arrow

लगानी सम्मेलन

पूर्वतयारी सकिएका तीनवटै चिनियाँ आयोजनाको पीडीए रोकियो, डाबर नेपालसँग पनि भएन सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १७ सोमबार
investment-summit-2024-mjh.jpg

काठमाडौँ । नेपाल लगानी बोर्डले आयोजना विकास सम्झौता (पीडीए) गर्न तयारी अवस्थामा राखेका तीनवटा र आयोजना लगानी सम्झौता (पीआईए) गर्न योग्य सूचीमा राखेका चार वटै परियोजनाको सम्झौता रोकिएको छ । 

तेस्रो लगानी सम्मेलन अन्तर्गत प्राइभेट पब्लिक पार्टनरसिप (पीपीपी) अन्तर्गत हुन लागेका तीन वटा र निजी क्षेत्रबाट प्रस्तावित आयोजनासमेत अन्तिम समयमा रोकिएको हो । 

लगानी बोर्डले यसअघि झापामा प्रस्तावित गरिएको चीन नेपाल मैत्री ‍औद्योगिक पार्क, बाँकेको कोहलपुरको सोलार प्यानल, अप्पर मर्स्याङदी–२ जलविद्युत् आयोजनाको पीडीए गर्ने तयारी गरेको थियो । 

यी सबै परियोजनाको पीडीए नहुने निश्चित भएको लगानी बोर्डले जनाएको छ । बोर्डका प्रवक्ता प्रध्युम्न उपाध्यायले लगानी सम्मेलनको क्रममा उक्त सम्झौतामा हस्ताक्षर नहुने बताए ।  

चीनले बीआरआई परियोजना अन्तर्गत राख्न चाहेको चीन नेपाल मैत्री औद्योगिक पार्क निर्माणका लागि लगानी बोर्डले २०७७ सालमै ६५ अर्ब रुपैयाँ स्वीकृत गरेको थियो । पूर्व तयारीकै लागि ४ वर्ष समय खर्चिएर सबै प्रक्रिया पूरा गरेर लगानीको चरणमा रहेको अवस्थामा तयारी नपुगेको भन्दै सम्झौता रोकिएको छ । 

त्यस्तै बाँकेको कोहलपुर र  बाङगंगामा सोलार प्यानल २५० मेगावाटको सोलारको आयोजना हङकङको कम्पनीसँग हुने भनिएको सम्झौताको कार्यक्रम पनि रद्द भएको छ । यो आयोजनामा ४० मेगावाट स्टोरेज क्षमताको ब्याट्रीसहितको परियोजना बन्ने तय भएको थियो । 

३२७ मेगावाटको अप्पर मर्स्याङदी–२ जलविद्युत् आयोजना बुटवल पावर कम्पनीसँग मिलेर तीन चिनियाँ कम्पनीले निर्माण गर्न लागेका थिए। मनाङ जिल्लामा अर्ध जलाशयुक्त यस आयोजनामा सिचुवान प्रोभिन्सियल इन्भेष्टमेन्ट ग्रुप, छेन्दु सिनचेङ इन्भेष्टमेन्ट ग्रुप र कुइङ युआन इन्जिनियरिङ कन्सल्टेन्सीको ८० प्रतिशत र नेपालको बुटबल पावर कम्पनीको २० प्रतिशत शेयर रहने बताइएको भए पनि यसमा पनि अन्तिम सम्झौता हुन सकेन । 

त्यस्तै, नेपालमा लगानी थप्नेगरी डाबर नेपालले गर्ने आयोजना लगानी सम्झौता पनि रोकिएको छ । डाबर नेपालले आफ्नो लगानी विस्तार अन्तर्गत ९ अर्ब ६८ करोड रुपैयाँ बराबरको थप लगानी गर्ने तयारी गरेको थियो । डाबर नेपाल भारतीय लगानीको कम्पनी हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ