- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नागरिकताको विषयमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले सिरोहियालाई हिरासत मुक्त गरेको हो ।
उनलाई थप अनुसन्धानका लागि हिरासतमा राखिरहन नपर्ने भनी जिल्ला सरकारी वकिलको कार्यालयले गरेको निर्णयका आधारमा हाजिरी जमानीमा छोडिदिएको सिरोहियाका वकिल रमन कर्णले मिडियालाई बताएका छन् ।
सिरोहियालाई काठमाडौं थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाट गत साता जेठ ८ गते मंगलबार प्रहरीले पक्राउ गरी नागरिकता सम्बन्धमा अनुसन्धान गर्न भन्दै स्थलमार्गबाट धनुषा लगेको थियो ।
अदालतबाट तीन पटकमा ९ दिन म्याद थपेर हिरासतमा राखिएका सिरोहियालाई तथ्य, प्रमाण र आरोपको गाम्भीर्यता हेरेर सरकारी वकिलको कार्यालयले आफन्तको जमानीमा छोड्ने निर्णय गरेको हो ।
उनलाई गत शुक्रबार ११ गते उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि हिरासतबाट अस्पताल भर्ना गरिएको थियो । प्रादेशिक अस्पतालमा न्युरोलोजी लगायतको परीक्षण सुविधा नभएकाले काब्या अस्पतालमा सिरोहियालाई सारिएको थियो ।
मुटुमा समस्या देखिएपछि मुम्बईमा एन्जिओग्राफी गराएका सिरोहियालाई काब्या अस्पतालले ललितपुरको मेडिसिटी अस्पताल रिफर गरेपछि जेठ १५ गते मंगलबार ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।
सहकारी ठगीलगायत विषयमा श्रृंखलाबद्ध प्रमाणसहित समाचार प्रकाशित गरेको प्रतिशोधमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा सिरोहिया पक्राउ परेको धेरैको आँकलन छ ।
लामिछानेले गोर्खा मिडिया नेटवर्कसँग सम्बन्धित सहरकारी ठगी सम्बन्धी सोधपूर्ण समाचार कान्तिपुरले प्रकाशित गरेकोमा प्रतिशोध साँधेर सिरोहियाको नागरिकताको विषय झिकेको कान्तिपुरको दाबी छ ।