arrow

जिल्ला प्रहरी प्रमुख केन्द्रमा तानिँदा बचाइयो सीडीओलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३ बिहिबार
home-ministry-nepal.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सिन्धुली र सिराहाका प्रहरी प्रमुख केन्द्रमा तानिदा त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) पनि तानिनु पर्नेमा उनीहरुलाई बचाइएको छ । 

प्रहरी महानिरीक्षक बसन्त कुँवरले आफू मातहत रहेका एसपीलाई जोगाउने प्रयास नगर्दा उनीहरुलाई तानेर दोषी देखाउने र गृहले सीडीओेलाई बचाउने काम गरिरहेको छ । 

‘सिराहाका प्रमुख जिल्ला अधिकारी चुरे दोहोनमा मुछिएका छन्, सिन्धुलीका प्रमुख जिल्ला अधिकारी क्रसर उद्योगीको संरक्षण छन् । यी दुवैलाई एसपीले रोक्न खोज्दा उनीहरुको सरुवा भयो, सीडीओले भने संरक्षण पाए’, गृह मन्त्रालयका एक अधिकारीले भने । 

सिराहामा वासुदेव दाहाल तथा सिन्धुलीमा भरत खनाल प्रमुख जिल्ला अधिकारी रहेका छन् । उनीहरु गएको ७ महिना बढी भैसहेको छ । तर जिल्लाको कमाण्ड सम्हाल्न गएका एसपीको भने ७० दिनमै सरुवा गरिएको छ । 

जिल्ला कमाण्ड गर्दागर्दै ७० दिनमै सिन्धुलीका विनोद शर्मा हेडक्वार्टर तानिएका थिए । सिराहाका एसपी सन्तोष आचार्यको पनि उही हालत हो । 

गएको ७० दिनमै प्रहरी प्रधानकार्यालयमा हाजिर हुनुपर्यो । सिराहामा एसपी रमेश पण्डितको काज सरुवा गरिएको छ। त्यसअघि प्रहरी मुख्यालयले सिन्धुलीको एसपीमा गोविन्दराज काफ्लेको पनि काज सरुवा गरेको थियो । 

बेलाबेला बिनाकारण तराईका विभिन्न जिल्लामा खटिएका एसपीलाई दुई महिना नपुग्दै सरुवा गरिँदा आईजी कुँवर विभागभित्रै विवाद र आलोचनामा पर्दै आएका छन् । 

‘पहिलो जिल्लामा प्रहरी प्रमुख र सीडीओबीच विवाद आए दुवैलाई तानिने चलन रहेको थियो, तर अहिले प्रहरी प्रमुखलाई मात्र सरुवा गरेर सीडीओलाई संरक्षण गर्न गृह मन्त्रालय सफल भएको छ’, स्रोतले भन्यो । 

प्रहरी हेडक्वार्टर स्रोतका अनुसार गृहमन्त्री रवि लामिछाने र उनी निकटका केही व्यक्तिले रोजेका प्रहरीलाई पोष्टिङ दिनका लागि काम गरिरहेका कमाण्डरलाई समय नपुग्दै काज सरुवा गर्ने तथा प्रहरी महानिरीक्षकको कमाण्ड फितलो बनाउने कार्य भैरहेको भन्दै प्रहरीभित्र नै असन्तुष्टि उत्पन्न भएको छ । 

सिराहाबाट तानिएका एसपी सन्तोषको हकमा घुमुवा राख्न नपाएपछि बिचौली खडा गरेर नाकामा अनियमितता गरिएको आरोप लगाइएको छ । तर हेडक्वार्टरबाट गएको टोलीले माडरका व्यापारी नरेश साहलाई पक्राउ गरी ती व्यक्ति नै एसपीको बिचौली हुन् भन्ने कुरा जबरजस्ती स्थापित गर्दै उनको सरुवा गरिएको छ । 

तर उनै व्यापारीले दिएको सूचनाको आधारमा सिराहा प्रहरीले लाखौँको अवैध सामान बरामद गरेको थियो । सीमावर्ती नाकाहरूमा गृहमन्त्रीको पार्टी रास्वपाका मान्छे सल्बलाउने र उनीहरूको मागबमोजिम प्रहरीले काम गर्न नसक्दा तानिनुपर्ने अवस्था बनेको र त्यसमा आईजीपी कुँवर मौन बसेको प्रहरी कर्मचारीले गुनासो गर्न थालेका छन् । 

प्रहरी कर्मचारीको सरुवा सम्बन्धी मापदण्ड उल्लंघन हुँदा पनि अडान लिन सकेनन् । गृहमा रवि लामिछाने आउने बित्तिकै तराईका आठ वटै जिल्लामा प्रमुखहरुलाई बिना कारण सरुवा गरिएको छ । 

त्यसैगरी इलामका प्रहरी प्रमुखलाई पनि सरुवा गरिएको छ । तराईका जिल्लामा एसपीको सरुवामा पूरै मापदण्ड उल्लंघन गरिएको छ । 

यसैगरी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौंँ महानगरीय प्रहरी परिसरका एसएसपीको पनि आइजीपी नभएको बेला हठात् सरुवा गरिदिएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ