arrow

एमालेले पत्रकारसँग गर्‍याे गोप्य बैठक

एमालेविरुद्ध मोर्चाबन्दी भयो : सचिव ज्ञवाली

logo
प्रकाशित २०७३ मंसिर १५ बुधबार
UML-office.jpg.jpeg

काठमाडौं । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनको सशक्त प्रतिवाद गर्ने बताइरहेको विपक्षी एमाललेले पत्रकारसँग गोप्य छलफल गरेको छ ।

वुधबार बिहान पार्टी कार्यालयमा एमालेले आफु निकटका पत्रकारहरुलाई बोलाएर अनौपचारिक छलफल गरेको हो । पत्रकारहरुसँगको छलफलमा एमाले संसदीय दलका उपनेता सुभासचन्द्र नेम्वाङ, उपाध्यक्ष भीमरावल, सचिव प्रदीप ज्ञवाली लगायत थिए । बैठकमा पार्टी अध्यक्ष केपी ओली भने सहभागि नभएको बताइएको छ ।

छलफलमा सहभागि सचिव ज्ञवालीले हाम्राकुरासँग भने, ‘सरकारले चालेको पछिल्लो कदमबारे अनौपचारिक छलफल भयो । पत्रकारसँगको भेटघाट औपचारिक थिएन । अब के गर्ने कुन् मनस्थिति बनाउने भन्नेबारे कुरा भयो ।’ पत्रकारसँग छलफल गर्नुको कारण ज्ञवालीले भनेनन् । यद्यपि, स्रोतले एमालेको रणनीति आफुविरुद्धको मोर्चाबन्दी फुटाउने मुख्य हतियार मिडिया र जनआह्वान नै रहेको भनि छलफल भएको बताएको छ ।

केही दिनअघि एमाले सरकारमा आउने चर्चा भएको थियो भने, संशोधन आउनु अघि पुष्पकमल दाहालले राजीनामा दिन चर्चा पनि चलेको थियो । ज्ञवालीले भने एमाले अहिले सरकारमा आउने चाहानामा नरहेको बताए । उनले भने, ‘मध्ये रातमा किन संशोधन दर्ता गरियो ? एमालेविरुद्ध मोर्चाबन्दी भयो । यो ठिक छैन भनेर हामीले छलफल गरेको हो । पार्टीको आधिकारिक धारणा र रणनीति संसदीय दलको बैठकले ल्याउला ।’

सचिव ज्ञवालीले मध्यरातमा विधेयक ल्याउनेको नियत सफा नभएको भन्दै अर्को दिन उज्यालो नै हुँदैन भन्ठानेर ल्याउनु अर्थपूर्ण छ भने ।  अनि एमाले अहिले के सोचिरहेको छ ? जवाफमा उनले भने, ‘पहिले देखि हामीले जे भनिरहेका थियौं । त्यसैमा छौं । हामीले हिजो सरकार परिवर्तनलाई सामान्य रुपमा लिएकै छैनौं । जब जब नेपालमा कुनै महत्वपूर्ण निर्णय हुन लाग्यो तब तब सरकार परिवर्तका नाउनमा प्रहार भएको छ ।

हाम्रो सरकारमाथि पनि त्यही प्रहार भएको थियो । संविधान संशोधनका लागि पनि त्यही खेल देखियो ।’ तपाई संविधान संशोधनलाई प्रायोजित भनिरहनु भएको छ ? उनले भने, ‘हो यो प्रायोजित नै हो । हिजो जे भएको थियो आज त्यही भइरहेको छ ।’ आधार के छ तपाईहरुसँग यो प्रायोजित भन्ने ? हाँस्दै उनले भने, ‘घटनाक्रमले देखायो नि ! यी प्रसस्त आधार हुन् । प्रायोजित होइन भने माओवादी कांग्रेसभित्रै त्यत्रो असन्तुष्टीहरु किन छन् ?–उनले प्रतिप्रश्न गरे ।’

यस्तै, उनले यो जानीजानी गरेको जालझेल हो भन्दै एमाले सशक्त प्रतिवाद गर्ने बताए । संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्ताव असफल बनाउन सदन र सडकमा प्रतिरोध गर्ने एमालेको चेतावनी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ