arrow

कैलाशलाई पक्राउ गरेपछि रविको अबको निशाना आरजूतिर 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ९ बुधबार
arzu-deuba-rana-81-2-8.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले आफ्ना विरोधीहरुलाई एकपछि अर्को गर्दै प्रतिशोध साँध्ने तयारी गरेका छन् । मंगलबार कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेपछि उनको निशाना पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजू राणा देउवातिर सोझिएको छ । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा उनको नाम जोडिएको भन्दै छानबिन गर्ने तयारी गरेको भए पनि प्रहरीले त्यसमा भन्दा टिकापुर जग्गा प्रकरणमा अनुसन्धान सजिलो हुने भएकाले त्यहाँबाट तान्न खोजिएको छ । 

आरजूलाई टार्गेट गरेर प्रहरीलाई टिकापुर पठाइएको छ । कैलालीको टीकापुर नगर विकास समितिको स्वामित्वमा रहेको सरकारी सार्वजनिक जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्थलगत अनुसन्धान अघि बढाइसकेको छ । 

सरकारी कागजपत्र किर्ते गरी जग्गा हिनामिना गरेको देखिएपछि सीआईबीले यस सम्बन्धी विस्तृत अनुसन्धान गर्न डीएसपी नेतृत्वको टोलीलाई यसै साता फिल्डमै खटाएको स्रोतले जनाएको छ । 

लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएका बेला मन्त्री सरहको सेवा सुविधा पाउने गरी २०५३ सालमा नैनबहादुर स्वाँर टीकापुर विकास समितिको अध्यक्ष भएका थिए । 

उनले २०५५ सालसम्म समितिको अध्यक्षको जिम्मेवारी सम्हालेकै समयमा कांग्रेस केन्द्रीय सदस्य तथा सांसद आरजूलाईसमेत जग्गा उपलब्ध गराइएको भन्दै अनुसन्धानका लागि सीआईबी परिचालन गरिएको छ । 

१३ बैशाख २०५४ मा उनले दिएको निवेदनका आधारमा त्यसको दुई दिनपछि १५ वैशाख २०५४ मा आरजूले टीकापुर नगर विकास समितिबाट ३ कट्ठा ७ धुर घडेरी लिएको कागजातबाट देखिएको सीआईबी स्रोतले जनाएको छ ।
 
यसअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उक्त जग्गा हिनामिनामा संलग्न दुई सय ४९ जनाविरुद्ध मुद्दा दायर गरिसकेको छ । अख्तियारले भ्रष्टाचार मुद्दा चलाएकोमा प्रहरीले लिखत किर्ते सम्बन्धमा अनुसन्धान अघि बढाएको हो । 

टीकापुर जग्गा हिनामिनाको विविध पाटोबारे विस्तृत अनुसन्धान गर्न फिल्डमै टोली खटाइएको सीआईबीका निर्देशक एआईजी श्यामलाल ज्ञवालीले बताए ।

टीकापुर जग्गा हिनामिनाको विविध पाटोबारे विस्तृत अनुसन्धान गर्न फिल्डमै टोली खटाइएको छ । अख्तियारबाट भएको पत्राचारअनुसार प्रारम्भिक अनुसन्धान गरी विस्तृत बुझ्न टोली खटाइएको एआईजी ज्ञवालीको भनाइ छ । 

गत २५ माघमा अख्तियारले कैलालीको नगर विकास समितिका तत्कालीन अध्यक्ष तथा पदाधिकारी, कर्मचारी र जग्गाधनी गरी दुई सय ४९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 

टीकापुर नगरपालिका– १ टीकापुर विकास समितिको नामका नक्कली कागजातहरू खडा गरी समितिको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरिएको अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दाको अभियोगमा उल्लेख छ ।

टीकापुर विकास समितिको नाममा अभिलेख रहेका सक्कल कागजातजस्तै गरी पुरानो मितिका नक्कली घडेरी प्रमाणितपत्र, रकम बुझाएको रसिदलगायतका किर्ते गरी जग्गा हिनामिना भएको थियो । 

यसमा तीन सयभन्दा धेरै व्यक्तिमाथि अनुसन्धान गर्नुपर्ने देखिएको सीआईबीका अधिकारीको भनाइ छ । 

अख्तियारका अनुसार ०६६ देखि पटक–पटक गरेर त्यसरी जग्गा हिनामिना भएको थियो । अख्तियारले नगर विकास समितिका पूर्वअध्यक्षहरू नेत्रप्रसाद जोशी, ललित ताम्राकार र धीजराज रेग्मीविरुद्ध मुद्दा दायर गरेको छ । 

मालपोत कार्यालय टीकापुरका तत्कालीन मालपोत अधिकृत जयबहादुर विष्ट, नापी कार्यालय टीकापुरका तत्कालीन नापी अधिकृतद्वय मानबहादुर चन्द र गणेशबहादुर बमलाई पनि प्रतिवादी कायम गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ