- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । भारतीय ट्रेड युनियन आन्दोलनको गौरवमय इतिहास बोकेको अल इन्डिया रेल्वेमेन फेडेरेशन (एआईआरएफ) शताब्दी महाधिवेशन जारी रहेको छ । तीन दिनसम्म चल्ने उक्त महाधिवेशन बुधबार भारतको नयाँदिल्लीमा शुरु भएको हो ।
महाधिवेशनको उद्घाटन सत्र शुरु हुनुअघि नयाँदिल्लीमा १८ वटा रेल र दश हजार भन्दा बढी प्रतिनिधिको र्याली गरिएको थियो । उक्त फेडेरेशनको मुख्यालयबाट शुरु भएर करनैल सिंह रेल्वे स्टेडियमसम्म पुगेको थियो ।
उक्त सत्रमा इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन (आईटीएफ) महासचिव स्टिफनले महासंघले सयौं वार्षिकोत्सव मनाउनु सानो विषय नभएको बताए । उनले यातायात क्षेत्रको श्रमिक आन्दोलनमा एआईआरएफको विश्व स्तरमा नै छुट्टै पहिचान भएको उल्लेख गरे । एआईआरएफ इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन सदस्य संगठन हो ।
कार्यक्रममा नेपाल टे्रड युनियन कांग्रेस (एनटीयूसी) का महासचिव अजय कुमार राईले १३५ औ मजदुर दिवस (मई डे) को शुभकामना दिँदै एआईआरएफसँग एनटीयूसीको ऐतिहासिक सम्बन्ध रहेको बताए । महासचिव राईले पेन्सन स्किम लागु गराउने फेडेरेसनको मुद्दामा आफूहरुको ऐक्यबद्धता रहेकोसमेत बताए ।
सम्मेलनको उद्घाटन सत्रमा अल इन्डिया फेडेरेसनका महासचिव शिव गोपाल मिश्रा, भारतीय रेल्वेको कार्यकारी अधिकृत जया वर्मा सिंहा, आईटीएफ अध्यक्ष पैडडी क्रुरमलीन, फ्रेन्च रेल्वे युनियनका नेता डेविड गोवे, हिन्द मजदुर सभाका महासचिव हरभजन सिंह, इन्टकका वरिष्ठ उपाध्यक्ष अशोक सिंहलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
१९२५ फेब्रुअरी १६ मा स्थापित उक्त फेडेरेशनबाट मजदुर राजनीति शुरु गरेका भीभी गिरी भारतका राष्ट्रपति बन्न सफल भएका थिए । सो युनियनले सन् १९७४ भारतका पूर्वमन्त्री तथा तत्कालिन फेडेरेशनका महासचिव जर्ज फरनान्डिसको नेतृत्वमा भारतभर रेल्वे हड्ताल गरेको गौरवमय इतिहाससमेत छ । अहिले भारतीय रेल्वेमा १४ लाख जना रेलवेकर्मीहरु प्रत्यक्ष रुपमा काम गर्छन् ।