प्रधानमन्त्रीको पहलमा मलेसियाबाट सन्तबहादुरको शव घर आयो
प्रकाशित २०७३ मंसिर ८ बुधबार
1k
Shares
काठमाडौं । सरकारको पहलपछि मलेसियामा मृत्यु भएका पूनर्बास नगरपालिका, चगाउँ, कञ्चनपुरका २९ वर्षीय सन्तबहादुर तामाङको शव काठमाडौं आइपुगेको छ ।
वैदेशिक रोजगारीको क्रममा २ वर्ष अघि मलेसिया पुगेका तामाङको मंसीर २ गते अकस्मात् मृत्यु भएको थियो । मृतकका परिवारले मंसीर ६ गते मृतकको शव नेपाल ल्याउने व्यवस्था मिलाई दिन प्रधानमन्त्री कार्यालयमा अनुरोध गरेका थिए ।
मृतकका आफन्तको अनुरोधपछि माओवादी केन्द्र कञ्चनपुर जिल्ला पार्टीको समन्वय र प्रधानमन्त्री कार्यालयको विशेष पहलमा तामाङको शव नेपाल ल्याइएको बताइएको छ । तामाङको शव नेपाल ल्याउने प्रक्रियाका लागि प्रधानमन्त्री कार्यालयले श्रम मन्त्रालय, परारष्ट्र मन्त्रालय र मलेसियाको नेपाली दूतावाससँग समन्वय गरेको थियो ।
तामाङको शव नेपाली समय अनुसार वुधबार दिउँसो १ बजे त्रिभूवन विमानस्थल ल्याइएको थियो । तामाङको मृत शरिर गृह जिल्ला कञ्चनपुर पठाइएको माओवादी नेतृ विना मगरले जानकारी दिइन् । तामाङको शव कञ्चनपुर लैजाने व्यवस्था प्रधानमन्त्री कार्यालयले मिलाएको थियो ।