काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक बसिरहेको छ । विहानैदेखि पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा संविधान संशोधन र पार्टीको सांगठनिक विषयमा छलफल भएको पार्टीका प्रमुख सचेतक समेत रहेका नेता गिरिराजमणि पोखरेलले जानकारी दिए ।
अहिले पार्टीको पोलिट्ब्यूरो बैठक भने सम्पन्न भएको छ । बैठकमा अध्यक्ष प्रचण्डले संविधान संशोधनको विषयमा अहिले पनि घनिभूत रुपमा छलफल भएको भन्दै अझ सकेसम्म सबैलाई समेटेर अघि बढ्ने बताएका थिए । उनले बैठकमा ७ प्रदेशमा मधेशी मोर्चा नमानेको खण्डमा १० प्रदेशसम्म जान सकिने कुरा पनि राखेका थिए ।
यसरी हदैसम्मको लचकता अपनाउँदा पनि भएन भने चुनावको घोषणा गरेर अघि बढ्ने योजना पनि प्रचण्डले बैठकमा सुनाएको माओबादी निकट स्रोतले जानकारी दिएको छ ।
बैठकमा २४ सय ९९ जना केन्द्रीय सदस्य बनाउने भनिएकोमा २४ सय २१ जना पुगिसकेकोमा बाँकी सदस्य थप गर्नको लागि हेर्डक्वाटरले वर्कआउट गरेर अब बस्ने पोलिटब्यूरो बैठकमा पेश गर्नेगरी ३ बजेसम्मको लागि पोलिटब्यूरो स्थगित गरिएको हो । संविधानसंशोधनको विषयमा पनि सोही बैठकबाट आवश्यक निर्णय गराईने माओबादी केन्द्रले जनाएको छ ।