कांग्रेस–माओवादीमा संशोधन प्रस्तावलाई अन्तिम रुप दिन यस्तो चटारो
मन्त्रिपरिषद् बैठक अनिश्चित, आइतबार संशोधन दर्ता हुने
प्रकाशित २०७३ मंसिर १० शुक्रबार
981
Shares
काठमाडौं । सत्तारुढ मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र संविधान संशोधन प्रस्तावलाई अन्तिम रुप भगीरथ प्रयत्नमा छन् । मेधसी मोर्चासँग भएको सम्झौतानुसार माग सम्बोधनका लागि गठबन्धन सरकार संविधान संशोधन प्रस्ताव दर्ता गर्ने अन्तिम तयारी छ ।
मोर्चासहितको संघीप्य गठबन्धनले पछिल्लो समय दिएको अल्टिमेटम सकिनै लाग्दा सत्ता गठबन्धन प्रतिपक्षीको सहमति विनै संशोधन प्रस्ताव ल्याउन लागेको र सो बारे अन्तिम छलफल गरिरहेको बताइएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान करिब ३ घण्टा भएको छलफलमा संशोधनका विषयहरु सीमाङ्कन, भाषा, नागरिकता, राष्ट्रियसभाको प्रतिनिधित्वबारे छलफल भएपनि प्रस्तावले अन्तिम रुप पाउन सकेन ।
बैठकमा दुई दलबीच आन्तरिक छलफल गरेर मात्र प्रस्तावबारे संयुक्त धारणा बनाउने निर्णय भएको बैठकमा सहभागि भौतिक पूर्वाधारमन्त्री रमेश लेखकले बताए ।
बैठकपछि उनले भने, ‘संविधान संशोधनमा सम्पूर्ण दलको सहमति खोज्ने प्रयासलाई निरन्तरता दिने विषयमा कुरा भयो । प्रस्तावलाई अन्तिम रुप दिन गृहकार्य भइरहेको छ ।’ संशोधन प्रस्तावलाई अन्तिम रुप दिन दुवै दल आन्तरिक र द्विपक्षीय छलफलमा छन् । दुवै दल आन्तरिक छलफलमा छन् । दुई दलबीचको सहमतिसँगै शुक्रबारै संसद सचिवालयमा संशोधन विधेयक दर्ता गर्ने सरकारको तयारी भने आइतबारसम्मका लागि सरेको छ ।
मन्त्रिपरिषद् अनिश्चित
शुक्रबार बस्ने भनिएको मन्त्रिपरिषद् बैठक अनिश्चित भएको छ । दिउँसो ३ बजेपछि बस्ने भनिएको बैठक संविधान संशोधनको मस्यौदाको अन्तिम टुंगो नलाग्दा अनिश्चित भएको हो ।
बिहान सत्ताधारी दुई ठूला दलको बैठकले मस्यौदामा छलफल गरेपनि प्राविधिक कुरा कसरी मिलाउने भन्नेबारे मसिनो गरी छलफल हुन नसकेको बताइएको छ । प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिम्सिनाले भने, ‘स्प्रीड सबै मिलेको छ । प्राविधिक कुराहरु ठिक ठाउँमा राख्नेबारे अझै गृहकार्य जारी रहेकाले मन्त्रिपरिषद् बैठक अनिश्चत जस्तै भएको छ ।’ उनका अनुशार मन्त्रिपरिषद् बैठक शुक्रबार नबस्न सक्छ ।
राजनीतिक सहमति नजुटाई प्रस्ताव पेश हुन नसक्ने बताइएको छ । विपाक्षी एमालेले संविधान संशोधनमा सहयोग नगर्ने स्पष्ट पारेपछि दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्र आफ्नै ढंगले अगाडि बढ्ने अभ्यासमा लागेका हुन् ।
बैठकमा प्रधानमन्त्री दाहाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि, कृष्णबहादुर महरा, माओवादी नेता नारायणकाजी श्रेष्ठ र मन्त्री रमेश लेखक सहभागि थिए ।
यसअघि प्रधानमन्त्री दाहालले राप्रपाका पार्टी अध्यक्ष कमल थापासँग बिहान बालुवाटारमा भेटवार्ता गरेका थिए । राप्रपा अध्यक्ष थापालाई संविधान संशोधन प्रक्रियामा सहयोग गर्न प्रधानमन्त्री दाहालले आग्रह गरे । थापाले आफु संविधान संशोधन र कार्यान्वयनकै पक्षमा रहेको बताए । संसदमा ३७ सीट भएको राप्रपा सरकारमा सहभागि छ ।