arrow

‘संविधान कार्यान्वयन पहिलो शर्त’

logo
प्रकाशित २०७३ मंसिर ८ बुधबार
Nepal-gets-first-female-chief-jj.jpeg

काठमाडौँ । प्रधानन्यायाधीश सुशीला कार्कीले समावेशी र समानुपातिक चरित्र बोकेको नेपालको संविधानलाई सबै राजनीतिक दल मिलेर कार्यान्वयनमा लैजानुपर्ने अहिलेको आवश्यकता भएको बताएकी छन् ।

उच्चस्तरीय प्रशासन सुधार तथा अनुगमन समितिले गरेको प्रशासनिक पुनःसंरचनाका सन्दर्भमा ‘संविधानको कार्यान्वयन र जवाफदेहिता’ विषयको कार्यक्रममा कार्कीले हल्लाको पछि नलागी संयमित भएर संविधान कार्यान्वयनलाई अघि बढाउन सुझाव दिइन् ।

मुलुक, जनताको हित र उन्नतिका लागि सहमति कायम गरी अघि बढ्न दललाई सुझाव दिँदै कार्कीले भनिन् , ‘संविधान शान्ति, सुरक्षा र विकासका लागि भएकाले अब द्वन्द्वको अन्त्य गरिनु पर्दछ । भौगोलिक जटिलता र जनताको हितलाई हेरेर न्यायालयको पुनःसंरचनाको मार्गचित्र अघि बढाइसकिएको छ ।’

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सिद्धान्तमा एकमत हुने तर व्यवहारमा भने विपरीत दिशामा उभिने प्रवृत्तिले संविधान कार्यान्वयनमा चुनौती खडा गरिरहेको बताए ।

नेता नेम्वाङले भने, ‘जनतालाई केन्द्रमा राखेर शासन व्यवस्था सञ्चालन गर्ने कुरामा कसैले विमति नगरे पनि व्यवहारमा त्यो पटक्कै देखिँदैन, संविधान कार्यान्वयनमा पनि आफूलाई कति प्रतिबद्ध र जवाफदेही छौँ भन्ने कुरा गम्भीर रुपमा आत्मसमीक्षा गर्न आवश्यक छ । संविधान कार्यान्वयन अहिलेको पहिलो सर्त हो र त्यसका लागि सबै एक ठाउँमा उभिन आवश्यक छ ।’

काँग्रेका नेता नारायणप्रकाश साउदले स्थानीय मतदाताको भावना र आवश्यकता विपरीत गएर प्रदेशको कुरा गर्दा मुलुक रणनीतिक चक्रब्यूमा परेको बताए । एमाले नेता लालबाबु पण्डितले संविधानलाई निष्प्रभावी हुन नदिन संविधान कार्यान्वयन र निर्वाचनका लागि आवश्यक पर्ने कानुन द्रूतमार्गबाट बनाइनुपर्ने बताए ।

प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले संविधानले तोकेको मितिभित्र तीन वटा निर्वाचन गर्न धेरै काम गर्नुपर्ने अवस्था भए पनि अहिलेसम्म निर्वाचनसम्बन्धी कानुन नआएको गुनासो गरे । नेपाल सरकारका मुख्य सचिव सोमलाल सुवेदीले मुलुकमा भएका पुराना संरचनालाई कायम राखेर पुनःसंरचना गर्न खोज्ने तथा पुनःसंरचनामा जाँदा मेरो स्थान कहाँ हुन्छ भनेर खोज्ने प्रवृत्तिले सङ्घीयता कार्यान्वयनमा बाधा पुर्‍याइरहेको सुनाए ।

उच्चस्तरीय प्रशासनिक सुधार सुझाव एवम् कार्यान्वयन समितिका अध्यक्ष काशीराज दाहालले राजनीतिक दल एकताबद्ध भएर राष्ट्रियतालाई बलियो बनाउने, सङ्क्रमणलाई अन्त्य गर्न तीन तहका निर्वाचन तोकिएको समयमै सम्पन्न गराउनेतर्फ सबैको भूमिकाको अपेक्षा गरिएको बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ