arrow

संविधान संशोधनको पक्षमा एकिकृत राप्रपा

माघभित्र पार्टीको केन्द्रीय महाधिवेशन गरिसक्ने

logo
प्रकाशित २०७३ मंसिर ८ बुधबार
raprapa-news-aa.jpeg

काठमाडौं । पार्टी एकीकरणसँगै चौथो ठूलो शक्ति बनको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले समयमै संविधान संशोधन हुनु पर्नेमा जोड दिएको छ ।

पार्टी एकीकरण पछि बसेको केन्द्रीय समिति बैठकमा पार्टीका कार्यकारी अध्यक्ष कमल थापा सहित अधिकांश सदस्यहरुले संविधान संशोधनको विषय समयमै टुंगिनु पर्नेमा जोड दिएका हुन् ।

पार्टी अध्यक्ष कमल थापाले बैठकका एजेण्डा प्रस्तुत गर्ने क्रममा संविधान संशोधनको विषय समेत उठान गरे । अध्यक्ष थापाले भने, ‘संविधान संशोधन संशोधन हुनु पर्दछ । यो ठूलो चुनौती हो । तोकिएको समयमा तीनै तहको निर्वाचन भई संविधान कार्यान्वयन हुनुपर्दछ ।

संविधान संशोधनको विषय टुंगिएन भने जटिल परिस्थिति आउने छ ।’ यद्यपि, राप्रपाका अधिकांश नेताहरुले राष्ट्रहित विपरीतका सम्झौतामा कोही कसैलाई सहयोग नगर्ने बताएका छन् ।

बैठकमा बोल्ने अधिकांश नेताहरुले राप्रपाले उठाएका माग सम्बोधन नभए अन्य विषयमा सहयोग गर्नुको अर्थ नहुने बताए । बैठकमा सहभागि केन्द्रीय कार्यसम्पादन सदस्य एवं संसदीय दलका मुख्य सचेतक दिलनाथ गिरीले संविधान संशोधनका विषयमा राप्रपाको पूर्ण ध्यानाकर्षण भएको बताए ।

उनले भने, ‘यस विषयमा दुई ठूला दल कांग्रेस र माओवादीबाट विस्तृत प्रस्ताव आएको छैन । अहिले सम्म भएको अनौपचारिक वार्ताहरुमा उहाँहरुले सहयोग माग्ने र हामीले त्यसविषयमा होमवर्क गर्दछौं भन्ने सम्म मात्रै कुरा भएको छ ।’ यद्यपि, राप्रपा संविधान संशोधन भई देशलाई चाँडो निकास दिनु पर्दछ भन्नेमा पूर्ण जिम्मेवार छ । नेता गिरीले सरकारमा बसेर खेल्ने भूमिकाबारे थप कुरा हुन बाँकी रहेको पनि जानकारी दिए ।

माघभित्र महाधिवेशन गरिसक्ने
राप्रपाले आगामी माघ महिना भित्र पार्टीको महाधिवेशन गरिसक्ने गरी तयारी थालेको छ भने सोही अनुसारको छलफल अघि बढाएको छ । केन्द्रीय समितिको पहिलो बैठकमा अध्यक्ष कमल थापाले गाउँ, नगर, क्षेत्र र जिल्ला तथा भ्रातृ संस्थाका अधिवेशन पुस मसान्तसम्म सक्न प्रस्ताव गरेका छन् ।

यस्तै, केन्द्रीय महाधिवेशन माघभित्र गरिसक्ने प्रस्ताव आएको नेताहरुले बताएका छन् । यद्यपि, केही नेताहरुले स्थानीय तहको निर्वाचन नहुने भए फागुसम्म महाधिवेशन गरेपनि फरक नपर्ने धारणा राखेका छन् । पार्टी एकीकरण गर्दा सोमबार तीन महिना भित्रमा महाधिवेशन गरिसक्ने घोषणा गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ