arrow

दमौली अस्पताल : डायलासिस गराउन पालो कुर्नु पर्दैन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २६ बुधबार
Damauli Hospital.jpg
तस्बिर-फाइल

तनहुँ । तनहुँमा मिर्गौला रोगका बिरामीले ब्यहोर्नुपर्ने सास्ती हटेको छ । बिरामी बढेसँगै डायलासिस गर्ने उपकरण थपिएपछि जिल्ला अस्पतालमा उपचार सहज भएको छ ।

दमौली अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा परिवर्तन बरालले विगतमा बिग्रिएका उपकरणको स्थानमा नयाँ उपकरण जडान गरिएपछि अस्पतालमा बिरामीलाई डायलासिस सेवा सहज बन्दै गएको जानकारी दिए । 

उनका अनुसार अस्पतालमा ‘डायलासिस मेसिन’ उपलब्ध भएपछि हाल सेवा प्रवाह सहज भएको छ । डा बरालले भने, “डायलासिसकै लागि पालो कुर्नु अवस्थाको अन्त्य भएको छ, दमौली अस्पतालले तीनवटा नयाँ उपकरण पाएपछि प्रतीक्षा सूचीमा रहेका सबै सेवाग्राहीले समयमा नै सेवा पाएका पाउनुभएको छ ।”

जिल्लास्थित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यले समन्वयमा नयाँ मेसिनको व्यवस्था भएपछि प्रतीक्षा सूचीमा रहेका २१ डायलासिसका बिरामीले पालो कुर्नुपर्ने अवस्था हटेको उनले बताए । डा बरालले भने, “अस्पतालमा मेसिन अभाव र धेरै बिरामी भएकाले उहाँहरुले समयमै डायलासिस गर्न पालो पर्खनुपर्ने सास्ती अहिले समाधान भयो, पालो कुर्नु नपर्दा बिरामीलाई डायलासिस उपचार सेवा लिन सहज भएको छ, सातवटा मेसिनबाट सेवा प्रवाह भइरहेको छ ।” अहिले सबैले समयमा नै उपचार पाएको उनले बताए । 

कूल आठ  मेसिनमध्ये सात वटाबाट सेवा प्रवाह भइरहेको छ भने एउटा भैपरी आउने अवस्थामा प्रयोग गर्न राखिएको छ । उनले भने, “एउटा मेसिन मात्रै बिग्रिएको खण्डमा स्टकमा राखिएको मेसिनको उपयोगबाट सेवा प्रवाह गर्न सक्नेछौँ ।”

अस्पतालको डायलासिस युनिटका प्रमुख शैलेन्द्र मिश्रले डायलासिस सेवा लिनेमा ५५ बिरामीले सेवा लिइरहेका जानकारी दिए । उनका अनुसार हप्ताको दुई पटक ४९, तीन पटक पाँच जना र एक पटक एक जना गरी ५५ बिरामीले डायलासिस सेवा लिइरहेका छन् । 

हाल डायलासिस युनिट कक्षमा सात डायलासिस मेसिनबाट दैनिक बिहान, दिउँसो र साँझ गरी तीन पटक प्रत्येक बिरामीलाई आलोपालो डायलासिस सेवा दिने गरिएको छ । यहाँबाट तनहुँसहित लमजुङ, गोरखा र कास्कीका बिरामी सेवा लिइरहेका उनले बताए ।

डायलासिसको युनिट स्थापना गर्ने तथा क्षमता थप गर्ने गरिएकोले बिरामी चाप कम हुँदा पालो कुर्नु नपरेको मिश्रले जानकारी दिए । 

मिश्रले भने, “एक सय ५० जनासम्म प्रतीक्षा सूचीमा हुनुहुन्थ्यो, हाल छिमेकी जिल्लामा युनिट सञ्चालन गरिएपछि बिरामीको चाप पनि घटेको छ ।” विसं २०७२ मङ्सिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलो पटक डायलासिस केन्द्र स्थापना भएको थियो । 

हेल्थ केयर फाउन्डेसन अफ नेपालले दमौली अस्पतालमा डायलासिस केन्द्र स्थापना गरेको हो । केन्द्रमा सुरुमा रु एक करोड २० लाखको लागतमा छवटा डायलासिस उपकरण जडान गरिएको थियो पछि तीनवटा उपकरण थप गरिएको हो ।

केन्द्रका लागि मञ्जु उपाध्यायले आफ्ना पति शत्रुघ्न उपाध्यायको स्मृतिमा रु एक करोड सहयोग गरेका थिए । उनले पछि उपकरण थप गर्नका लागि रु २५ लाख सहयोग गरेका थिए । 

जिल्लामा डायलासिसका लागि सेवा नहुँदा मिर्गौला पीडितलाई यस अगाडि अन्यत्रै गएर उपचार तथा डायलासिस सेवा लिनुपर्ने बाध्यता थियो ।

हाल जिल्लाको आँबुखैरेनी गाउँपालिकाले सञ्चालनमा ल्याएको आँबुखैरेनी अस्पतालमा पनि डायलासिसको सेवा प्रवाह भइरहेकाले पनि यहाँ बिरामीको चाप कम हुन थालेको छ । 

त्यस्तै छिट्टै नै जीपी कोइराला श्वासप्रश्वास राष्ट्रिय उपचार केन्द्रमा पनि डायलासिस सेवा दिने तयारी भइरहेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ