arrow

आर्थिक क्षेत्रमा महिला सहभागिता र सशक्तीकरण आवश्यक छ : उपराष्ट्रपति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३१ सोमबार
Ram Sahaya pd yadhav.jpg
तस्बिर-फाइल

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मुलुकको आर्थिक उत्पादकत्व बढाउन, लैङ्गिक असमानतालाई सम्बोधन गर्न र दिगो विकासका लक्ष्य हासिल गर्नका लागि आर्थिक क्षेत्रमा महिला सहभागिता र सशक्तीकरण महत्वपूर्ण आवश्यकता भएको बताएका छन् । 

नेपालसहित दक्षिण एसियाली मुलुकका अगुवा महिलाको सहभागितामा ललितपुरमा सुरु भएको ‘साउथ एसियन वुमन्स कन्फेरेन्स अन इकोनमिक इम्पावरमेन्ट (२०२४)’ सम्मेलनको उद्घाटन उनले डिजिटल रूपान्तरणमार्फत महिला सशक्तीकरण आजको आवश्यकता भएको बताए । 

उपराष्ट्रपति यादवले केही सामाजिक मान्यताहरू लैङ्गिक समानताका लागि बाधक भएको उल्लेख गर्दै दक्षिण एसियामा आर्थिक वृद्धि, बढ्दो शिक्षा, र घट्दो प्रजनन क्षमताको बाबजुद अधिकांश विकासोन्मुख मुलुकको तुलनामा महिला आर्थिक अवसरबाट वञ्चित हुनु चिन्ताको विषय भएको बताए । 

“आर्थिक सशक्तीकरणमा महिलाको आर्थिक अधिकार, न्यायको प्रवर्द्धन र कार्यस्थलमा लैङ्गिक अन्तर रोक्नुपर्नेजस्ता विषय समावेश छन्,” उनले भने, “त्यसअनुरुप कार्य हुन आवश्यक छ। अझ नीतिनिर्माण र आर्थिक विकासमा महिलाको भूमिकालाई थप एकीकृत गर्दै अघि बढ्न सक्नुपर्दछ ।”  

उपराष्ट्रपति यादवले राजनीतिमा नेपालले महिला सशक्तीकरणको क्षेत्रमा केही फड्को मारे पनि लैङ्गिक समानता, महिला उद्यमशीलता र वित्तीय स्रोतमा पहुँचजस्ता महत्वपूर्ण क्षेत्रमा अझै काम गर्न बाँकी रहेको बताए । 

“व्यापार, उत्पादन, पर्यटन व्यवस्थापन, कृषि र अन्य विभिन्न क्षेत्रमा महिला सहभागिता आवश्यक छ,” उनले भने, “महिलाको आर्थिक सशक्तीकरणमा बाधा पुर्याउने चुनौतीलाई पहिचान गरी सामूहिक रूपमा सम्बोधनका लागि यो सम्मेलन कोसेढुङ्गा बन्ने विश्वास लिएको छु ।” 

उनले महिलालाई विकासको मूलधारमा ल्याउनु आजको संसारमा प्रगति र सान्दर्भिकताका लागि आवश्यक मात्र नभई अत्यन्तै महत्वपूर्ण भएको बताए । 

“यो सम्मेलनले दक्षिण एसियाली महिला उद्यमी र आर्थिक क्षेत्रमा क्रियाशील महिलाबीच नेटवर्किङका लागि एउटा राम्रो अवसर प्राप्त हुने विश्वास पनि लिएको छु,” उनले भने, “नेपाली महिला उद्यमी र सहभागीका लागि नेटवर्किङका अलावा अन्य दक्षिण एसियाली देशहरूबीच संयुक्त व्यापार व्यवसायलाई प्रवर्द्धन गर्न सम्मेलनले उत्प्रेरित गर्न सकोस् भन्ने शुभकामना छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ