arrow

केसीलाई थकाउँदै सरकार : वार्ताका लागि वार्ता, प्रगति शून्य

अहिले सम्मकै लामो अनसन

logo
प्रकाशित २०७३ मंसिर १३ सोमबार
kc-new-gharti.jpg.jpeg

काठमाडौं । आमरण अनसनरत डा.गोविन्द केसी र सरकारका प्रतिनिधिबीच सोमबार वार्ता मात्रै भएको छ । सरकारी वार्ता टोलीका संयोजक एवं स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेती आफैले भने, ‘वार्ता भयो मात्रै वार्ता । दिनभर वार्ता भयो । उपलब्धी भएन ।’

केसीले राखेका १० माग मध्ये मुख्य मागमा कुरा अड्कियो, उपे्रतीले थपे, ‘जुन मागमा हामीले केही गर्न सक्दैनौं । विधि र प्रक्रियाले गर्ने हो ।’ तपाई माग पढ्नुस् जुन् अफ्ठ्यारो जस्तो लाग्छ त्यही मागमा कुरा मिलेन, कुरा नमिलेको माग यही हो भनेर कसरी भनौं र, –उप्रेतीले भने ।

आइतबार पनि अन्य विषयमा कुरा मिले पनि मुख्य दुई मागमा कुरा मिल्न नसकेको संयोजक उप्रेतीले बताए । डा. केसीका तर्फबाट वार्तामा सहभागि प्रतिनिधि जीवन क्षेत्रीले ३ घण्टा छलफल भएपनि प्रगति शून्य  भएको जानकारी दिए ।

उनले भने, ‘सरले उठाउनु भएको त्रिवि उपकुलपति र आइओएमको डिनको राजीनामाको मागबारे सरकारी वार्ता टोलीले कुरा गर्न चाहेन । हामीले पनि त्यसमा कुरा नगर्ने भए हुँदैन भन्यौं ।

उपकुलपति तीर्थ खनिया र चिकित्साशास्त्र अध्ययन संस्थानका आइओएमका नवनियुक्त डिन डा.केपी सिंहको राजिनामा र बर्खास्तगीबारे सरकारी पक्षले प्रकृयागत रुपमा नमिल्ने जनाएपछि वार्ता अन्य विषयमा प्रवेश हुन नसकेको क्षत्रीले बताए । उनले थपे, ‘उहाँहरुले विधि र प्रक्रियाका कुरा गरेर आलटाल गर्नु भो । हामीले जहिले पनि पुरानै शैलीले अनसन तोडाउने उपाय मान्य छैन भन्यौं ।’

संस्थानको डिन हटाउनु भन्दा पनि यसमा निष्पक्ष नियुक्तिको लागि प्रकृया अघि बढाउनु पर्ने तर्क सरकारी पक्षको छ । दुवै पक्षले आवश्यक गृहकार्य गरेर मंगलबार पुनः छलफल गर्ने गरी बैठक टुंग्याएका छन् ।

केसीलाई चक्कर आउने समस्या जेल्यो
केसी अनसन बसेको १६ दिन कटेको छ । केसी आठौं अनसनमा सबभन्दा धेरै १६ दिन अनसन बसेका थिए । यस पटक त्यो नाघेको उनका सहयोगिहरुले बताएका छन् । केसीको स्वास्थ्य अवस्था निकै जटिल बनेको छ । पछिल्लो समय केसीलाई ढाड दुख्ने र चक्कर लाग्ने समस्याले जेलेको छ । यस्तै, स्वासप्रस्वास र रगतको समस्या कायमै रहेको प्रतिनिधि जीवन क्षेत्रीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ