arrow

संशोधन प्रस्ताव दर्ता अन्योलमा : यस्ता छन् माओवादीका तीन विकल्प

१० प्रदेशको खाका सहितको प्रस्ताव दर्ता गर्ने पनि सम्भावना

logo
प्रकाशित २०७३ मंसिर १३ सोमबार
maobadi-new-aa.jpeg

काठमाडौं । सत्ताधारी माओवादी केन्द्रले प्रस्ताव पारित हुने अवस्थामा मात्र संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने अडान लिएको छ ।

संविधान संशोधनको माग गर्ने र प्रस्ताव ल्याउन कसरत गर्नेहरुबीचमै सहमति जुटन नसकि संशोधन दर्ता अन्योलमा रहेका बेला माओवादी केन्द्रले पारित हुने अवस्थामा मात्र अघि बढाउने अडान लिएको हो ।

माओवादीले संशोधन प्रस्ताव पारित गर्ने र दर्ता गर्ने विषयमा छलफल जारी रहेको जनाउँदै संशोधनका तीन विकल्प अघि सारेको छ । न्यूनतम सहमति हुनु पर्ने दलहरुनै संशोधनप्रति प्रष्ट नभएकाले संशोधन अघि बढ्न नसकेको प्रधानमन्त्रीका प्रमुख राजनीति सल्लाहकार चन्द्रप्रकाश खनालले जानकारी दिए । उनका अनुसार माओवादी केन्द्रले विभिन्न विकल्पमा छलफल गरिरहेको छ ।

मुख्य तीन विकल्प
१. तीन बुँदेमा हस्ताक्षर गर्ने दलहरुको सहमति जुटाएर संशोधन दर्ता गर्ने
२. माओवादी केन्द्रकै १० प्रदेशको खाका सहितको प्रस्ताव दर्ता गर्ने
३. सरकारमा सहभागि र सहयोग गरिरहेका र सघाउने दलहरुको दुई तिहाई पुग्ने अवस्थामा दर्ता गर्ने

खनालका अनुसार संशोधन प्रस्ताव तीन मध्ये कुनै एक विकल्पको आधार तयार नभएसम्म संशोधन प्रस्ताव दर्ता हुन सक्दैन । अब संविधान संशोधन हुँदैन हैन ? जवाफमा उनले भने, ‘वातावरण बन्दै गए हुने हो । वातावरण विग्रिँदै गए हुँदैन । संशोधनका पक्षधर नै गम्भीर बनेका छैनन् ।’ संशोधनको कुरा छलफल भन्दा माथि उठेको छैन । खनाल र केही कांग्रेस नेताहरुका अनुसार अझै छलफलमै रहेकाले प्रस्ताव दर्ता हुने सम्भावना कमजोर हुँदै गएको छ ।

बाबुराम र उपेन्द्रको मोर्चाबन्दीले असर गर्दैन
खनालले बाबुराम र उपेन्द्र यादवबीचको मोर्चाबन्दीले वातावरण नविग्रने बताएका छन् । उनले भने, ‘बाबुराम जीले पहिले देखिनै पहिचानको कुरा गरिरहनु भएको थियो ।’ उपेन्द्र यादवले नै संविधान संशोधनका लागि ३ बुँदेमा हस्ताक्षर गरेकाले गैर जिम्मेवार बन्दैनन् होला भन्ने सरकारको विश्वास छ ।

उपेन्द्र यादव मोरङ, सुनसरी र कैलाली, कञ्चनपुरको पनि भाग खोज्दै छन्
उपेन्द्र यादवले पहिलो संविधानसभाको राज्य पुनःसंरचना आयोगले बनाएको खाकालाई मान्नु पर्ने भन्दै १० प्लस प्रदेशको संख्या र सीमाङ्कनको कुरा उठाइरहेका छन् ।

सल्लाहकार खनालले भने, ‘उहाँले (उपेन्द्र यादपव) सुनसरी, मोरङ र कैलाली कञ्चनपुरको पनि भाग खोजिरहनु भएको छ ।’ पहिलो संविधान सभाको आयोगले बनाएको खाका र अन्तरिम संविधानको व्यवस्था चाहिनेमा गठबन्धन नेताहरुले जोड दिइरहेको उनले जानकारी दिए । सोमबार मात्रै यादवसँग प्रधानमन्त्री दाहालले अनौपचारिक छलफल गरेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ