arrow

ओलीलाई शेखरको जवाफ – कसैको धम्कीले कांग्रेस डराउँदैन [भिडियो]

सहकारी प्रकरणमा बारम्बार रविको नाम जोडिएपछि छानबिन समिति बन्नुपर्छ भन्दा सत्तारुढ दलहरू नमान्नु गम्भीर प्रकृतिको विषय

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३ बिहिबार
shekhar-koirala-02-03.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुनै राजनीतिक दलको धम्कीले कांग्रेस नडराउने बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले कुनै पनि राजनीतिक दलले नेपाली कांग्रेसलाई धम्क्याउन नसक्ने बताए । उनले राजाको धम्कीबाट कांग्रेस नडराएको भन्दै अहिले कुनै पनि राजनीतिक दलको धम्कीबाट नडराउने बताए । 

बुधबार एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेप्रति आरोप लगाउँदा हेक्का राख्न भन्दै नेपाली काङ्ग्रेसलक्षित चेतावनी दिएका थिए । सोही विषयलाई लिएर नेता कोइरालाले कांग्रेस कुनै पनि राजनीतिक दलको धम्कीबाट नडराउने बताएका हुन्। उनले देशको राजनीतिक परिस्थिति जटिल अवस्थामा गइरहेको बताए । उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आफ्नो धारणा राख्न दिने तर कांग्रेसलाई चित्त नबुझे कांग्रेसले आफ्नो कुरा राख्ने भन्दा सत्तारुढ दलहरू नमानेको आरोप लगाए । उनले सहकारी प्रकरणमा बारम्बार नाम जोडिएपछि संसदीय छानबिन समिति बन्नुपर्छ भन्दा सत्तारुढ दलहरू नमान्नुले गम्भीर प्रकृतिको विषय बनेको बताए ।

उनले भने, ‘अहिले देशको राजनीतिक परिस्थिति यति जटिल अवस्थामा गइरहेको छ । भोलि के हुन्छ हामी भन्न सक्ने अवस्थामा छैनौँ । त्यस्तो अवस्थाबाट नेपालको राजनीति गइरहेको छ । यहाँ केही कुरा क्लियरिफाइ गर्नुपर्नेछ, नेपाली कांग्रेसले । साथीहरूले एउटा कुरा भने, तपाईँहरूले गृहमन्त्रीलाई बोल्न दिनुभएन । बोल्न दिन हुन्छ की हुँदैन, त्यो आफ्नो ठाउँमा छ, डा.रामशरण महतलाई दिइयो दिइएन, त्यो आफ्नो ठाउँमा छ, भरतमोहन अधिकारी, जनार्दन शर्मालाई बोल्न दिइयो की दिइएन त्यो आफ्नो ठाउँमा छ । तर हामीले बोल्न नदिने भनेको छैन, यो क्लियर हुनुपर्छ । हामीले गृहमन्त्रीले आएर रोष्टममा बोल्नुहुन्छ, बोल्नुस् । हामीलाई चित्त बुझ्यो भने ठिक छ, बुझेन भने हामी त्यसपछि बोल्छौँ भन्दा न गृहमन्त्रीले स्वीकार गर्नुभएको छ न त एमालेले स्वीकारेको छ । यो क्लियर हुनुपर्छ । हामीले संसद अवरुद्ध गर्ने कारण यही हो । लोकतान्त्रिक अवस्थामा संसद अवरुद्ध गर्न हुन्छ की हुँदैन भन्ने प्रश्न पनि छ, ती आफ्ना ठाउँमा छन् । हामीले केही भनेको छैन । रवि लामिछानेजीले राजीनामा गर्नुपर्छ भनेको पनि छैन । छानबिन समिति बनाउनुस् भनेका छौँ । गृहमन्त्रीको नाम विभिन्न सहकारीबाट पटक पटक आएको छ । उनले नै गृहमन्त्री भएको नाताले पुलिस प्रशासनको पनि चिफ हुनुहुन्छ, कसरी न्याय दिन सक्नहुन्छ ? यो कुरामा सत्ता पक्षका साथीहरू, दलहरू स्विकार्ने पक्षमा देखिनुभएको छैन । यो गम्भीर प्रकृतिको विषय भएर अघि बढेको छ । पानी, मकै बेचेर सहकारीमा राखेको पैसा हिनामिना भएपछि जनता सडकमा आए, कांग्रेसले सदनमा राखेको हो । कुनै पनि राजनीतिक दलले नेपाली कांग्रेसलाई जुन धम्कीको भाषा आइरहेको छ, राजाको धम्की नेपाली कांग्रेसले डराएन भने कुनै राजनीतिक दलको धम्कीमा हामी डराउँदैनौँ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ