arrow

स्थानीय पुनर्संरचनाको भुमरीमा स्याङ्जा, जिल्लाका अधिकांश गाविस आन्दोलित

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ मंसिर १५ बुधबार
syangjaaanndolan1.jpeg
स्याङ्जा। स्थानीय तह पुनर्संरचनाको अन्तिम सिफारीस बनाएको स्याङ्जा आन्दोलनको चपेटामा परेको छ । ११ ओटा स्थानीय तह पुनर्संरचना निर्माण गर्ने अवसर पाएको स्याङ्जाका अधिकांश गाविसका नागरिकहरु आन्दोलनमा छन् । सुगमताको हिसावले निर्माण गर्नुपर्ने नयाँ स्थानीय तह पुनर्संरचनामा नागरिकलाई झनै दुर्गमताको बाटो अपनाइएको भन्दै राजनीतिकदलका नेतृत्व र जिल्ला प्राविधिक समिति प्रति असन्तुष्ट व्यक्त गर्दै चरणबद्ध आन्दोलनमा उत्रेका हुन् ।  
 
जिल्ला प्राविधिक समिति स्याङ्जाले ११ ओटा स्थानीय तह पुनर्संरचना निर्माण गरी केन्द्रीय समितिमा सिफारीस गरे लगत्तै राङ्भाङ् गाविसका जनता आन्दोलनमा उत्रदै आएका थिए । विभिन्न खाले आन्दोलन संचालन गरी अखण्ड राङ्भाङ्लाई पुतलीबजार नगरपालिकामा गाभ्नुपर्ने माग राख्दै आएका छन् ।
 
 दैनिक जसो जिल्ला विकास समितिमा धर्ना दिने अभियान स्याङ्जामा बढ्दै गएको छ । राङ्भाङ्का जनताको भावना विपरीत गाविसलाई टुक्राउने खेल भएको भन्दै आन्दोलन गर्नुपरेको राङभाङ् गाविसका जनताको भनाई छ । लेनदेन देखि अत्यन्तै पायक पर्ने पुतलीबजार नगरपालिकामा गाविसलाई नगाभेर अखण्ड गाविसलाई टुक्राउने काम भएकाले हाम्रो जनचाहना पुरा नभए सम्म आन्दोलन जारी रहने स्थानीय युवा शिलजंग केसी बताउछन् । 
 
राङभाङ जस्तै दैनिक धर्नामा बसेको स्वरेक गाविसका १, ५, ७ र ९ वडाका जनताले वालिङ नगरपालिकामा गाभ्नुपर्छ भन्दै आन्दोलित भएका छन् । स्वरेक गाविसका केही वडाहरु भिरकोट नगरपालिका र केही वडाहरुलाई वालिङ नगरपालिकामा गाभिएको छ । पायक पर्ने स्थानमा वडालाई मिलाउनु पर्नेमा झनै दुर्गमता तर्फ वडा गाभिएको भन्दै स्थानीयहरु चरणवद्ध आन्दोलनमा छन् । यता ज्याग्दोखोला गाँउपालिकाको माग गर्दै क्याक्मी, मल्याङ्कोट, चिन्नेवास र सेखाम गाविसका जनताले वालिङ बजारमा र्‍याली निकालेर आन्दोलन गरेका छन् । 
 
एक घण्टा चक्काजाम गरी सो गाविसका जनताले नारा जुलुस सहित र्‍याली पछि जिल्ला प्राविधिक समितिलाई ज्ञापनपत्र बुझाएका छन् । ज्याग्दीको इतिहास मेट्ने प्रयास गरिएको छ नेपाली काँग्रेस वालिङ नगर समितिका सभापति दिलिपप्रताप खाँणले भने,“आन्दोलनरतहरुलाई ज्याग्दी खोला गाँउपालिका नभए सम्म वालिङ नगरपालिकाले साथ दिने छ तपाईहरुको आन्दोलनले सार्थकता पाउने छ ।” अन्तिमा ज्याग्दीखोलाको हितमा निर्णय हुनेछ भन्दै खाँणले नेताहरुले पनि यस विषयमा ध्यानाकर्षण गर्न आग्रह गरे । 
 
जिल्ला प्राविधिक समितिले पठाएको स्थानीय पुनर्संरचना केही अवैज्ञानीक भएपनि केही गाविसका नागरिक भने खुशीयाली देखिएका छन् । सधै पायक पर्ने वालिङ र माझकोट गाविसको साइनोलाई यथावत राखेकोमा माझकोट गाविसका जनता भने खुशी भएका छन् । माझकोट गाविसका जनताले गरेको निर्णयलाई स्थानीय प्राविधिक समितिले चासोका साथ प्राथामिकता दिएको स्थानीय सत्त गुरुङ् बताउछन् । 
 
यस्तै व्यावस्थापीका सांसद धनराज गुरुङ्ले भने स्याङ्जावासीहरुलाई नआत्तिन आग्रह गरेका छन् । नयाँ संरचनामा जादा केही कठिनाई हुने भएकाले स्याङ्जावासीको हितमा हुने गरी स्थानीय पुनर्संरचना हुने गुरुङको भनाई छ । केही जनताको भावना विपरित पुनर्संरचना भएको भन्ने आफुले सुनेको र यसलाई सच्चाउन पनि आफ्नो तर्फबाट पहल हुने सांसद गुरुङको भनाई छ ।
स्याङ्जामा ५ नागरपालिका र ६ गाँउपालिका बन्ने गरी जिल्ला प्राविधिक समितिले सिफारीस गरेको छ । पुतलीबजार, भीरकोट, वालिङ, चापाकोट र गल्याङ नगरपालिका हुनेगरी सिफारीस गरेको छ । गल्याङ नगरपालिका भने नयाँ प्रस्तावित नगरपालिका हो । आँधीखोला, अर्जुनचौपारी, फेदीखोला, विरुवा, हरिनास र मिर्मि गाँउपालिका रहने गरी सिफारीस गरेको छ । अहिले सम्म पुतलीबजारमा र वालिङ नगरपालिकामा गाभ्नुपर्ने अधिकांश गाविसहरुले आन्दोलन गर्दै आएका छन् भने ज्याग्दी गाँउपालिका बन्नुपर्ने माग राख्दै ५ गाविसका जनता आन्दोलनमा छन् । 
 
स्थानीय जनताको आन्दोलन र मागलाई समयमै सुनुवाई नहुने हो भन्ने स्याङ्जामा ठुलो आनदोलनको भुमरी आउने सम्भावना उत्तिकै देखिन्छ । त्यसैले जिल्लाका राजनीतिकदल र जिल्ला प्राविधिक समितिले बेलैमा जनताको मागलाई सम्वोधन गर्नु जरुरी देखिन्छ । 
 
गाँउपालिकाको माग : ज्याग्दीखोला गाँउपालिका बनाउनु पर्ने माग राख्दै आन्दोलनमा सहभागी भएका ४ गाविसका जनताहरु । क्याक्मी, चिन्नेवास, सेखाम, मल्याङकोट गाविसका जनताले ज्याग्दीखोला गाँउपालिकाको माग राख्दै आन्दोलनमा उत्रेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ