arrow

सनफ्लावरको तेलमा भट्टमास मिसावटको आशंका, सरकारले अनुगमन गर्ने

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ मंसिर १३ सोमबार
soybean_Sunflower.jpeg
काठमाडौं । केहीदिन अघि धरानमा विभिन्न खाद्य सामग्रीको होलसेल विक्रेताको रुपमा काम गरिरहेका एक जना व्यापारीले चिन्तित हुँदै भने ‘तेल कम्पनीले पनि यति साह्रो उपभोक्ता माथि खेलवाड गर्छ कि पैसा लिएर दिएको समान बेच्दा यस्तो गुणस्तरहीन सामान सोझा ग्राहकहरुलाई बेचेको भनेर आफैंलाई कहिलेकाहीँ त उदेक लागेर आउँछ ।’  
 
ती व्यापारीको कुरा सुनेसँगै उपभोक्तासँग सीधा सम्बन्धित तथा दैनिक जीवनमा अति आवश्यक तेल उत्पादन गर्ने व्यापारीको नियत बुझ्ने कोशिस गरियो । यस विषयमा अध्ययन गर्दै जाँदा यस्तो पनि देखियो कि जुन तेलहन बालीको आयात र उत्पादनको हिस्सा नेपालमा एकदमै थोरै रहेको छ । त्यसैको नामबाट बजारमा छ्याप्छ्याप्ती तेल विक्री भईरहेको छ । व्यवसायीको यस्तो लूटमा न त सरकारी अनुगमन गर्ने निकायको आँखा पुगेको छ न त यसबारे उपभोक्ताहरु नै सचेत छन् । 
 
बजारमा हामीले तेलका यस्ता ब्राण्डहरु पनि सहजै पाउँछौं कि जुन प्याकेटमा लेखिएको अधिकतम दुख्रा मुल्य भन्दा एकदमै कम मुल्यमा विक्री भईरहेको हुन्छ । बनस्पति घ्यू तथा तेल उत्पादक संघमा द्वितीय उपाध्यक्ष रतनलाल केडिया अधिकतम मुल्य भन्दा बढीमा बेचेको भएपो समस्या हुन्छ त कममा बेचेर कसलाई के समस्या भयो भन्छन् । 
 
तर उनको यो भनाईसँगै थोरै पैसामा बेच्नुको पछाडि गुणस्तरको विषय पनि त उठ्ने गरेको छ नि भनेपछि भने उनले यस विषयमा थप तर्क गर्ने कोशिस नै गरेनन् र आफ्नो उद्योग १ वर्षदेखि बन्द रहेको भन्दै अहिलेको तेल विक्री वितरणको अवस्थाबारे आफू जानकार नरहेको भन्दै पन्छिने कोशिस गरे । 
 
नेपालमा उत्पादन हुने तेल र नेपालमा अन्य मुलुकबाट आयात गरिने तेलको तथ्याङकलाई मात्रै आधार मान्ने हो भने उपभोक्ताहरुमा दुई तिहाई भन्दा बढी सोयाविन मिसाएर सनफ्लावरको तेल बजारमा पठाउने गरिएको छ । हाम्राकुराले तयार पारेको रिपोर्ट केही समय अगाडि सार्वजनिक गरेको विभिन्न सरकारी निकायबाट संकलित आयात, उत्पादन र निर्यातको तथ्याङ्कको विश्लेषणले स्पष्ट देखाईदिएको छ कि नेपालमा सनफ्लावरको तुलनामा ५ गुणा बढी सोयाविनको तेल उत्पादन हुने गरेको छ । 
 
तर, उत्पादकहरु र व्यापारीहरु भने बजारमा सनफ्लावरको तेल बढी मात्रामा विक्री भईसरहेको बताउँछन् । यो बीचमा यतिका ५ गुणा बढी खपत हुने सोयाविन कहाँ हराईरहेको छ र थोरै आयात हुने सनफ्लावरले बजारको यति धेरै माग कसरी पूरा गरिरहेको छ ? भन्ने गम्भीर प्रश्न उब्जाईदिएको छ । 
 
यही प्रश्न हामीले संघका द्वितीय उपाध्यक्ष केडियालाई पनि हामीले गरेका थियौं । उनले पछिल्लो समय सनफ्लावरको आयात पनि बढी भएको बताएका छन् । तर, उनको त्यो भनाईलाई तथ्याङ्कले मिथ्या सावित गराईदिएको छ । 
 
केडियाले अन्तराष्ट्रिय बजारमा मूल्य तलमाथि हुने र डलरको भाउ पनि तलमाथि हुनेगरेकोले मूल्यमा केही तलमाथिहुनेगरेको भएपनि गुणस्तरमा भने त्यस्तो समस्या नरहेको भन्दै आरोपको बचाउ गरे । उनले बजारमा भने सबैभन्दा बढी सनफ्लावरकै तेल विक्री हुने गरेको प्रतिक्रिया दिए । उनले विगतका केही वर्षदेखि नै सनफ्लावरको तेल बढी विक्री हुनेगरेको बताएका थिए । त्यसपछि तोरीको तेल विक्री हुने गरेको उनले बताए । 
 
तत्कालै उत्पादन र आयातको सही तथ्याङ्क बताईदिएपछि उनले आफ्नो कम्पनी एक वर्षदेखि बन्द रहेकोले आफूलाई यस विषयमा पूरा जानकारी थाहा नभएको भन्दै पन्छिने कोशिष गरे । जबकि उनले आफूलाई थाहा नभएको भनिएको तथ्याङ्क उनको कम्पनी बन्द हुनु भन्दा पहिलेको हो । यसविषयमा संघका अध्इक्षसँग कुरा गर्न भने पटकपटक प्रयास गरेपनि सम्पर्क हुन सकेन । 
 
कृषि विकास मन्त्रालयको तथ्याङ्कको आधारमा हाम्राकुरा डटकमले तयार पारेको एक रिपोर्टका अनुसार तोरी १ लाख ७६ हजार दुई सय ६९ हेक्टरमा १ लाख ५४ हजार १ सय ५ मेट्रिकटन उत्पादन हुने गरेको छ । यो तथ्याङ्क आर्थिक वर्ष २०७१-७२को हो । 
 
त्यसपछि, सबैभन्दा बढी भट्टमास उत्पादन हुने गरेको छ । तर, नेपालमा सबैभन्दा बढी मात्रामा आयात हुने तेलहनबालीमा भने भट्टमासको स्थान अग्रपंक्तिमा रहेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्क अनुसार नेपालबाट कूल ३१५ केजी भट्टमासको दाना चीन निर्यात हुँदा नेपालमा कच्चा भट्टमास र दाना गरेर ५४ हजार ५ सय ४ मेट्रिक टन आयात भएको तथ्याङ्कले देखाएको छ । जवकी नेपालमा कूल २८ हजार १ सय १९ मेट्रिकटन मात्रै भट्टमास उत्पादन हुने गरेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । 
 
त्यस्तै, नेपालमा सबैभन्दा बढी उत्पादन हुने कृषि उपजको तेस्रो स्थानमा रहेको छ सनफ्लावर । यसको उत्पादन ६ हजार सात सय ५२ हेक्टरमा कूल १२ हजार ९ सय २४ मेट्रिक टन हुने गरेको छ । त्यस्तै आर्थिक वर्ष २०७१÷७२ मा नै विदेशबाट आयात भएको सनफ्लावरको परिमाण २ हजार नौ सय २ मेट्रिकटन रहेको छ । 
 
यसरी उत्पादन र आयात जोड्दा नेपालमा कूल १५ हजार ८ सय २६ मेट्रिक टन सनफ्लावरको खपत हुने गरेको छ । सो वर्ष सनफ्लावर नेपालबाट निकासी भएको देखिँदैन । जसकाकारण मुलुकभर खपत हुने सनफ्लावरको परिमाणलाई हामीले आयात र उत्पादनको योगबाट निकाल्न सक्दछौं । 
 
उता, भट्टमासको कूल खपत भने मुलुक भरमा ८७ हजार ८ सय २३ मेट्रिक टन रहेको तथ्याङ्कले देखाएको छ । भन्सार विभाग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र कृषि विकास मन्त्रालयको तथ्याङ्कलाई एक आपसमा संयोजन गर्दा आयात र उत्पादनको जोडमा निर्यातको परिमाण समेत घटाउँदा उक्त तथ्याङ्क आएको हो । 
 
तर, बजारमा भने भट्टमासको भन्दा सनफ्लावरको तेल बढी खपत हुने गरेको खुद्रा व्यापारीहरु बताउँछन् । यसरी बजारमा खपत हुने कच्चापदार्थको हिस्सा हेर्दा सनफ्लावरको भन्दा सोयाविन ५ गुणाले बढी हुनु र बजारमा भने सनफ्लावरको बढी खपत हुन्छ भनेर व्यवसायीहरू बताउनु आफैंमा बेमेल सिर्जना गराउने विषय बनेका छन् ।
 
के भन्छन् होलसेल विक्रेता ?
काठमाडौंको एक मिनिमार्टका व्यापारीलाई तेलको विषयमा कुरा गर्दा उनले तेलको विक्री र यसको गुणस्तरीयताको आधारमा झनै डरलाग्दो तथ्य सार्वजनिक गराए । नाम नबताउने शर्तमा ती विगमार्टका सञ्चालकले भने केहीदिन अघि खाने तेल ल्याउने कम्पनीमध्ये एउटाले १ सय ६० रुपैयाँ अधिकतम खुद्रा मुल्य लेखेको तेल १ सय २० मा खरीदकर्तालाई दिन  भनेर कम्पनीले नै सोही दरमा विगमार्टलाई विक्री गर्‍यो । 
 
उनले पनि १ सय ६० रूपैयाँ प्रतिलिटर लेखेको तेललाई ३० रूपैयाँ घटेर १ सय ३० रूपैयाँमा नै विक्री गरे । तर, उनको धेरै फाईदा खाने सोचाई तिनै तेल किन्ने ग्राहकको हप्काईसँगै त्रासमा बदलियो र एकाएक आक्रोशमा पनि । उनले तेल कम्पनीको सम्बन्धित व्यक्तिलाई तत्कालै फोन हानिहाले । उनले ‘त्यसो नहुनुपर्ने हो’ भन्दै कुरा अन्तै मोडेर फोन राखिदिए । 
 
त्यस दिनदेखि त्यो ब्राण्डको तेल न त ती सुपरमार्केट सञ्चालकले मगाए न गत कम्पनी त्यो मिनि मार्टमा मार्केटिङ गर्दै आएका नै छन् । उनी भन्छन् ‘१ सय २० रूपैयाँको हाराहारीमा पाईने तेलमा त अधिकांश मिसावट हुने गरेको हुन्छ । थप अध्ययन पछि कुन तेलमा कस्तो समस्या भन्ने विषयमा पनि हामी आउँदो प्रस्तुतीमा विस्तृत विवरण दिनेछौं । 
 
उता, तेल उद्योगमध्ये दुई-तीन वटा उद्योग बाहेक अन्यले गुणस्तरको प्रमाणपत्र विक्रेताहरुलाई दिने गरेका छैनन् । ठूलाठूला मिनि मार्टहरुले तेलको गुणस्तर प्रमाणपत्र माग गरेपछि केही तेल कम्पनीहरुले विक्रीका लागि समेत तेल पठाउन छाडेपछि भने ती कम्पनीहरुको उत्पादनमाथि नै प्रश्न चिह्न उठेको छ । 
 
के भन्छ सरकारी निकाय ? 
तेलको गुणस्तरको विषयमा अनुगमन गर्नै सरकारी निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग भने यस्तो मिसावटको विषयमा जानकार छैन । अहिलेसम्म अनुगमन नै नगरेको विभाग भने तेलको मिसावटको विषयमा सम्वेदनशील बन्न नसकेको देखिएको छ । 
 
विभागका सहायक प्रवक्ता मदन कुमार चापागाईँले खाने तेलको अन्य पक्षको विषयमा जाँच गरिने गरेको भएपनि मिसावटको विषयमा भने आफूहरुले अहिलेसम्म अनुगमन नगरेको जानकारी दिए । यो उपभोक्तासँग सीधा सम्पर्क रहेकोले यसमा मिसावट रहेको छ कि छैन भन्ने विषयमा अब महानिर्देशकसँग कुराकानी गरेर चाँडै नै अनुगमनको काम गरिने जानकारी दिए । 
 
उनले १० प्रतिशत भन्दा कम मिसावट भएको खण्डमा गुणस्तर जाँचगर्दा मिसावट नदेखाउने भन्दै सो भन्दा बढी देखिएमा कारबाही गरिने जानकारी पनि दिए । उनले यस विषयमा विभागले छिट्टै आवश्यक कदम चाल्ने जानकारी पनि दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ