arrow

निरीह बन्दै नेतृत्व

सत्ताको नेतृत्व प्रचण्डको, निर्णय र निर्देशन केपी ओलीको 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १४ सोमबार
prachanda-oli-2080-always-2.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सत्ताको नेतृत्व माओवादी केन्द्रले गरे पनि एमालेको निर्णय र निर्देशन बेगर चल्न नसक्ने अवस्थामा पुगेको छ । 

प्रतिपक्षका मागप्रति कुनै पनि हालतमा एमाले लचिलो बन्न नसकेपछि सरकारको नेतृत्व एमालेले गरिरहेको छ कि माओवादीले भन्ने द्विविधा उत्पन्न भएको छ ।

प्रतिपक्षका मागप्रति माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री लचिलो बने पनि एमाले लचिलो बन्न नसक्दा सोमबार बिहानको बसेको सत्ता पक्ष र प्रमुख प्रतिपक्षको बैठक बिना निष्कर्ष टुंगिएको हो । 

‘सोमबार बिहानको बैठकमा सदन खुलाउने भन्दा पनि एमाले र कांग्रेसबीच भनाभनमा टुंगिएको छ’, बालुवाटार स्रोतले भन्यो, ‘एमाले निकै आक्रामक भयो आजको बैठक आरोप प्रत्यारोपमा टुंगिएको छ ।’

बैठकबाट बाहिर निस्केपछि सत्तारुढ दल नेकपा एमालेले आफ्नो पार्टी र अध्यक्ष केपी शर्मा ओलीप्रति नेपाली कांग्रेसले लगाएका आरोपबारे लिखित क्षमा र सार्वजनिक माफी माग्नुपर्ने बताएर संसदीय छानबिन समितिको माहोललाई झन् चर्काएर सहमति बन्न एमाले बाधक बनेको छ । 

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकपछि एमालेले ती आरोपबारे कांग्रेसले माफी नमागे सम्बन्ध राम्रो नहुने चेतावनी दिँदै माहोल बिग्रेको एमाले आफैँले बताएको छ । ‘एमाले प्रोक्सी वारमा उत्रियो’, बालुवाटार स्रोतले भन्यो ।
 ‘कांग्रेसले जे–जस्ता आरोप लगाइरहेको छ, कांग्रेसले यो आरोपकाप्रति लिखित रुपमा क्षमा र सार्वजनिक रुपमा माफी माग्नुपर्छ । अन्यथा नेपाली कांग्रेससँगको सम्बन्ध ठीक ढंगले अघि बढ्न सक्दैन । नेकपा एमाले यस्ता आरोप सुनेर बसिरहन सक्दैन’, एमाले उपाध्यक्ष विष्णु पौडेलले सञ्चारकर्मीसँग भने ।

पछिल्ला दिनमा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति कांग्रेसले गिरीबन्धु टी–स्टेटसँग जोडेर विभिन्न प्रतिक्रिया दिँदै आएको विषयमा सोमबार दुईपक्षबीच भनाभन भएको थियो । 

कांग्रेसका शीर्ष नेताहरुले नै झापाको गिरीबन्धु टी–स्टेट सम्बन्धी निर्णय सबै एमाले र तत्कालीन राप्रपाका अध्यक्ष सूर्यबहादुर थापाका पालामा हुँदा पनि दोष कांग्रेसलाई नै थोपर्न खोजेको भन्दै आक्रोश व्यक्त गरेका थिए । 

कांग्रेसले यो विषय सदनमा जोडका साथ उठाउने तयारी गरेको छ । ‘सबै निर्णय एमाले र सूर्यबहादुर थापाका पालामा भएको छ, तर पनि त्यसको दोष कांग्रेसलाई लगाएर एमाले उम्कने दाउमा छ, हामीले सहकारी प्रकरणसँगै यो विषयलाई सदनमा उचाल्छौँ’, बैठकमा यो विषय उठेपछि एमाले आक्रोशित भएको थियो । 

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि गिरीबन्धु टि–स्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको बताएका थिए ।

‘नेपाली कांग्रेस कुनै सहमतिको पक्षमा छैन भन्ने कुरा पछिल्ला दिनका घटनाक्रम र अभिव्यक्तिले संकेत गरिरहेका छन् । विशेषगरी असान्दर्भिक, अनुचित, आधारहीन र पूर्वाग्रहपूर्ण आरोप लगाउँदै राष्ट्रिय राजनीतिलाई बिथोल्ने काममा लागेको छ,’ बैठकपछि पौडेलले भने । 

साथै उनले प्रायोजित, भ्रामक, प्रतिशोधपूर्ण, आधारहीन लान्छना कांग्रेसले घोषणा गरिरहेको बताए । 

‘पछिल्ला दिनमा नेकपा एमाले र विशेषगरी पार्टी अध्यक्षविरुद्ध प्रायोजित, भ्रामक, प्रतिशोधपूर्ण, आधारहीन लान्छना घोषणा गरिरहेका छन् । सबैभन्दा पहिला कांग्रेसलाई यस्ता लान्छनाबाट पछि हट्न आग्रह गर्न चाहन्छ’, उनले भने । 

यदि नेपाली कांग्रेस यस्ता अभिव्यक्तिबाट पछि हट्दैन भने नेकपा एमाले त्यस्ता अभिव्यक्तिविरुद्ध प्रतिवादमा उत्रने उनले चेतावनी दिएका छन् ।

तर कांग्रेसले सहमति भाड्न एमाले आफैँ लागेको जनाएको छ । संघीय संसद् भवनमा गत साता पत्रकार सम्मेलन गरी महामन्त्री गगन थापाले रास्वपा सभापति एवं उपप्रधान मन्त्री तथा गृहमन्त्री लामिछानेको सहकारी प्रकरण एमालेले नउठाउने र एमालेमाथि लागेको गिरीबन्धु टि–स्टेट प्रकरण राष्ट्रिय स्वतन्त्र पार्टीले नउठाउने सहमति गरेकाले गृहमन्त्री लामिछानेले सहकारीको ठगीबारे आफूमाथि लागेको आरोप छानबिन गर्न गठित समितिमा आफू नरहने बताएको दाबी गरेका थिए । 

सहकारी प्रकरणमा एमालेले साथ दिने भएकाले रास्वपाका सभापति लामिछानेलाई चिन्ता नभएको थापाको भनाइ थियो । 

‘सरकारलाई अविश्वास गर्नेहरूले सरकारले बनाएर हुन्छ, समिति बनाउनु पर्छ भन्छ । यहाँ त सरकारको गृहमन्त्री नै के भनिराख्नु भएको छ भने यसमा समिति बनाउने भनिराख्नु भएको छ । म आज यहीँबाट भन्छु–बनाउने हो । ल बनाउ । आज उहाँले जुन जुन विषयमा समिति बनाउने भन्नुभएको छ । सबैमा समिति बनाए हुन्छ,’ थापाले भने, ’अनि उहाँले आज के भन्नु भयो भने मेरो बारेमा बनाएको समितिमा म बस्नु पर्दैन । हो, तपाई बस्नु नै पर्दैन । तपाईको काम अब एमालेले गरिदिन्छ । किनभने तपाईहरूको बीचमा एउटा राम्रो समझदारी बनेकै छ । एमालेले सहकारी नउठाउने, तपाईहरूले गिरिबन्धु नउठाउने । त्यसैले त्यसको बारेमा धेरै चिन्ता भएन ।’

कांग्रेस बालुवाटार बैठकमा सहकारी ठगीसँगै गिरीबन्धु टि–स्टेटको जग्गामा भएको नीतिगत भ्रष्टाचारलाई पनि महत्वकासाथ उठाएको थियो । 

सहकारी ठगी प्रकरणमा कांग्रेसले पुरानो अडान कायमै राखेको छ । रवि र गोर्खा मिडियाको नाम उल्लेख नभएसम्म टीओआर बन्न नसक्ने अडान कायमै रहेको कांग्रेस सांसद जीवन परियारले बताए । 

उनका अनुसार आजै साँझसम्म डेड लक अन्त्य गर्नेगरी प्रधानमन्त्रीले छलफल अघि बढाएका भए पनि त्यति सकारात्मक हुन सक्ने अवस्था छैन । ‘प्रधानमन्त्रीज्यूले संसद्को डेडलक अन्त्य गर्नुपर्छ भनेर भन्नुभएको छ । सम्भवतः साँझसम्म थप छलफलको लागि बोलाउनुहुन्छ । हामी पनि आन्तरिक छलफलमा छौँ,’ बालुवाटार बैठकपछि सांसद परियारले भने ।  

साथै उनले प्रधानमन्त्रीले संसद्को गतिरोध अन्त्य गर्नेगरी लागेको भए पनि सत्तापक्षकै अन्य दल समाधानको काम अल्झाइरहने अवस्थामा देखा परेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ