arrow

यसरी आउँदै छ सरकारको संशोधन प्रस्ताव : ५ नम्बर प्रदेश टुक्रिने पक्का

विकल्पमा आठौं प्रदेश

logo
प्रकाशित २०७३ मंसिर ९ बिहिबार
PM-sanga-morcha-netaharu.jpeg

काठमाडौं । संविधान संशोधनको विषयमा केन्द्रमा दलीय सहमति हुन सकेको छैन भने प्रदेश ५ का विभिन्न जिल्लामा प्रदर्शन सुरु भएको छ । सरकारले संसदमा दर्ता गर्न लागेको संविधान संशोधन प्रस्ताव अहिले प्रस्तावित खाकामध्ये प्रदेश ५ का पहाडी जिल्ला अन्यत्र गाभ्ने गरी आउन लागेकाे भन्दै विरोध सुरु भएको हो ।

प्रस्तावित संघीय संरचनानै हुनु पर्ने र कुनै पनि क्षेत्र छुट्याउन तथा गाभ्न नपाइने भन्दै प्रदेश ५ का रुपन्देही, नवलपरासी, गुल्मी र रोल्पामा आन्दोलन सुरु भएको छ । संसदको दोस्रो ठूलो दल एवं प्रमुख विपक्षी एमालेले संविधान संशोधन गर्न मानेको छैन । प्रस्तावित प्रदेशको संरचना चलाउन आवश्यक नरहेको भन्दै एमाले संविधान संशोधनको संवादबाट बाहिरिएको छ ।

उसले सत्ताधारीहरुले एकलौटी संशोधन प्रस्ताव ल्याए कडा प्रतिवाद गर्ने चेतावनी दिइसकेको छ । यद्यपि, वुधबार असन्तुष्ट मधेशी मोर्चा र सत्ताधारी दलहरुबीच भएको सहमति अनुरुप मोर्चाले भनेकै समय सीमा (मंसिर १५)भित्रै व्यवस्थापिका संसदमा प्रस्ताव दर्ता गर्ने सरकारको तयारी छ ।

यही दिन दर्ता हुने भन्ने यकिन भएको छैन, प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार चन्द्रप्रकाश (चक्रपाणी) खनालले हाम्राकुरासँग भने, ‘मधेसी मोर्चासहितको संघीय गठबन्धनले दिएको समयसीमा भित्रै प्रस्ताव दर्ता हुन्छ । प्रताव आउने पक्का हो । कुनै शंका छैन । मोर्चाका नेताहरुले समेत दर्ता पक्रियामा जानुस् कुनै वाधा छैन भनेका छन् ।’ खनालका अनुसार संशोधन प्रस्ताव प्रदेश नम्बर ५ को सीमाङ्कन हेरफेर गर्ने गरेर आउँदैछ । प्रस्तावमा प्रदेश ५ का गुल्मी, अर्घाखाँची र पाल्पा ४ नम्बरमा र प्यूठान, रोल्पा र रुकुम ६ नम्बरमा गाभ्ने कुरा छ ।

प्रदेश ५ मा सत्ताधारी माओवादी केन्द्रले नै सीमाङ्कन चलाउन नहुने भन्दै विरोध गरिरहेका बेला सरकारले केही पहाडी जिल्ललाई ४ र केहीलाई ६ वा त्यसो नभएको खण्डमा अर्को प्रदेशको विकल्प सहित संशोधन प्रस्ताव आउने खनालले जानकारी दिए ।

उनले भने, ‘प्रदेश ५ मा केही तलमाथि हुने गरेरै संशोधन प्रस्ताव तयार हुँदैछ । यस्तै गर्ने भनेर ड्राफ्ट फाइनल भएको छैन । दर्ता हुने एक दिन अघि के–के आउँदै छ भन्ने थाहा हुन्छ ।’ खनालले नागरिकता, भाषा, प्रदेश सीमाङ्कन र राष्ट्रिय सभालगायतका विषय समेटेर संशोधन तयार हुँदै छ–भने ।

आठ प्रदेश बनाउने गरी प्रस्ताव तयार भएको हो ? जवाफमा उनले भने, ‘आठै प्रदेश बनाउने भनेर भनिएको छैन । त्यो अन्तिममा भनिएला । हुन त हामीले १० प्रदेश भन्दै आएका हौं । त्यसैमा अडिएर त समस्या समाधान हुँदैन नि ! जहाँ सहमति हुन्छ । त्यही आएर विषय टुंग्याउने हो ।’

सहमति त गरिहाल्नु भो नि । एमालेलाई भगाइहाल्नु भो ? खनालले भने, ‘एमाले किन बाहिरियो त्यो उसैलाई थाहा होला । तर, संविधान कार्यान्वयनका सन्दर्भमा एमाले पनि त जिम्मेवार छ । उसले पनि यो कार्यबाट भाग्न मिल्दैन । संविधान संशोधन नगरी कार्यान्वयनमा जटिलता छ ।’ यो त एमालेले राम्ररी बुझेको छ ।  
 

गुल्मीमा पदर्शन
गुल्मी, अर्घाखाँची लगायतका जिल्लालाई ५ नम्बर प्रदेशबाट छुट्याउन खोजिएको विरोधमा सदरमुकाम तम्घासमा प्रदर्शन भएको छ । तम्घासमा उद्योग वाणिज्य संघकै अगुवाईमा प्रदर्शन भएको हो ।

प्रदर्शनपछि प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यलयलाई ज्ञापन पत्र बुझाइएको छ । ज्ञापनपत्रमा संविधान संशोधनको विरोध गरिएको छ भने लामो समयदेखि तराईका जिल्लाहरुसँग रहेको व्यापारीक सम्बन्ध, आत्मियता तथा एकतालाई तोड्न नहुने भन्दै ध्यानाकर्षण गराइएको छ ।

नवलपरासीमा सवारी तोडफोड
संविधान संशोधनको विषयलाई लिएर एमाले निकट विद्यार्थीहरुले नवलपरासीको कावासोतीमा विवाहको बस तोडफोड गरेका छन् । चक्काजाममा बस चलाएको भन्दै ना ३ ख ४१३८ नम्बरको बस तोडफोड भएको हो । प्रदर्शनकारीले नवलपरासीको नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ४ मै कायम गर्न पनि उनीहरुले माग गरेका छन् । माग पूरा नभए अनिश्चितकालिन चक्काजाम गर्ने उनीहरुको चेतावनी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ