arrow

चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध निर्वाचित 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २७ मंगलबार
nepal-chamber-new-committee.jpg

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । काठमाडौँको जमलस्थित चेम्बर भवनमा भएको ७३ औँ वार्षिक साधारण सभाबाट अग्रवाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।  

उनी यसअघि चेम्बरको वरिष्ठ उपाध्यक्ष थिए । दुई दशकदेखि चेम्बरमा आवद्ध अग्रवालको उद्योग वाणिज्य क्षेत्रमा ४० वर्ष लामो व्यवसायिक अनुभव रहेको छ । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । 

निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नवनिर्वाचित अध्यक्ष अग्रवाललाई कार्यभार हस्तान्तरण एवं शुभकामना व्यक्त गरे । 

चेम्बरको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दीपककुमार मल्होत्रा निर्विरोध निर्वाचित भएका छन् । यस्तै वाणिज्यतर्फको उपाध्यक्षमा उर्मिला श्रेष्ठ, उद्योगतर्फ दिपक श्रेष्ठ, बस्तुगत संघतर्फ सुरेन्द्र कुमार श्रेष्ठ, द्धिराष्ट्रियमा नीलकण्ठ चौलागाई र जिल्ला तर्फको उपाध्यक्षमा सन्तोष कुमार पाण्डे निर्विरोध निर्वाचित भएका हुन् । 

७३ औँ वार्षिक साधारण सभाले अर्जुनप्रसाद शर्मालाई मानार्थ उपाध्यक्ष चयन गरेको छ ।

यसअघि निजी क्षेत्रकै सबैभन्दा पुरानो संस्था नेपाल चेम्बर अफ कमर्शको मंगलबार अपराह्न चेम्बरको वार्षिक साधारण सभा अन्तर्गत उद्घाटन सत्र सम्पन्न भएको थियो । सभाको उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका थिए ।

सम्बोधन गर्दै चेम्बर अध्यक्ष राजेन्द्र मल्लले मुलुकको बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिएका छन् ।  

उनले आगामी बजेट वस्तुनिष्ठ र कार्यान्वयनमुखी हुनुपर्ने बताए । अध्यक्ष मल्लले भने, ‘बजेट संधै महत्वाकांक्षी र ठूलो आकारको बनाउने तर श्रोतको अभावमा पछि घटाउने गरिएको छ । बजेट यथार्तपरक एवं घाँटी हेरी हड्डी निल्न सक्ने हुनुपर्दछ, ।’

आर्थिक गतिविधि विस्तार गरी राजश्व लक्ष्य बृद्धि गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । उहाँले करको दर नभई दायरा बिस्तार गरेर नागरिकतासँगै प्यानकार्ड दिने व्यवस्था गर्नुपर्ने धारणा राखे  । 

अर्थतन्त्रको बाह्य सूचकमा सुधारका केही संकेत देखिएपनि आन्तरिक तर्फ सुस्तता कायमै रहेको अध्यक्ष मल्लले बताए । आयातको तुलनामा निर्यात निकै कम हुँदा यो वर्ष पनि व्यापार घाटा उच्च हुने देखिएको अध्यक्ष मल्लको भनाइ थियो । 

पूँजीगत खर्च हुन नसक्ने तथा उत्पादनशील क्षेत्रमा लगानी प्रवाह हुन नसक्दा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने सरकारी लक्ष्य पुरा हुनेमा चुनौती रहेको अध्यक्ष मल्लले बताए । मुलुकलाई आत्मनिर्भर बनाउन अर्थतन्त्रका हरेक क्षेत्रमा उत्पादन र उत्पादकत्व बढ्नु अनिवार्य रहेको उनले उल्लेख गरे ।  

तुलनात्मक लाभ भएका कृषि, जलश्रोत, पर्यटन तथा सूचना प्रविधिको क्षेत्रका स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्नुपर्ने अध्यक्ष मल्लको भनाइ छ । चेम्बरको ७३ औँ वार्षिक साधारण सभालाई उद्घाटन गर्दै उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक विकास र समृद्धिको कार्यभार पूरा गर्न सरकार प्रयासरत रहेको बताए । आर्थिक उन्नतिका लागि निजी क्षेत्रको प्रर्वद्धन र सुरक्षा गर्न सरकार अत्यन्तै गम्भीर रहेको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ