arrow

‘संशोधनभन्दा पनि सङ्क्रमणकाल टुङ्ग्याइनु पर्छ’

logo
प्रकाशित २०७३ मंसिर १२ आइतबार
olis-ba.jpeg
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनभन्दा देशको सङ्क्रमणकालीन अवस्था टुङ्ग्याउनुपर्ने बताएका छन् । 
 
युवा सङ्घ नेपालको प्रचार तथा प्रकाशन विभागद्वारा प्रकाशित ‘युवा आवाजः आधार र कार्यभार’ पुस्तकको आइतबार लोकार्पण गर्दै ओलीले संविधान गतिशील दस्तावेज भएको हुनाले संशोधन हुनसक्ने भए पनि संशोधनभन्दा पनि देशको सङ्क्रमणकाल टुङ्ग्याउनुपर्नेमा जोड दिए । 
 
“सरकारको काम संशोधन गर्ने होइन”–उनले भने, “ऐन कानुन बनाएर तीन तहको निर्वाचन गराएर सङ्क्रमणकाल टुङ्ग्याउने काम हो । संशोधन गरेर अन्य काम अल्मल्याउने प्रयास गरिँदैछ ।” उनले सरकारलाई नै संशोधन किन गर्न लागेको भन्ने कुरा थाहा नभएको पनि उल्लेख गरे । 
 
जनताको हक अधिकारका सवालमा एमाले संविधान संशोधन गर्न तयार रहेको बताउँदै पूर्वप्रधानमन्त्री ओलीले संविधान संशोधनका नाममा देशलाई भौगोलिक अखण्डता र सार्वभौमसत्तामा आँच आउने कुरा गरिएको आरोप लगाउनुभयो । 
 
अध्यक्ष ओलीले संशोधन गरेर नै मुलुकको समस्या नटुङ्गिने बताउँदै क्षणिक समयका लागि मात्र समस्या टुङ्गिने बताए । “हामीले पनि गतवर्ष समस्या टुङ्गिन्छ भनेर दुईवटा बुँदामा संशोधन गरेका थियौँ”–उनले भने, “तर अहिले फेरि बल्झियो । संशोधनले तत्कालको मात्र समस्या समाधान हुने गर्दछ । फेरि पछि समस्या आउँछ ।” 
 
अध्यक्ष ओलीले सरकारले आफ्ना कार्यकर्तालाई रकम बाँड्नका लागि पूरक बजेट ल्याउन लागेको आरोप लगाए । उनले स्थानीय तहको पुनःसंरचनामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले नै बाधक बनेको आरोप लगाए । 
 
एमाले सचिव प्रदीप ज्ञवालीले सरकार संविधान कार्यान्वयनभन्दा संशोधनको प्रस्ताव ल्याएर हिमाल, पहाड, तराईमा मुठभेड ल्याउन लागेको बताए । 
 
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य महेन्द्र पाण्डे, युवा नेता महेश बस्नेत, युवा सङ्घका अध्यक्ष राजीव पहाडीले संविधान संशोधन देश र जनताविरुद्ध भएको भन्दै संशोधनभन्दा कार्यान्वयनमा जोड दिनुपर्ने बताए  । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ