arrow

मेक्सिकोको पहिलो महिला राष्ट्रपति बनिन् शेनबाम

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २१ सोमबार
claudia-sheinbaum-mexico-president-afp.jpg

मेक्सिको सिटी । मेक्सिकोको पहिलो महिला राष्ट्रपतिमा क्लाउडिया शेनबाम निर्वाचित भएकी छिन् । मेक्सिको सिटी निवासी ६१ वर्षीया पूर्व मेयर तथा प्रशिक्षणद्वारा वैज्ञानिक बनेकी उनले ५८ देखि ६० प्रतिशत मत प्राप्त गरेको ‘नेसनल इलेक्टोरल इन्स्टिच्युट’ले जनाएको छ ।

विशेष गरी दुई दर्जनभन्दा बढी आकांक्षी स्थानीय राजनीतिज्ञहरूको हत्या भएको रक्तपातपूर्ण चुनावी प्रक्रियापछि भएको निर्वाचनमा मेक्सिकोले महिला नेतृत्व पाएको छ । मतदाताहरूको सुरक्षाका लागि हजारौँ सैनिकहरू तैनाथ गरिएको थियो ।

शेनबामले प्राप्त गरेको मत प्रतिशत मुख्य प्रतिद्वन्द्वी जोचिटल गाल्भेजभन्दा ३० प्रतिशत अंक भन्दा बढी हो भने लामो समयदेखि मध्यमार्गी जोर्ज अल्भारेज मेनेजभन्दा ५० प्रतिशत अंक बढी हो । 

निर्वाचनमा अति हिंसात्मक लागुऔषध गिरोहले आतङ्कित पारेका क्षेत्रहरूमा छिटफुट हिंसाका बावजुद ल्याटिन अमेरिकी राष्ट्र मेक्सिकोभरिका मतदान केन्द्रहरूमा मतदाताहरूको भीड लागेको थियो ।

उनले आफू निर्वाचित हुन पहिले नै मतदान भएको दिनलाई ‘ऐतिहासिक दिन’ का रूपमा घोषणा गरेकी थिइन् । 

मतदानपछि शेनबामले आफूलाई आफैँले दिएको मत आफ्नो जीतका लागि नभई ९३ वर्षीया अग्रज वामपन्थी नेता इफिजेनिया मार्टिनेजको सम्मानका लागि भएको बताएकी थिइन् । 

“लोकतन्त्र दीर्घकालसम्म रहिरहनेछ,” शेनबामले आफू निर्वाचित बनेपछि शुभचिन्तक तथा सहयोगी कार्यकर्ताको भीडलाई सम्बोधन गर्दै घोषणा गरिन् । 

हरेक दिन करिब १० जना महिला वा बालिकाको हत्या हुने मेक्सिकोको सबैभन्दा अग्लो राजनीतिक सिसाको छाना एक महिलाले तोडेको भन्दै विजय र्यालीमा सहभागी महिलाले खुशी व्यक्त गरेका छन् ।

मेक्सिको सिटीकी ५५ वर्षीया क्लिनर क्लेमेन्सिया हर्नान्डेजले भनिन्, “नवनिर्वाचित महिला राष्ट्रपति शेनबाम यो देशका लागि परिवर्तनको बाहक बन्नुहुनेछ । उहाँले महिलाका लागि अझ धेरै काम गर्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौँ ।”

उनले भनिन्, “मेक्सिकोमा धेरै महिला आफ्ना जीवनसाथीको अधीनमा छन् । उनीहरूलाई कामका लागि घरबाट बाहिर निस्कन दिइएको छैन । यस्तो अवस्थामा एक महिला देशको सर्वोच्च राजनीतिक पद धारण गर्नसक्नु समस्त महिलाहरूको विजय हो ।” 

यो निर्वाचनबाट नयाँ राष्ट्रपति चयनसँगै संसद सदस्य, गभर्नर र असङ्ख्य स्थानीय अधिकारी चयनसहित कुल २० हजारभन्दा बढी पदहरूमा जनप्रतिनिधिको चयन भएको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ