arrow

नेपाल–भारत निगरानी संयन्त्रको पहिलो बैठक सम्पन्न

logo
प्रकाशित २०७३ मंसिर १५ बुधबार
nepal-india-flag.jpeg
काठमाडौँ । नेपाल–भारत निगरानी संयन्त्रको पहिलो बैठक मंगलबार काठमाडौंस्थित परराष्ट्र मन्त्रालयमा सम्पन्न भएको छ । बैठकमा नेपालको तर्फबाट परराष्ट्र सचिव शङ्करदास बैरागी र भारतका तर्फबाट नेपालका लागि भारतीय राजदूत रणजीत रायले नेतृत्व गरेका थिए । बैठकमा दुवै देशका परियोजना कार्यान्वयन निकायका अधिकारीहरुको पनि सहभागिता रहेको थियो । 
 
प्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’ ले गत भदौमा गरेको भारतको राजकीय भ्रमणका अवसरमा दुई देशबीच सञ्चालनमा रहेका आर्थिक र विकास परियोजनाहरुको पुनरावलोकन तथा शीघ्र कार्यान्वयनका लागि आवश्यक पहल गर्न निगरानी संयन्त्र स्थापना गर्ने सहमति भएको थियो । 
 
बैठकमा भारत सरकारको सहयोगअन्तर्गत कार्यान्वयनमा रहेका अन्तरदेशीय रेल्वे परियोजना, एकीकृत चेकपोस्ट, अन्तरदेशीय प्रशारण लाइन, अरुण तेस्रो र माथिल्लो कर्णाली जलविद्युत् परियोजना, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, हुलाकी सडक, पुनःनिर्माणलगायतका परियोजनाहरुको प्रगतिको पुनरावलोकन गरिएको थियो । 
 
सौहाद्रपूर्ण वातावरणमा भएको सो बैठकमा दुवै देशका प्रतिनिधिमण्डलका प्रमुखहरुले द्विपक्षीय आर्थिक र विकास परियोजनाहरुको कार्यान्वयनमा देखिएका कठिनाइहरुलाई समाधान गर्दै समयमै सम्पन्न गर्ने कुरामा जोड दिए । संयन्त्रको अर्को बैठक आगामी माघमा हुने परराष्ट्र मन्त्रायले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ