arrow

भारतमा चुनावी महासंग्राम

दोस्रो चरणमा १३ राज्यका ८८ सिटमा चुनाव 

एक हजार १९८ उम्मेदवारमध्ये पुरुष एक हजार ९७, महिला सय र तेस्रो लिंगी एक, २५० उम्मेदवारविरुद्ध अपराध मुद्दा, ३९० करोडपति, ६ जनाको सम्पत्ति शून्य 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १४ शुक्रबार
india-election-2024-modi.jpg

नयाँदिल्ली । भारतमा सन् २०२४ को १८ औँ लोकसभा निर्वाचनको दोस्रो चरणको मतदान आज भइरहेको छ । गत १९ अप्रिलदेखि शुरु भएको भारतको इतिहासमै सबैभन्दा लामो चुनाव सात चरणमा सकिँदैछ । अन्तिम मतदान आगामी जुन १ तारिखमा हुनेछ । 

दोस्रो चरणमा आज १३ राज्यका ८८ सिटमा मतदान भइरहेको छ । यसपालि लोकसभा अध्यक्ष, ५ केन्द्रीय मन्त्री, दुई पूर्व मुख्यमन्त्रीसँगै कांग्रेस नेता राहुल गान्धी तथा अभिनेत्री हेमा मालिनीसमेत मैदानमा छन् । 

स्थानीय समयअनुसार बिहान ७ बजेदेखि शुरु भएको मतदान साँझ ६ बजेसम्म सञ्चालन हुनेछ । राहुल गान्धी वायनाड, शशि थरुर तिरुअनन्तपुरम र हेमा मालिनी मथुराबाट चुनावी मैदानमा उत्रिएकी छिन् । 

दोस्रो चरणमा ८९ सिटमा मतदान हुनुपर्ने भए पनि मध्य प्रदेशको बैतुल सिटमा बसपाका प्रत्यासीको निधन भएपछि ८८ सिटमा मात्र भइरहेको हो । अब उक्त क्षेत्रमा ७ मे मा चुनाव हुनेछ । 

आउटर मणिपुरका केही भागमा आज पुनः मतदान हुनेछ । चुनाव आयोगले यी सिटमा दुई चरणमा चुनाव गर्ने घोषणा गरेको थियो । 

सन् २०१९ मा दोस्रो चरणमा सबैभन्दा बढी भारतीय जनता पार्टी भाजपाको ५० तथा एडीए सहयोगी दललाई ८ सिट मिलेको थियो । कांग्रेसले २१ सिट तथा अन्यले ९ सिट जितेका थिए । 

चुनाव आयोगका अनुसार दोस्रो चरणमा १ हजार १९८ उम्मेदवार मैदानमा छन् । जसमा पुरुष १ हजार ९७ तथा महिला सय उम्मेदवार रहेका छन् । एक जना तेस्रो लिंगी रहेका छन् । 

एसोसिएसन फर डेमोक्रेटिक रिफर्म (एडीआर) का अनुसार यो चरणमा चुनाव लडिरहेका २१ प्रतिशत अर्थात् २५० उम्मेदवारविरुद्ध अपराध मुद्दा दर्ता भएको छ । 

३९० उम्मेदवार करोडपति छन् । ६ जनाको सम्पत्ति शून्य बताइएको छ । ५०० उम्मेदवारसँग एक हजार रुपैयाँको सम्पत्ति बताइएको छ । 

दोस्रो चरणमा केरलमा २०, कर्नाटकमा १४, राजस्थानमा १३, महाराष्ट्रमा ८, उत्तरप्रदेशमा ८, मध्यप्रदेशमा ६, असममा ५, बिहारमा ५, छत्तीसगढमा ३, पश्चिम बंगालमा ३, त्रिपुरामा १, जम्मूकश्मीरमा १ र मणिपुरमा १ सिटमा चुनाव भइरहेको छ । 

पहिलो चरणमा २१ राज्यका १०२ सिटमा चुनाव, ६८ प्रतिशत मतदानः
पहिलो चरणमा १९ अप्रिलमा २१ राज्यको १०२ सिटमा मतदान भएको थियो । ६८.२९ प्रतिशत मत खसेको चुनाव आयोगले जनाएको छ । सन् २०१९ को चुनावको  तुलनामा यसपालि १ प्रतिशत कम मत खसेको छ । २०१९ मा पहिलो चरणमा ९१ सिटमा ६९.४३ प्रतिशत मत खसेको थियो । 

यसपालि सबैभन्दा बढी लक्षद्वीपमा ८३ प्रतिशत र सबैभन्दा कम बिहारमा ४९ प्रतिशत मत खसेको छ । 

यससँगै अरुणाचल प्रदेशको ६० र सिक्किमको ३२ विधानसभा सिटका लािग पनि मतदान भएको छ । दुवै राज्यका एक एक लोकसभा सिटमा सँगसँगै मतदान भएको छ । अरुणाचलमा ७६.४४ तथा सिक्किममा ७९.८६ प्रतिशत मतदान भएको छ । 

मणिपुरको दुई लोकसभा सिट (मणिपुर इनर र मणिपुर आउटर) मा पनि पहिलो चरणमै मतदान भएको छ । 

आउटर सिटका केही भागमा २६ अप्रिलमा मतदान हुनेछ । जसमा आठ केन्द्रीय मन्त्री, एक पूर्व मुख्यमन्त्री र पूर्वराज्यपाल मैदानमा रहेका छन् । 

सन् २०१९ मा यिनै १०२ लोकसभा सिटमा भाजपाले ४०, डीएमकेले २४, कांग्रेसले १५ सिट जितेको थियो भने अन्यले २३ सिट जितेका थिए । यसपटक पनि यिनै तीन दलबीच मुख्य प्रतिस्पर्धा भएको छ । 

दुई राज्य पश्चिम बंगाल र मणिपुरमा भोटिङका क्रममा हिंसा भएको छ । कयौँ घाइते भएका छन् । 

मणिपुरमा पूर्वी इम्फाल जिल्लाको मोइरंगकम्पूमा भोटिङ मेसिन नै जलाइएको छ । 

नागाल्याण्डका ६ जिल्लामा मतदान लगभग शून्य भएको छ । मोन, लान्गलेङ, तुएनसांग, नोकलाक, शामाटोर र किफिरेमा शून्य मत खसेको हो । यो क्षेत्रमा इस्टर्न नागाल्याण्ड पिपुल्स अर्गनाइजेसनले अलग प्रशासन र पहिले भन्दा बढी वित्तीय स्वतन्त्रताको माग गरेको छ । यी जिल्लामा चुनाव वहिस्कार गर्न अर्गनाइजेसनले अपील गरेको थियो । 

पहिलो चरणमा १ हजार ६२५ उम्मेदवार मैदानमा रहेका छन् । जसमा पुरुष १ हजार ४९१ तथा महिला उम्मेदवार १३४ जना रहेका छन् । 

अनुमान मोदी सरकार निरन्तर

चुनावको पूर्वसन्धामा अनुमान बढिरहेको छ । इन्डिया टुडे ग्रुपले सी–भोटरसँग मिलेर गरेको सर्वे अनुसार भाजपा सम्मिलित नरेन्द्र मोदी नेतृत्वको सरकारले लगातार तेस्रो पटक अर्थात सत्ता सञ्चालनमा ह्याट्रिक गर्ने दाबी गरिएको छ । 

मोदीले सन् २०१४ देखि अहिलेसम्म दुई पटक सरकारको नेतृत्व गरिसकेका छन् । उनको काम र शैलीसँगै उनको प्रसिद्धिका कारण पनि भाजपाले तेस्रो पटक मोदीको नेतृत्वमा सरकार बनाउने दाबी गरिएको हो । 

५४३ सिटमध्ये एनडीएले ३३५ सिट जित्ने अनुमान गरिएको छ । कांग्रेस आई सम्मिलित इन्डिया ब्लकको खातामा १६६ तथा अन्यलाई ४२ सिट जाने अनुमान गरिएको छ । 

भाजपा एक्लै लड्दासमेत ३०४ सिट जित्ने सर्वेक्षणले दाबी गरेको छ । कांग्रेसले ७१ तथा अन्य दलहरुले १६८ सिट जित्ने अनुमान गरिएको छ । 

प्रदेशअनुसार फरक फरक सिट जित्ने अनुमान गरिएको छ । यस्तो छ सर्वेको आँकडा–

उत्तर प्रदेशमा रहेको ८० मध्ये भाजपाले ७० सिट जित्न सक्नेछ । समाजवादीले ७, अपना दलले २ तथा कांग्रेसले मात्र १ सिट जित्ने दाबी गरिएको छ । 

बिहारको ४० सिटमध्ये भाजपाले ३२, आरजेडी र कम्युनिष्ट पार्टीहरुले ७ तथा कांग्रेसले १ सिट जित्न सक्नेछ । 

पश्चिम बंगालका ४२ मध्ये भाजपाले १९ तथा कांग्रेसले मुस्किलले एक सिट जित्न सक्नेछ । तृणमूलले २२ सिट जित्न सक्नेछ । 

महाराष्ट्रका ४८ मध्ये भाजपाले २२, कांग्रेसले १२ तथा शिवसेना, यूबीटी र एनसीपीले १४ सिट जित्न सक्नेछ । 

मध्यप्रदेशमा २९ सिटमध्ये भाजपाले २७ तथा कांग्रेसले २ सिट जित्ने आँकलन गरिएको छ । 

त्यस्तै सर्भे अनुसार राजस्थानको २५ सिटमा भाजपाले क्लिन स्वीप अर्थात सबै सिट जित्नेछ ।

झारखण्डको १४ सिटमध्ये भाजपाले ११ जेएमएमले २, एजेएसयूले १ सिट जित्दा कांग्रेस रित्तिने सर्वे गरिएको छ । 

पञ्जाबको १३ सिटमा कसैले पनि बहुमत नल्याउने अनुमान गरिएको छ । जसमा कांग्रेस र आम आदमी पार्टीले समान ५–५ सिट जित्दा भाजपाले २ तथा अकाली दलले १ सिट जित्ने अनुमान गरिएको छ । 

हरियाणाको १० सिटमध्ये भाजपाले ८ सिट जित्नेछ भने कांग्रेसले २ सिट जित्नेछ । आइएएनएलडीले कुनै सिट नजित्ने अनुमान गरिएको छ । 

तेलंगानाको १७ सिटमा कांग्रेसले १० सिट जित्ने अनुमान गरिएको छ । यहाँ कांग्रेसले ७ सिटमा सुधार गर्ने अनुमान भइरहेको हो । भाजपाले ३ सिट जित्दा टीआरएसले ३ सिट तथा एआईएमआईएमले १ सिट जित्ने अनुमान गरिएको छ । 

असमको १४ सिटमा भाजपाले १२ सिट, कांग्रेसले २ सिट तथा एआईयूडीएफले कुनै सिट नजित्ने अनुमान गरिएको छ । 

तमिलनाडुको ३९ सिटमा डीएमकेले ३१ तथा कांग्रेसले ८ सिट जित्दा भाजपाले खाता नै नखोल्ने अनुमान गरिएको छ । 

केरलमा पनि भाजपाले कुनै सिट नजित्ने आँकलन गरिएको छ । त्यस्तै कांग्रेसले १८ सिट जित्दा एलडीएफले २ सिट जित्ने अनुमान गरिएको छ । 

हिमाचल प्रदेशको ४ सिटमा भाजपाले क्निन स्वीप गर्ने अनुमान गरिएको छ । 

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ