काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयन गराउने प्रमुख दायित्व वर्तमान सरकार र आफ्नो पार्टीको भएको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबारबाट सुरु भएको पार्टीको पोलिटब्युरोको बैठकमा समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयन गर्ने प्रमुख अभिभाराका साथ वर्तमान सरकार गठन भएको र संविधानको जन्मदातासमेत आफ्नो पार्टी भएकाले सबैको साथ र सहयोग जरुरी रहेको बताए ।
संविधान कार्यान्वयन हुने नदिने विभिन्नखालका षड्यन्त्रहरु अँध्यारो कोठामा बनिरहेको उल्लेख गर्दै उनले सबै प्रकारका तानाबाना असफल पारेर मुलुक अगाडि बढ्ने स्पष्ट पारे ।
असन्तुस्ट पक्षको माग सम्बोधन गरेर संविधानको सर्वस्वीकार्यता बढाउँदै आन्तरिक राष्ट्रियताको सम्वद्र्धन गर्न खोज्दा त्यसलाई गलत तवरले उचालिएको भन्दै त्यसको प्रतिवाद गर्न पार्टी एकीकृत रुपमा प्रस्तुत हुनुपर्ने बताए ।
संविधान, गणतन्त्र, सङ्घीयता, समावेशी, समानुपातिकजस्ता परिवर्तन माओवादी आन्दोलनको उपज भएकाले त्यसलाई संरक्षण गर्नु र स्थापित गर्न कुनै पनि कन्जुस्यार्इं नगरिने भन्दै प्रधानमन्त्रीले भने–‘‘परिवर्तनको एजेन्डा संस्थागत गर्न पनि संविधान कार्यान्वयन जरुरी छ, त्यसका लागि निर्वाचन आवश्यक छ ।”
संविधान संशोधन प्रक्रियामा सहमति जुटाउन आइतबारसमेत छलफल गरिने जानकारी गराउँदै प्रधानमन्त्रीले सकेसम्म सबै पक्षको सहमति जुटाउन प्रयास गरिने बताए ।
वर्तमान सरकार गठन भएपछि देश र जनताको पक्षमा सकारात्मक कामको सुरुवात भएको तर त्यसको सकारात्मक प्रचार हुन नसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले गरिबका लागि सरकार, विद्युत्भार कटौतीको अन्त्यलगायतका प्रगतिका बारेमा पार्टी पङ्क्तिले जनतालाई जानकारी गराउनुपर्नेमा जोड दिए।
विरोधीले गरेका गलत प्रचारलाई खण्डन गर्दै सरकार र पार्टी संयुक्त रुपमा जनतामा जानुपर्ने र प्रचार अभियानलाई अगाडि बढाउनुपर्ने स्पष्ट पार्दै उनले पार्टीका पदाधिकारीसहित सबै नेता कार्यकर्ता जनतामा जानुपर्ने बताए ।
निर्वाचनलाई केन्द्रित गरेर पार्टीले तीन महिने अभियान सुरु गर्न लागेको जानकारी गराउँदै उनले जनतालाई एकताबद्ध बनाएर पार्टीको पक्षमा उपलब्धि पार्न एकपटक मेहनत गर्नुपर्ने स्पष्ट पारे ।
पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयन, वर्तमान राजनीतिक अवस्था, स्थानीय निकायको निर्वाचन, सरकार र आगामी कार्ययोजना समेटिएको राजनीतिक प्रस्ताव दर्ता गराउनुभएको प्रवक्ता पम्फा भुसालले जानकारी दिर्इन् । बैठक पुनः सोमबार बस्नेछ । रासस