arrow

अपार्टमेन्टमा आगलागी हुँदा १४ को मृत्यु, ६ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ११ शुक्रबार
hanoie-fire.jpg

हनोई । भियतनामको राजधानी हनोईमा साँघुरो गल्लीमा रहेको एउटा अपार्टमेन्टमा राति भएको आगलागीमा १४ जनाको मृत्यु र छ जना घाइते भएको सरकारी सञ्चारमाध्यमले शुक्रबार बताएको छ । 

मध्य हनोईमा रहेको अपार्टमेन्ट भवनसम्म मात्र दुई मिटर (छ फिट पाँच इन्च) चौडा गल्लीमार्फत पुग्न सकिन्थ्यो । यसबाट दमकल त्यहाँ पुग्न नसकेपछि अग्निनियन्त्रकहरूले पाइपमार्फत आगो निभाएको सरकारी सञ्चारमाध्यमले बताएको छ । 

भियतनाम समाचार एजेन्सीका अनुसार राति करिब १२ः३० मा आगो लागेको थियो र धेरै विस्फोटको आवाज पनि सुनिएको थियो । आगो निभाउन एक घन्टा लागेको थियो । 

छिमेकी गुयेन थान ट्रुङले आफू सुतिरहेका बेला विस्फोटको आवाज सुनेको र हेर्न बाहिर निस्केको बताए । “मैले घरमा झटका महसुस गर्न सक्थेँ”, उनले भने । 

आगलागीको समयमा उक्त भवनमा घर मालिकका परिवारका सात र अन्य १७ जना भाडामा बस्ने गरी २४ जना रहेको सञ्चारमाध्यमले बताएको छ । घाइतेको अवस्था स्थिर रहेको र उनीहरूको हनोई ट्रान्सपोर्ट अस्पतालमा उपचार भइरहेको छ । 

सरकारी सञ्चारमाध्यमका अनुसार विद्युतीय बाइकको बिक्री र मरम्मत गर्नका लागि ग्यारेजका रूपम प्रयोग गरिएको भवन नजिकैको सानो आँगनमा आगो लागेको थियो । 

पछि प्रहरीले गल्लीलाई घेरा हालेको थियो । अपार्टमेन्टमा जलेका मोटरसाइकलहरू र रुखहरू जलेका अवशेष तथा छरिएका सामानहरू थिए । 

मृतकका परिवारलाई क्षतिपूर्तिस्वरूप एक हजार नौ सय ६२ डलर र घाइतेलाई एक हजार एक सय ७७ डलर दिने अधिकारीहरूले बताएका छन् । 

यो आगलागीले गत वर्ष सेप्टेम्बरमा हनोइमा भएको आगलागीलाई सम्झना गराउँछ । उक्त समयमा ५० भन्दा धेरै व्यक्तिको मृत्यु भएको थियो । सो बेला पनि उद्धार कार्यमा साँघुरो गल्लीले अवरोध पुर्याएको थियो । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ