arrow

गिरीबन्धु टि–स्टेटले तात्दै मुलुक 

नीतिगत भ्रष्टाचारको दाग हटाउन गिरीबन्धु विवादमा कांग्रेसलाई मुछ्दै केपी ओली [भिडियो]

कांग्रेस सरकारले ७० बिगाहा गिरीबन्धु टि-स्टेटको जग्गा कमिसन खाएर बेच्यो, धेरै मान्छेका जन्म कुण्डली हामीलाई थाहा छ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २ बुधबार
kp-oli-02-02.jpg

काठमाडौँ । मन्त्रिपरिषद्को निर्णयमार्फत् नीतिगत भ्रष्टाचार गरेका कपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टि-स्टेटमा कांग्रेसलाई मुछेका छन् । ओलीले कांग्रेसले गिरीबन्धु टि-स्टेटको जमिन कमिसनमा बेच्न दिएको आरोप लगाएका छन् ।

सरकारमा रहँदा ओलीले टि-स्टेटको जग्गामा नीतिगत भ्रष्टाचार गरेको आरोप कांग्रेसले लगाइरहेका बेला उनले सो आरोप लगाएका हुन् । बुधवार पार्टी संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले कांग्रेस नेतृत्वको तत्कालीन सरकारले १९ बिगाहा र ५१ बिगाहा टी स्टेटको जमिन कमिसन खाएर बेच्न लगाएको आरोप लगाउँदै छानबिन गर्नुपर्ने माग समेत गरे ।

गत शुक्रबार सर्वोच्च अदालतले भूमि ऐनको आठौँ संशोधन तथा गिरीबन्धु टि स्टेटको हदबन्दी भन्दा बढीको जग्गा सट्टापट्टा गर्न दिने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय विरुद्ध परेको रिटको फैसलाको पूर्णपाठ प्रकाशित गरेको छ । सर्वोच्च अदालतले गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न स्वीकृती दिने तत्कालीन ओली सरकारको निर्णय बदर गरेको छ ।

अदालतको फेसालापछि बुधवार पार्टी संसदीय दलको बैठकमा ओलीले कांग्रेसले गरेका बद्मासीबारे एमाले चुप लागेर बस्ने पक्षमा नरहेको पनि बताए । ओलीले तत्काल संसद बैठक सुचारु गराउन पनि कांग्रेसलाई दबाब दिए । कांग्रेसले गरिमामय संसद र देशको बहुमूल्य समय खेर फाल्ने गरी संसद अवरुद्ध गर्न नहुने ओलीको जिकिर थियो ।

उनले भने, ‘म भन्न चाहन्छु–५१ बिगाहा र १९ बिगाहा गरेर ७० बिगाहा जमिन त्यही गिरीबन्धु टि स्टेटको कमिसन खाएको बेच्न दिएको कुरा । यसमा छानबिन हुनुपर्छ । अब हामी नेपाली कांग्रेसले बकवास बोलिरहने र हामी चुप लागेर सुनिरहने होइन । नेपाली कांग्रेसका गरेका बद्मासीहरुको बारेमा हामी कुरा उठाउँछांै । हामीले सुनिरहनुपर्ने, कांग्रेस कराइरहनुपर्ने हुन्छ ? पार्लियामेन्ट भनेको त्यही हो ? हामी सुनिरहने, कांग्रेस कराइरहने ? यो चल्दैन । अब कांग्रेसका बकवास सुनिरहन हामी तयार छैनौँ । चाहिने कुरा गरे हुन्छ नि त । एउटा प्रसङ्गमा कुरा चल्या छ । त्यो प्रसङ्गमा कुरा गरे हुन्छ । यतै टोक्या छ, उतै टोक्या छ, यता भुकेको छ, उता भुकेको छ । के तरिका हो यो ? र दुनियाँलाई थाहा छ । म धेरै भन्न चाहन्न । नेपाली कांग्रेसले गरिमामय संसद्को यति बहुमूल्य समय, सांसदहरूको बहुमूल्य समय, यो देशको बहुमूल्य समय यस प्रकारले कुण्ठाग्रस्त भएर खेर फाल्न हुँदैन । संसद सुचारु गराउनु पर्छ । हामी सुचारु गर्ने पक्षमा छौं । कहीँ कतै अभियोजन छ भने अभियोजन चलाउने ठाउँबाट चल्ला । अनि कांग्रेसले नै अभियोजन चलाई हाल्ने ? कांग्रेसले नै फैसला पनि ठोकी हाल्ने ? प्रमाणित भ्रष्टाचारी ल्याएर, कांग्रेसका धेरै मान्छेका जन्म कुण्डली हामीलाई थाहा छ । त्यति भन्छु । ’ अध्यक्ष ओलीले एमालेमाथि लाञ्छना लगाउने प्रयास नगर्न पनि कांग्रेसलाई चेतावनी दिए । 

झापाको बिर्तामोड २४३ बिगाहा १९ कठ्ठा १२ धुर जग्गामा चिया बगान छ । गिरीबन्धु टि–स्टेटको जग्गामा चिया रहुञ्जेल उक्त जग्गा सो कम्पनीको स्वामित्वमा हुन्छ । अन्यथा त्यसलाई सरकारीकरण हुन्छ । 

तर तत्कालीन केपी शर्मा ओली सरकारले संसदमा आफ्नो बहुमत भएको अवस्थामा त्यस्तो जग्गा सट्टापट्टा गर्न सक्ने व्यवस्था गरिदियो । यसको उद्देश्य त्यो ठाउँको जग्गालाई प्लटिङ गरेर बेच्ने र पहाडको कुनै ठाउँमा सस्तो जग्गा किनेर चिया लगाउने योजना थियो । यसो गर्दा अर्बौं रुपैयाँ बराबर फाइदा हुनेवाला थियो । 

रिट निवेदकको दाबीअनुसार चिया बगान रहेको त्यो क्षेत्रमा जग्गाको भाउ कठ्ठाकै एक करोड रुपैयाँ पर्छ । यो हिसाबले उक्त जग्गाको मूल्य झण्डै ७० अर्ब रुपैयाँ हुन आउँछ । वास्तविकतामा दाबी गरिए अनुसार मूल्य नपरे पनि कठ्ठाको औसत ५० लाख रुपैयाँ पर्ने अवस्था भएको स्थानीय घरजग्गा व्यवसायीहरुको भनाइ छ । 

यस्तो अवस्थामा झण्डै ३५ अर्ब रुपैयाँ बराबरको भ्रष्टाचारको अवस्था यहाँ थियो । पहाडी भेगमा त्यति नै बराबरको चिया लगाउन झण्डै ५ अर्ब रुपैयाँ लागे पनि बाँकी ३० अर्ब रुपैयाँ पचाउने यो समूहको दाउ थियो । यसमा तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन भूमिसुधार मन्त्री पद्मा अर्याललगायत समेतको सहभागिता देखिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ