arrow

अशोक राईलाई प्रश्न : हिजो जलाउनेलाई अहिले अन्तरिम संविधानको व्यवस्था किन चाहियो ?

अन्तरिम संविधानको धारा १३८ किन कायम गर्ने ? के छ त्यसमा ?

logo
प्रकाशित २०७३ मंसिर १३ सोमबार
ashok-rai-news-aaja.jpeg

काठमाडौं । संघीय गठबन्धन एवं संघीय समाजवादी फोरमका नेता अशोक राईले आफुहरुले अन्तरिम संविधानको व्यवस्था खोज्नुको जवाफ दिएका छन् ।

उनले हाम्राकुरासँग भने, ‘पहिले हामीले अन्तरिम संविधान स्वीकारेका थिएनौं । पछि अन्तरिम संविधानको भाग १८–राज्यको ढाँचा र स्थानीय स्वायत्त शासन अन्तर्गतको प्रावधान, धारा १३८ राज्यको अग्रगामी पुनर्संरचनाः (१) थपिएपछि स्वीकारेका हौं ।’

धारा १३८ मा के छ ?
भाग १८
राज्यको ढाँचा र स्थानीय स्वायत्त शासन
१३८ राज्यको अग्रगामी पुनर्संरचनाः (१) वर्गीय,जातीय, भाषिक, लैङ्गिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय भेदभावको अन्त्य गर्न राज्यको केन्द्रीकृत र एकात्मक ढाँचाको अन्त्य गरी राज्यको समावेशी, लोकतान्त्रिक र अग्रगामी पुनर्संरचना गरिनेछ।
(२) उपधारा (१) बमोजिमको राज्यको पुनर्संरचना गर्नका लागि सुझाव दिन एक उच्चस्तरीय आयोगको गठन गरिनेछ। त्यस्तो आयोगको गठन, काम, कर्त्तव्य, अधिकार र सेवाका शर्त नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ।
(३) राज्यको पुनर्संरचना सम्बन्धी अन्तिम टुङ्गो संविधान सभाले निर्धारण गरे बमोजिम हुनेछ।

हिजो तपाइकै अध्यक्षले अन्तरिम संविधान फर्मेट मात्रै हो, पटक–पटक जलाएकाे फर्मेट लाई हामी मान्दैनौ भनेकाे याद छ ? अहिले त्यही किन चाहियो ?
–धारा १३८ को व्यवस्था पहिले थिएन । पछि थपिएपछि स्वीकार गरेका हौं । पछि त्यही अन्तरिम संविधानले दुई वटा संविधान सभा निर्वाचन भयो । हामी पनि त्यही संविधानले गराएका निर्वाचनमा सामेल भयौं । पछि त्यही संविधानलाई टेकेर जारी भएको संविधानको विरोध गर्नु पर्ने अवस्था पनि आयो ।

जातीय, क्षेत्रीय पहिचानको कुरा गरेर द्वन्द्व सिर्जना गर्न खोजेको हो ?
–अन्तरिम संविधानको यो प्रावधानले जे परिभाषा दिएको त्यही नै हो । यसले द्वन्द्व सिर्जना गर्छ भन्ने हामीलाई लाग्दैन । 

फेरि किन ११ प्रदेश माग्या  ?
–११ प्रदेश हामीले मागेको भन्दा पनि पहिलो संविधान सभाको राज्यपुनःसंरचना समितिले बनाएको ड्राफ्ट हो । जसमा सबैले सहमति जनाएका छन् । त्यो ड्राफ्टले मात्रै धारा १३८ को कदर गर्दछ । अहिले जारी संविधानमा त्यसलाई मारिएको छ । पहिलो संविधान सभाको समितिले १० प्लस भनेको थियो त्यही भएर ११ हुनुपर्छ भनिरहेका हौं ।

सरकारलाई किन धम्काउनु भा ?
–हामीले धम्काइरहेका होइनौं । संविधान संशोधन प्रस्ताव प्रस्ताव पेश गर्ने । हाम्रो माग सम्बोधन गर्ने विषय सरकारले सोच्नु पर्ने हो । समस्या समाधान हुने गरेर संशोधन आउनु पर्नेमा हामीले जोड बल गरेका हौं । समस्या समाधान नगर्ने खालको संशोधन आवश्यक छैन भनेका हौं । यो धम्की होइन ।

बाबुराम भट्टराईलाई टाँस्न खोजेको कि तपाईहरु टाँसिन खोजेको ? कि गठबन्धन फुट्न लागेको ?
–उहाँले आन्दोलनमा सघाउने भनेपछि कार्यगत एकता गर्न खोजेको हो । हामी गठबन्धन फुटाएर उता जाने भनेको होइन । मुद्दा मिलेकाले सहकार्य हुँदै गए गठबन्धनमा नयाँ शक्ति आउन सक्छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ