arrow

गाजा युद्धमा इजरेल ‘जितबाट एक कदम टाढा’ छ– नेतान्याहु

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २६ सोमबार
Benjamin-netanyahu.jpg

काठमाडौँ ।  इजरेली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आइतबार इजरेल गाजा युद्धमा ‘जितबाट एक कदम टाढा’ रहेको बबताएका छन् । उनले हमासले सबै बन्धकलाई मुक्त नगरेसम्म कुनै युद्धविराम नहुने वाचा गरे। 

हमास लडाकूहरूले इजरेलमा अभूतपूर्व आक्रमण गरेपछि अक्टोबर ७ मा सुरु भएको युद्ध छ महिना पूरा भएको अवसरमा मन्त्रिपरिषद्को बैठकमा उनले भने, “हामी जितबाट एक कदम टाढा छौँ तर हामीले जुन मूल्य तिरेका छौँ त्यो दर्दनाक र हृदय विदारक छ ।” 

अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूसँग कायरोमा युद्धविराम वार्ता पुनः सुरु हुने अपेक्षाबीच उनले भने, “बन्धकहरूको फिर्तीबिना कुनै युद्धविराम हुनेछैन, यस्तो हुनेछैन ।”

“इजरेल सम्झौताका लागि तयार छ, इजरेल आत्मसमर्पण गर्न तयार छैन”, उनले जोड दिँदै भने, “हमासलाई आफ्नो स्थिति कडा बनाउनका लागि बाध्य बनाउने गरी इजरेलमाथि अन्तर्राष्ट्रिय दबाब दिनुको सट्टा अन्तर्राष्ट्रिय समुदायको दबाब हमासविरुद्ध निर्देशित हुनुपर्छ, यसले बन्धकहरूको रिहाइलाई अगाडि बढाउने छ ।”

अप्रिल १ मा गाजामा भएको हवाई हमलामा अमेरिकास्थित खाद्य च्यारिटी वर्ल्ड सेन्ट्रल किचेनका सात सहायताकर्मी मारिएपछि इजरेलले अन्तर्राष्ट्रिय आक्रोशको सामना गर्नुपरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार नेतान्याहुसँग टेलिफोनवार्तामा ‘तत्काल युद्धविराम’ को माग गर्दै इजरेललाई नागरिकहरूको हत्या कम गर्न तथा मानवीय स्थिति सुधार गर्न अमेरिकी समर्थनलाई सःशर्त बनाउने सङ्केत गरे। 

यसैबीच नेतान्याहुले ‘आफ्ना प्रतिनिधिहरूमार्फत’ इजरेलविरुद्ध धेरै हमलामा इरानको अप्रत्यक्ष हात रहेको आरोप लगाए । “जसले हामीलाई चोट पुर्याउँछ वा चोट पुर्याउने योजना बनाउँछ, हामी उसलाई चोट पुर्याउने छौँ, हामीले यो सिद्धान्तलाई प्रत्येक समय र हालका दिनमा व्यवहारमा ल्याएका छौँ”, उनले भने । 

इरानले सोमबार दमास्कसमा आफ्नो दूतावासको कन्सुलर खण्डमा हवाई हमलामा आफ्ना सात रिभोल्युसनरी गार्डको हत्याका लागि जवाफी कारबाही गर्ने वाचा गरेपछि गाजामा युद्ध फैलने आशङ्का तीव्र भएको छ । इरानका नेताहरूले जवाफी कारवाहीको वाचा गरेका छन् र लेबनानको इरान समर्थित हिजबुल्लाह आन्दोलनका नेता हसन नसरल्लाहले वाणिज्य दूतावासमा भएको हमलालाई ‘निर्णायक विन्दु’ भनेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ