- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसदमा निरीहता प्रदर्शन गरेको बताएका छन् ।
लामिछानेले संसदमा सम्बोधन गर्ने क्रममा निरीहता प्रदर्शन गरेको पत्रकार सम्मेलन गर्दै जानकारी दिए । संसदमा गृहमन्त्रीले बोलेपछि आफूहरुलाई सभामुखले बोल्न नदिएपछि महामन्त्री थापाले पत्रकार सम्मेलन गरेर गृहमन्त्रीको हैसियत छर्लङ्ग पारिदिएका हुन् ।
महामन्त्री थापाले सरकारमा बस्नेले अनुसन्धान गर्छु भन्नुपर्नेमा गृहमन्त्री लामिछानेले संसदीय समिति विभिन्न विषयमा बनाउनु नहुने भनेर निरीहता प्रदर्शन गरेको जिकिर गरे ।
महामन्त्री थापाले भने, ‘मलाई आज गृहमन्त्रीको प्रस्तुतिले टेलिभिजन प्रस्तोता हो कि गृहमन्त्रीको अभिव्यक्ति हो भन्ने थोरै कन्फ्युजन भयो । किनकि टेलिभिजन प्रस्तोता हुँदा प्रश्नहरु सोध्ने, विषयहरु उठाउने स्वभाविकै कुरा हो । जुन तपाईहरुले पनि गरिराख्नुभएको छ । तर गृह मन्त्रालय भनेको त ठूलो जिम्मेवारी हो नि । हाम्रो सरकारको कार्य सञ्चालन नियमावलीले पनि गृह मन्त्रालयलाई त्यसमाथि पनि अझ उपप्रधानमन्त्री कति धेरै महत्वपूर्ण जिम्मेवारी दिइएको छ । आज मैले उहाँले भन्दै गर्दा यसो सुनेको थिएँ –म तेरो फाइल खोलिदिउँ ? म तेरो अनुसन्धान गरिदिउँ ? मेरो गर्छु भन्छस् भने तेरो पनि गरिदिन्छु । अरे बाबा, गृहमन्त्रीले यस्तो भन्ला र गृहमन्त्रीले त धमाधम फाइल खोल्ने हो । धमाधम अनुसन्धान गर्ने हो । त्यसपछि त्यसलाई गल्ती गरेको छ भने निर्णय गराउने हो । फैसला गराउने हो, कार्यान्वयन गराउने हो ।’
नेता थापाले रवि लामिछाने एकदमै अल्मलिएको पाएको पनि बताए । उनले भने, ‘एकदम अल्मलिएको पाएँ । गृहमन्त्रीजी र उहाँका पार्टीका साथीहरु पनि । यसमा पनि समिति बनाउनु पर्छ, यसमा पनि समिति बनाउनु पर्छ । मैले यत्रो वर्ष संसदमा रहेँ । सरकारले बस्नेले शक्ति हुन्छ, उसले म अनुसन्धान गर्न सक्छु भन्छ । म दूधको दूध, पानीको पानी छुट्याउँछु भन्छ ।’
उपप्रधानमन्त्री लामिछानेले सहकारी प्रकरणमा आफूमाथि उठेको प्रश्नको जवाफ संसदमा दिए लगत्तै पत्रकार सम्मेलन गरी महामन्त्री थापाले गृहमन्त्रीले फाइल खोलिदिउँ भनेर भनेको सुन्दा आफू चकित भएकोसमेत बताए । गृहमन्त्रीले त धमाधम फाइल खोल्नुपर्ने महामन्त्री थापाको भनाइ थियो ।