arrow

मदिरा नीतिमा हिरासतमा रहेका केजरीवाललाई जेलमै दिइयो इन्सुलिन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ११ मंगलबार
kejariwal-arvind-cm-delhi-jail.jpg

काठमाडौँ । मदिरा नीतिमा मुछिएर हिरासतमा रहेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पहिलो पटक जेलमा इन्सुलिन दिइएको छ । केजरीवाललाई सुगर रोगका कारण इन्सुलिन दिइएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

यसअघि केजरीवालले जमानत पाउने आशामा सुगर भएको दाबी गरेको बताउँदै विवाद भएको थियो । आम आदमी पार्टीका विधायक तथा दिल्ली सरकारका मन्त्री सौरभ भारद्वाजले केजरीवाललाई जेलमा इन्सुलिन दिएको जानकारी दिँदै मुख्यमन्त्री सही भएको प्रमाणित भएको बताएका छन् ।

जेलका अधिकारीहरूलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले केजरीवाललाई एम्सका डाक्टरहरूको सल्लाहमा सोमबार साँझ कम डोज इन्सुलिन दिइएको बताएको छ । 

सोमबार साँझ केजरीवालको सुगरको तह २१७ पुगेको अधिकारीहरूले जनाएपछि डाक्टरहरूले उनलाई इन्सुलिन दिने निर्णय गरेका थिए ।

यसअघि सीएम केजरीवालले तिहाड जेलका सुपरिटेन्डेन्टलाई चिठ्ठी लेखेर उच्च सुगर भए पनि इन्सुलिन नपाएको बताएका थिए ।

यसअघि सोमबार केजरीवालले आफ्नो स्वास्थ्य परीक्षण गर्न हरेक दिन १५ मिनेट डाक्टरसँग परामर्शको अनुमति मागे पनि अदालतले सो अनुमति दिन अस्वीकार गरेको थियो ।

त्यस्तै प्रवर्तन निर्देशनालय (ईडी) ले केजरीवालले सुगरको लेभल बढाउन र जमानत पाउन जेलमा आँप र मिठाइ खाइरहेको आरोप लगाएको थियो । 

केजरीवाललाई मदिरा नीति घोटालाको आरोपमा मार्च २१ मा प्रवर्तन निर्देशनालयले पक्राउ गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ