।”

मेक्सिकाली राष्ट्रपति लोपेज ओब्रेडोरले ग्लासको हिरासतलाई ‘तानाशाही कार्य’ र ‘अन्तर्राष्ट्रिय कानून र मेक्सिकोको सार्वभौमिकताको घोर उल्लङ्घन’ भन्दै जवाफ फर्काए । 

मेक्सिकोको विदेश सम्बन्ध सचिव एलिसिया बार्सेनाले सामाजिक सञ्जाल एक्समा प्रहरी दूतावास प्रवेश गर्ने क्रममा धेरै कूटनीतिज्ञलाई चोट लागेको भन्दै यसले कूटनीतिक सम्बन्धमा भियना महासन्धिको उल्लङ्घन गरेको बताए । 

भियना महासन्धिअन्तर्गत कूटनीतिक परिसरहरू ‘अभेद्य’ मानिन्छन् र स्थानीय कानून प्रवर्तन एजेन्सीलाई राजदूतको अनुमतिबिना कूटनीतिक परिसरमा प्रवेश गर्ने अनुमति छैन । विकिलिक्सका संस्थापक जुलियन असान्जे सात वर्षसम्म लन्डनस्थित इक्वेडरको दूतावासभित्र बस्नुभएको छ । त्यसैले बेलायती प्रहरी उनलाई पक्राउ गर्न दूतावासभित्र प्रवेश गर्न सकेन । 

बार्सेनाले मेक्सिकोले अन्तर्राष्ट्रिय कानून उल्लङ्घनका लागि इक्वेडरको जिम्मेबारीलाई निन्दा गर्न मुद्दालाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने जानकारी दिए । उनले मेक्सिकाली कूटनीतिज्ञहरू इक्वेडर सरकारबाट उनीहरूको घर फिर्तीका लागि आवश्यक ग्यारेन्टी प्राप्त गर्न पर्खिरहेको बताए । 

इक्वेडरको विदेश मन्त्रालय र गृह मन्त्रालयले यसबारेमा तत्काल कुनै जवाफ दिएका छैनन् । क्विटोमा मेक्सिकाली दूतावास शुक्रबार राति प्रहरीको सुरक्षामा रह्यो । 

एक दिनअघि मेक्सिकोका राष्ट्रपतिले इक्वेडरका राष्ट्रपति ड्यानियल नोबोआ निर्वाचित भएको गत वर्षको निर्वाचनलाई इक्वेडरले ‘धेरै दुर्भाग्यपूर्ण’ ठानेको बताएपछि दुई मुलुकबीच तनाव बढेको थियो । जवाफमा इक्वेडर सरकारले मेक्सिकाली राजदूतलाई अवाञ्छित व्यक्ति घोषणा गरेको छ । 
 



लोकप्रिय समाचार
नयाँ