arrow

संविधान संशोधनबारे कांग्रेसनै विभाजित

बैठकमै एमालेलाई बाहिर राखेर संशोधन प्रस्ताव ल्याउन नहुने कुरा उठ्यो

logo
प्रकाशित २०७३ मंसिर १३ सोमबार
congress-new-sansodhan-n.jpeg

काठमाडौं । सत्ताधारी नेपाली कांग्रेसको बैठकमा प्रदेश पाँच टुक्र्याउन नहुने र एमालेलाई बाहिर राखेर संविधान संशोधन प्रस्ताव दर्ता गर्ने नहुने विषय उठेको छ ।

सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पार्टी पदाधिकारी र उपलब्ध केन्द्रीय सदस्यहरुको बैठकमा यस्तो विषय उठेको हो । पार्टी सभापति शेरबहादुर देउवाले विपक्षी र सरकारलाई समर्थन गर्ने विभिन्न दलहरुसँग परामर्श गरेपनि आफ्नै पार्टीभित्रको मत विभाजन मिलाउन सकेका छैनन् । योसँगै संशोधन प्रस्ताव दर्ता हुनेमा थप अन्यो बढेको छ ।

बैठकमा भौतिक पूर्वाधारमन्त्री समेत रहेका रमेश लेखकले संविधान संशोधन प्रस्तावमा सरकारले समेट्न लागेका विषयहरुबारे जानकारी गराए । लेखकले प्रदेश सीमाङ्कन, नागरिता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्वका लागि ल्याउन लागिएको संशोधन प्रस्तावमा राखिने संशोधनहरुबारे बैठकमा जानकारी गराएका हुन् ।

मन्त्री लेखकले राखेका विषयबस्तुबारे धारणा राख्दै अधिकांश सदस्यहरुले मधेसी मोर्चाले सहमति नदिएको अवस्था र एमाले बाहिर रहेको अवस्थामा संशोधन प्रस्ताव दर्ता गर्नु हुँदैन–भने । शेरखर कोइराला, चन्द्र भण्डारी, पूर्णबहादुर खड्का लगायतका नेताहरुले संशोधनमा पाँच नम्बर प्रदेशलाई टुक्र्याउने कुरा कदावी मान्य नहुने बताए ।

यस्तै, आफ्नै निर्वाचन क्षेत्रमा टुक्र्याउने नहुने भन्दै अभियान नै चलाएका महामन्त्री शशांक कोइरालाले समेत पाँच नम्बर प्रदेश टुक्र्याउन नहुने बताएका छन् ।

बैठकपछि केन्द्रीय सदस्य चन्द्र भण्डारीले भने, ‘सबैलाई मिलाएर जाने अवस्थामा मात्र संविधान संशोधनबारे सोच्न सकिन्छ । हामीले एमालेलाई बाहिर राखेर संविधान संशोधन हुन सक्दैन भनेका छौं । यस्तै, मधेसी मोर्चाले मत हाल्ने पक्का नभई संशोधन प्रस्ताव ल्याउन खोज्नु राम्रो हुँदै होइन । जसका माग सम्बोधन गर्न खोज्दैछौं त्यही पक्ष सहमत नभएपछि कसका लागि संशोधन गर्ने ?’

एमालेको सहमति जुटाउनै पर्छ, भण्डारीले थपे, ‘पाँच नम्बर टुक्र्याउनु भनेको देशलाई पूर्ण असफल बनाउनु हो । रुपेन्देही राबै भन्दा राजश्व बढी संकलन गर्ने ठाउँ हो । त्यो नै टुक्रियो भने देश आर्थिक संकटमा पर्छ ।’ देशलाई ठूलो घाटा हुन्छ । बैठकमा पार्टी सभापति शेरबहादुर देउवा पक्षधर बाहेक सबैले संविधान संशोधनको औचित्य पुष्टी हुनुपर्ने र सबैदलको सहमति चाहिने बताए ।

५ नम्बर प्रदेशका साथीहरुबाहेक सबै सकारात्मक छन् निधि
उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले बैठकमा सकारत्मक छलफल भएको र ५ नम्बर प्रदेशका नेताहरुबाहेक अन्य नेताहरुले संविधान संशोधन आवश्यक छ भनेको बताएका छन् ।

हाम्राकुरासँग निधिले भने, ‘सबै सकारात्मक छन् । ५ नम्बरका साथीहरुले संशोधनले कतै अफ्ठ्यारो स्थिति ल्याउँछ की भन्ने चिन्ता गर्नु भयो । आन्तरिक र बाह्य छलफल  जारी राख्ने कुरा भएको छ ।’ सरकारले संशोधन प्रस्तावमा सहमति जुटाउने प्रयत्न जारी राखेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्ताव दर्ता गर्न सबैले सहयोग गर्नुपर्ने बताएको निधिले सुनाए । यद्यपि, अन्य सदस्यहरुले मधेसी मोर्चानै संशोधन पास गर्ने कुरामा पक्का भइनसकेकाले दर्ता गर्नुको औचित्य नहुने बताएको मन्त्री निधिले  जानकारी दिए ।

बैठकमा सभापति देउवा, कोषाध्यक्ष सीतादेवी यादव, महामन्त्री सशांक कोइराला, कृष्ण सिटौला, पूर्णबहादुर खड्का लगायत नेताहरु सहभागि थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ