arrow

सुन तस्करी आयोगको रिपोर्टमाथि शंका, डीएसपीकै कल डिटेलमा भेटियो गलत तथ्य 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २७ मंगलबार
rugam-kunwar-ravi-lamichhan.jpg

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले सुन तस्करी जाँचबुझ आयोगले दिएको रिपोर्टको आधारमा भन्दै  प्रहरी नायब उपरीक्षक (डीएसपी) रुगम कुँवरमाथि पुरानो रीस साँध्ने क्रममा गलत रिपोर्टको सहारा लिएको तथ्य फेला परेको छ ।

सुन तस्करीमा फरार आरोपी जीवन चलाउने बीचको फोन सम्पर्कबारे गलत रिपोर्ट तयार पारी उल्लेख गरेको त्यही रिपोर्टलाई आधार मानेर कारबाही गरिएको चर्चा चलाएर पुरानो रीस साँधेको पाइएको हो । 

सो आयोगले डीएसपी कुँवर र चलाउनेबीच ०७९ पुस १६ देखि ०८० भदौ २५ गतेसम्म दुई हजार ४१० पटक फोन सम्पर्क भएको उल्लेख गरेको छ । 

तर कुँवरले सुन्धारास्थित नेपाल टेलिकमको कार्यालयमा निवेदन दिएर आइतबार निकालेको ‘कल डिटेल’मा उक्त अवधिमा उनीहरूबीच ८२ पटकमात्र फोन सम्पर्क भएको देखिएको थियो । 

डीएसपी कुँवर र चलाउने दुवै अछामका बासिन्दा भएका कारण एक अर्कासँग परिचित रहेको भएर पनि उनीहरुबीच कुराकानी हुने गरेको थियो । 

डीएसपी कुँवरले अछामकै चिनेजानेको  मानिस भएकाले चलाउनेसँग फोन सम्पर्क हुने गरेको तर त्यसमा कुनै पनि प्रकारको कारोबार र अनैतिक कुराकानी कहिल्यै नभएको बताउँदै आएका छन् । 

सुन तस्करी जाँचबुँझ आयोगले लगाएको आरोपजस्तो चलाउनेसँग सुन तस्करीबारे कुराकानी नभएको र उनले गरेको कारोबारबारे केही पनि जानकारी नभएको बताउँदै आएका छन् । 

सुन तस्करी जाँचबुझ आयोगले भने चलाउनेसँग फोन सम्पर्क देखिएको भन्दै उनलाई विभागीय कारबाही सिफारिस गरेको थियो । आयोगको सिफारिसपछि उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट प्रहरी प्रधान कार्यालयमा तानिएको थियो । 

उनीबाहेक चलाउनेसँग अरू प्रहरी अधिकारीको पनि फोन सम्पर्क देखिएको छ तर कुँवरलाई मात्र कारबाही सिफारिस गरिएको थियो । 

सुन तस्करी प्रकरणको अनुसन्धानमा उनी संलग्न थिएनन् । सो प्रकरणको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीकोसमेत कमजोरी देखिएपछि एसपी सञ्जय थापा, डीएसपी दुर्गा दाहाल र सीआईबीकी तत्कालीन प्रमुख एवं एआईजी किरण बज्राचार्यलाईसमेत कारबाही सिफारिस गरिएको थियो । 

उनीहरू सबै जनालाई सीआईबीबाट हटाइएको थियो । उनीहरुले सुन तस्करीको मात्र होइन सहकारी ठगीबारेसमेत अनुसन्धान गरिरहेका थिए । सहकारी ठगी अनुसन्धानमा रवि लामिछानेको संलग्नताबारे पोखराको सूर्यदर्शन सहकारीबाट फाइल झिकाएर अनुसन्धान गरिरहेको बेला उनीहरुको सरुवा गरेर त्यहाँ एआईजी श्याम ज्ञवालीलाई पठाएका थिए । 

साथै कुँवरको हकमा तत्कालीन अपराध महाशाखाका प्रमुख सहकुल थापाकै निर्देशनमा रवि लामिछानेलाई न्यूज २४ को कार्यालयबाट शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ गरी चितवन पठाएका थिए । 

त्यतिबेला र अहिले सहकारी ठगीको विषयमा गरेको अनुसन्धानको रीस साँधिरहेको स्रोतको दाबी छ ।
 



लोकप्रिय समाचार
नयाँ