arrow

कैलाश सिरोहिया धनुषा प्रहरीको हिरासतमा, जिल्ला अदालतमा उपस्थित गराइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ९ बुधबार
kailash-sirohia-pakrau.jpg
तस्बिर – फाइल ।

जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाले हिरासतमा लिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेर सिरोहियालाई  आज बिहान धनुषा ल्याएर जिल्ला प्रहरी कार्यालयमा बुझाएको हो । 

उनलाई आजै जिल्ला अदालत, धनुषामा उपस्थित गराइँदैछ । सिरोहियालाई जिल्ला प्रशासनले दिएको नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको बहानामा कार्यकक्षबाटै मंगलबार गिरफ्तार गरिएको थियो ।

स्वतन्त्र प्रेसको कार्यालयमा राज्यका सुरक्षा निकाय प्रवेश नगर्ने लोकतान्त्रिक अभ्यासलाई कुल्चिँदै काममा रहेका बेलामा अध्यक्ष सिरोहियालाई पक्राउ गर्न प्रहरीको टोली कान्तिपुर कार्यालयको आठौँ तलाको कार्यकक्षमै पुगेको थियो । 

उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुकुमार भट्टराई र एसपी रवीन्द्र रेग्मीसहितको टोली बर्दीसहितका प्रहरी अधिकृत लिएर कार्यकक्षमा प्रवेश गरेका थिए ।

यो घटना गृहमन्त्री रवि लामिछानेको रिसीइबीको कारण भएको सिरोहियाले दाबी गरेका छन् । उनले पक्राउ परेलगत्तै कान्तिपुरमा रविका कुकर्मका परिणामहरु नियमित लेखिरहेकाले त्यसको रिसीइबी साँध्नका लागि आफूलाई नियन्त्रणमा लिइएको दाबी गरेका हुन् । 

आफू नागरिकता प्रकरणमा दोषी नरहेको दाबी गर्दै सिरोहियाले आफूलाई कुनै जानकारीसमेत नगराइ र स्पष्टीकरण दिने मौकासमेत नदिइ गिरफ्तार गरिएको बताए । 

मंगलबार कान्तिपुरमा गोर्खा मिडियामा चार सहकारीको ९५ करोड ८१ लाख अपचलन, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कम्पनीमा प्रबन्ध निर्देशक भएको अवधिमा मात्रै सहकारीहरूबाट ८० करोड ३१ लाख रुपैयाँ गोर्खा मिडियामा आएको दस्ताबेजबाट पुष्टि शीर्षकमा समाचार छापिएको थियो । 

लगत्तै बिहानैदेखि कान्तिपुरको कार्यालय परिसर र थापाथली सडकमा समेत ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

सरकारको यो कदमको सर्वत्र विरोध भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ