arrow

मिडियामा नैतिकताबारे छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १५ मंगलबार
media-ethics-2081-2.jpg

काठमाडौँ । नेपाली आमसञ्चार माध्यममा मिडिया नैतिकता (इथिक्स) का समकालीन मुद्दाबारे वरिष्ठ सञ्चारकर्मी, प्राध्यापक तथा नियमनकारी निकायहरूबीच छलफल भएको छ ।

कान्तिपुर सिटी कलेज, आमसञ्चार तथा पत्रकारिता विभागमा भएको उक्त कार्यक्रममा बोल्दै सञ्चारविज्ञ प्रा.रामकृष्ण रेग्मीले पत्रकारिताको नैतिकतामा अब एबीसी (सत्य, सन्तुलित र विश्वसनीयता) ले नपुग्ने र यसलाई बृहत्तर रूपमा हेनुपर्ने बताए । “अब आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले कन्टेन्ट उत्पादन गर्ने पृष्ठभूमिमा मिडिया क्षेत्र कसरी नैतिक धरातलमा उभिने भन्ने चुनौती रहेको छ”, प्रा.रेग्मी भन्छन्, “आचारसंहिता मात्रले यस्ता प्राविधिक नवीनतालाई समेट्न सकेको छैन ।” यससँगै उनले मिडिया नैतिकताका विषयमा थप र निरन्तर बहस अघि बढाउन सुझाव दिए । 

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले समग्र पत्रकारिताको धार नै कमजोर भएको बताए । सजिलो पत्रकारिता गर्न खोज्दै गर्दा आचारसंहितामा ध्यान नपुगेको भन्दै अध्यक्ष बस्नेतले भने, “हामीसँग भएको आचारसंहिता पालना नै प्रमुख कुरा छ, चुनौतीपूर्ण छ ।” उनी थप्छन्, “हामी पत्रकारहरू आफैँले आफ्नो धर्म निर्वाह गरिरहेका छैनौँ ।”

कार्यक्रममा सञ्चारविज्ञ डा. भानुभक्त आचार्यले मिडियामा विभिन्न समूहको निहित स्वार्थ जोडिनु नै नैतिकताविरुद्ध भएको बताए । “मनिटाइजिङमा केन्द्रित रहेर सन्दर्भ हटाएर समाचारलाई सनसनीपूर्ण बनाउनु पीतपत्रकारिताको उग्र रूप हो,” क्यानाडाको ओटावा विश्वविद्यालयमा प्राध्यापनरत डा. आचार्य भन्छन्, “समाचारमा सबैभन्दा महत्वपूर्ण कुरा माथि राख्ने शैली हुन्छ, तर अहिले मूल तथ्य लुकाउने वा भिडियोको अन्तिममा राख्नेजस्ता परिपाटीले यसलाई उल्ट्याएको छ । यो नैतिक कसीमा मेल खाँदैन ।”

वरिष्ठ सञ्चारकर्मी बबिता बस्नेत प्रश्न गर्छिन्, “समाचारमा एजेन्डा कसले ‘सेट’ गरिरहेको छ ? यो अहिलेको ठूलो प्रश्न हो, जसले मिडियाको नैतिकताको प्रश्नलाई सम्बोधन गर्न सहयोग गर्छ ।” 

अनलाइन वा सामाजिक मिडियामा विशेषतः महिलाहरूप्रतिको दृष्टिकोण नकारात्मक भएका कारण झन् यसलाई नियमन गर्न आवश्यक देखिने उनको कथन छ । 

त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका सह–प्राध्यापक डा. कुन्दन अर्याल भन्छन्, “आज मिडियाबाटै मिडिया स्वतन्त्रता र नैतिकतामा खतरा छ ।” सञ्चार माध्यममा विश्वसनीयता भएन भने मिडिया क्षेत्र प्रभावित हुने उनको तर्क छ । 

कार्यक्रमको मध्यस्तकर्ता आभास धरानन्द राजोपाध्यायले तथा समापन मन्तव्य कलेजका व्यवस्थापकीय निर्देशक डा. प्रल्हाद कार्कीले दिए । 

“क्लासरुमलाई न्यूजरुमसँग जोड्न र मिडियालाई अझ उत्तरदायी बनाउन यस किसिमका बहस महत्वपूर्ण हुन्छ,” कलेजको आमसञ्चार तथा पत्रकारिता विभागका कार्यक्रम सहनिर्देशक राजीव तिमल्सिनाले भने ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ