arrow

वर्षमानलाई प्रश्न – ‘जनार्दन शर्मासँग जुँगाको लडाइँले करको दरमा हेरफेर गर्नुभएको हो ?’

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १६ बुधबार
barshaman-budget-81-2-16.jpg

काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत् सरकारले केही करका दरहरुमा हेरफेर गर्यो । खासगरी स्पञ्ज आइरनमा कर बढाउनु, आलु र प्याजमा लाग्दै आएको भन्सार हटाउनु, इलेक्ट्रिक भेहिकलमा कर बढाउने विषयले अहिले बजार तताएको छ । 

२ वर्ष अगाडि माओवादीबाटै जनार्दन शर्मा अर्थमन्त्री हुँदा स्पञ्ज आइरनमा लाग्दै आएको कर घटाएका थिए । उक्त करको दरलाई वर्षमान पुनले बढाइदिएका छन् । यसअघि स्पञ्ज आइरन आयात गर्दा १ प्रतिशत भन्सार महशुल लाग्दै आएको थियो । यसलाई अब २.५ प्रतिशत पुर्याइएको छ । 

त्यस्तै, इलेक्ट्रिक भेहिकलमा यसअघि लाग्दै आएको करलाई पनि औसत १० प्रतिशतसम्म मूल्य वृद्धि हुनेगरी बढाइदिएका छन् । इलेक्ट्रिक भेहिकलको कर डा युवराज खतिवडा अर्थमन्त्री हुँदा घटाइएको थियो । जनार्दन शर्मा हुँदा यसलाई निरन्तरता दिइएको थियो । यसअघि प्रकाशशरण महतले यो कर बढाउने तयारी गरे पनि बढाइएको थिएन । 

उता अघिल्लो वर्ष डा प्रकाशशरण महत अर्थमन्त्री हुँदा सरकारले आयातित आलु, प्याज, स्याउ लगायतमा मूल्य अभिवृद्धि कर लगाउने निर्णय गरेको थियो । त्यसलाई यो वर्ष खारेज गरिएको छ ।

यसरी यसअघिका निर्णयहरु उल्ट्याएको विषयमा बुधबार अर्थमन्त्री पुनसँग मिडियाकर्मीहरुले जवाफ मागेका थिए । कतिपयले स्पञ्ज आइरनको कर वृद्धि जनार्दन शर्मासँगको जुँगाको लडाइँ हो ? भनेरसमेत प्रश्न गरेका थिए । 

अर्थमन्त्री पुन र उनको कर्मचारी टिमले सबै करको विषयमा यथेष्ट जवाफ दिने प्रयास गर्यो । स्पञ्ज आइरन बिलेटको विकल्प नभएको तथा स्पञ्ज आइरनले गर्ने मूल्य अभिवृद्धिलाई समेत विचार गरेरै विलेटभन्दा एक तल कम मूल्य अभिवृद्धि कर लगाइएको राजश्व सचिव रामप्रसाद घिमिरेले बताए । 

त्यस्तै, आलु र प्याजमा पोहोर कर लगाएर आन्तरिक उत्पादनको संरक्षण गर्न खोजे पनि व्यवहारिक कठिनाइका कारण त्यसलाई हटाउनुपरेको उनले बताए । ‘एकतिर कुन आलु प्याज आयाततीत हो र कुन आन्तरिक हो भनेर छुट्याउन नसक्ने अवस्था भयो, अर्कोतिर आलु प्याज जस्ता वस्तुमा भन्सार लगाउँदा तल्लो तहका नागरिकमा सीधै असर गर्ने देखियो, त्यसैले करको दर हटाएका हौं ।’

उनले पेट्रोलियम पदार्थका ०.५० पैसाका दरले हरित कर लगाएर नयाँ सुरुवात गरेको भन्दै यसले जनतामा ठूलो भार नथप्ने राजश्व सचिव घिमिरेको भनाइ थियो । ईलेक्ट्रिक भेहिकलमा गरिएको कर समायोजन पनि अनुमानयोग्य भएको र यसले खपतमा ठूलो असर नगर्ने उनले बताए । 

‘हामीले शुरुमा धेरै नै उत्साहित भएर कर छुट दियौँ । कुनै न कुनै समयमा यो करेक्सन गर्नै पथ्र्यो,’ घिमिरेले भने, ‘हामीले यो वर्षदेखि यसको शुरुआत गरेका हौँ ।’

अर्थमन्त्री पुनले राजनीतिक गतिरोधका बाबजुत आफूले संयमित र सन्तुलित बजेट ल्याएको र बजारले त्यही अनुसार रेस्पोन्स गरेको भन्दै खुशी व्यक्त गरे । जनार्दन शर्मा र अन्य अर्थमन्त्रीसँग जुँगाको लडाइँ भएको भन्ने प्रश्नको जवाफ दिँदै उनले भने, ‘मेरो त जुँगा नै छैन, जुँगा भएको भए पो लडाइँ हुनु, त्यसैले यस्तो केही पनि होइन ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ