arrow

भारतमा लोकसभा निर्वाचनको मतगणना

के ‘एग्जिट पोल’ को दाबी वास्तविकतामा परिणत होला ?

बिहान ८ बजेपछि मतगणना, १२ इग्जिट पोलमा फेरि मोदी सरकार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २२ मंगलबार
narendra-modi-24-always.jpg
तस्बिर – फाइल ।

नयाँदिल्ली । भारतमा भएको १८ औँ लोकसभा निर्वाचनको मतगणना आज हुँदैछ । स्थानीय समयअनुसार बिहान ८ बजेदेखि मतगणना शुरु हुन लागेको हो । 

गत १९ अप्रिलदेखि शुरु भएको भारतको इतिहासमै सबैभन्दा लामो चुनाव सात चरणमा सकिएको थियो । चुनाव सकिएपछि गरिएको इग्जिट पोलअनुसार नरेन्द्र मोदीले लगातार तेस्रो कार्यकाल सरकार बनाउने देखाएको छ । 

विभिन्न एक दर्जन एग्जिट पोलले नरेन्द्र मोदीले नै सत्ता सञ्चालनमा ह्याट्रिक गर्ने देखाएको हो । 

भारतीय जनता पार्टीको गठबन्धनले ३७० लेखि ४०० सम्म सिट जित्ने दाबी भइरहेको छ । बिहान ८ बजेपछि ५४२ सिटको लागि मतगणना हुँदैछ । 

५४३ सिटमध्ये एक सिटमा भाजपा निर्विरोध निर्वाचित भइसकेको छ । सन् १९४२ पछि पहिलो पटक यो चुनाव सबैभन्दा लामो ४४ दिनको भएको हो । 

सन् १९५२ मा चुनाव ४ महिना चलेको थियो । गत जनवरी १ तारिख (शनिबार जेठ १९ गते) चुनाव सकिएपछि सार्वजनिक गरिएका एग्जिट पोलमा भाजपाको गठबन्धन एनडीएले नै सरकार बनाउने बताएको छ । 

के एग्जिट पोलको नतिजा एग्जाट रिजल्ट (वास्तविकता) मा बदलिएला त ? भन्ने रहेको छ । यसको प्रतिक्षा केहीबेरपछिको चरणले नै देखाउने छ । 

१२ एग्जिट पोलले एनडीएलाई ३५० भन्दा बढी सिट आउने दाबी गरेअनुसार २४२ सिटका लागि भएको मतदानमा बहुमतका लागि २७२ सिट जिते पुग्छ । 

एसएएएम–जनकी बातले एनडीएलाई ३७७ सिट जित्ने दाबी गरिरहँदा आईएनडीआईएलाई मात्र १५१ सिट जित्ने बताएको छ । त्यस्तै अन्यमा मात्र १५ सिट जित्ने दाबी गरिएको छ । 

इन्डिया न्यूज–पोलस्ट्रेटले एनडीएलाई ३७१ सिट तथा आईएनडीआईएलाई मात्र १२५ सिट जाने बताएको छ । अन्यले ४७ सिट जित्ने अनुमान छ र 

रिपब्लिक भारत– म्याट्रिजले एनडीएलाई ३६१ सिट जित्ने बताएको छ भने आईएनडीआईएले १२६ सिट जित्ने बताएको छ । अन्यले ५६ सिट जित्ने बताएको छ । 

रिपब्लिक टीभी–पी एमएआरक्यूले एनडीएले ३५९ तथा आईएनडीआईएले १५४ सिट जित्ने बताएको छ । अन्य दलले मात्र ३० सिट जित्नेछन् । 

इन्डिया न्यूज – डी डायनामिक्सले एनडीएलाई ३७१, आईएनडीआईएलाई १२५ तथा अन्यलाई ४७ सिट जाने बताएको छ । 

न्यूज नेशनले एनडीएले ३६०, आईएनडीआईएले १६१ तथा अन्यले २२ सिट जित्ने बताएको छ । 

यसअघि चुनाव शुरु हुनुअघि इन्डिया टुडे ग्रुपले सी–भोटरसँग मिलेर गरेको सर्वे अनुसार मोदीले सन् २०१४ देखि अहिलेसम्म दुई पटक सरकारको नेतृत्व गरिसकेका छन् । उनको काम र शैलीसँगै उनको प्रसिद्धिका कारण पनि भाजपाले तेस्रो पटक मोदीको नेतृत्वमा सरकार बनाउने दाबी गरिएको थियो । 

५४३ सिटमध्ये एनडीएले ३३५ सिट जित्ने अनुमान गरिएको छ । कांग्रेस आई सम्मिलित इन्डिया ब्लकको खातामा १६६ तथा अन्यलाई ४२ सिट जाने अनुमान गरिएको छ । 

भाजपा एक्लै लड्दासमेत ३०४ सिट जित्ने सर्वेक्षणले दाबी गरेको छ । कांग्रेसले ७१ तथा अन्य दलहरुले १६८ सिट जित्ने अनुमान गरिएको छ । 

सातौँ चरणको लेखाजोखा
सातौँ चरणमा ७ राज्य र १ केन्द्र शासित प्रदेशको गरी ५७ सिटका लागि मतदान भएको हो । 

सन् २०१९ मा यी सिटका लािग सबैभन्दा बढी भाजपाले २५, टीएमसीले ९, बिजदले ४, जेडीयू र अपना दलले २–२, जेएमएमले १ सिट जितेको थियो । कांग्रेसले पञ्जाबबाट ८ सिट जितेको थियो । 

यो चरणमा प्रधानमन्त्री नरेन्द्र मोदी, पाँच केन्द्रीय मन्त्रीहरु आरके सिंह, अनुराग ठाकुर, अनुप्रिया पटेल, महेन्द्रनाथ पाण्डेय र पंकज चौधरी मैदानमा छन् । 

त्यस्तै चार अधिनेताहरु कंगना रनोट, रवि किशन, पवन सिंह र काजल निषाद पनि चुनावी मैदानमा छन् । 

यसबाहेक ममता बनर्जीका भतिजा अभिषेक बनर्जी, अफजाल अन्सारी, विक्रमादित्य सिंह पनि भाग्य तय गर्दैछन् । 

चुनाव आयोगका अनुसार सातौँ चरणमा ९०४ उम्मेदवार चुनावी मैदानमा रहेका छन् । जसमा पुरुष ८०९ तथा महिला ९५ रहेका छन् । 

छैटौँ चरणमा ६२ प्रतिशत मतदान
मे १५ तारिख शनिबार भएको छैटौँ चरणको मतदानमा ६२ प्रतिशतमात्र मत खसेको छ । ८ राज्यका ५८ सिटमा मतदान भएको हो । सात राज्य र एक केन्द्र शासित प्रदेशमा मतदान भएको हो । 

जम्मू–कश्मीरको अनन्तनाग–राजौरी सिटमा तेस्रो चरणमा चुनाव हुनुपर्ने थियो । त्यतिबेला स्थगित भएको मतदान छैटौँ चरणमा भएको हो । 

छैटौँ चरणमा ६१.७६ प्रतिशत मतदान भएको चुनाव आयोगले जनाएको छ । पश्चिम बंगालमा सबैभन्दा बढी ८०.०६ प्रतिशत र जम्मू कश्मीरमा सबैभन्दा कम ५४.४६ प्रतिशत मत खसेको छ । 

यो चरणमा तीन केन्द्रीय मन्त्री धर्मेन्द्र प्रधान, कृष्णलाल सिंह गुर्जर र राव इन्द्रजित सिंह मैदानमा छन् । ३ पूर्व मुख्यमन्त्री महबुबा मुफ्ती, मनोहरलाल खट्टर र जगदम्बिका पाल पनि चुनाव लडेका छन् । 

योसँगै मनोज तिवारी, मेनका गान्धी, नवीन जिन्दल, राज बब्बर, निरहुवा पनि चुनावी मैदानमा छन् । 

चुनाव आयोगका अनुसार छैटौँ चरणमा ८८९ उम्मेदवार चुनाव लडेका छन् । जसमा ७९७ पुरुष तथा ९२ महिला हुन् । 

सबैभन्दा धनी भाजपाका हरियाणाको कुरुक्षेत्र सिटका नवीन जिन्दल हुन् । उनीसँग एक हजार २४१ करोड भारुको सम्पत्ति छ ।

सन् २०१९ मा यी सिटमा भाजपा ४०, बसपा ४, बजेडी ४, जेडीयू ३, टीएमसी ३, एलजेपी १, सपा १ र आजसूले १ सिट जितेको थियो । कांग्रेस र आपले खाता खोलेको थिएन । यसपालिको आँकलन भने रोमाञ्चक हुन सक्छ । 

पाँचौँ चरणको मतदान
पाँचौँ चरणको मतदान २० मेमा सकियो । ६ राज्य र २ केन्द्र शासित प्रदेशका ४९ सिटमा मतदान भएको हो । 

पाँचौँ चरणमा जम्मा ६३ प्रतिशत मतदान भएको छ । पश्चिम बंगालमा सबैभन्दा बढी ७६.०५ प्रतिशत तथा महाराष्ट्रमा सबैभन्दा कम ५४.३३ प्रतिशत मतदान भएको छ । 

यो चरणमा राजनाथ सिंह, स्मृति ईरानी र पियुष गोयलसहित नौ केन्द्रीय मन्त्री मैदानमा छन् । रायबरेलीबाट वायनाड सांसद कांग्रेस नेता राहुल गान्धी पनि चुनाव लडिरहेका छन् । 

चुनाव आयोगका अनुसार यो चरणमा ६९५ उम्मेदवार मैदानमा छन् । जसमा ६१३ पुरुष र ८३ महिला उम्मेदवार छन् । 

एसोसिएसन फर डेमोक्रेटिक रिफर्म (एडीआर) का अनुसार १५९ उम्मेदवारलाई आपराधिक आरोपका घटना दर्ता भएका छन् । 

३३ प्रतिशत उम्मेदवार करोडपति छन् भने एक उम्मेदवारको सम्पत्ति शून्य बताइएको छ । 

सन् २०१९ मा यी सिटहरुमा सबैभन्दा बढी भाजपाले ३२, शिवसेनाले ७, टीएमसीले ४ सिट जितेको थियो । 

कांग्रेसले केबल यूपीको रायबरेली सिट जितेको थियो । अन्यले पाँच सिट जितेको थियो । 

पश्चिम बंगालको बैरकपुर सिटमा भाजपा उम्मेदवार अर्जुन सिंहले टीएमसी उम्मेदवार पार्थ भौमिकमाथि पैसा बाँडेको आरोप लगाएका छन् । 

चौथो चरणको मतदान
चौथो चरणमा मे १३ तारिख सोमबार १० राज्य र एक केन्द्र शासित प्रदेश जम्मू–कश्मीरको ९६ सिटका लागि मतदान भएको थियो । 

योसँगै आन्ध्र प्रदेशको १७५ तथा ओडिशाको २८ विधानसभा सिटमा पनि मतदान भएको हो । 

यो चरणमा ५ केन्द्रीय मन्त्री चुनाव लडेका छन् । त्यसैगरी भारतका दुई सबैभन्दा धनी व्यक्तिहरु चुनावी मैदानमा छन् । आन्ध्र प्रदेशका के गुंटुरका टीडीपी प्रत्यासीसँग ५ हजार ७०५ करोड भारुको सम्पत्ति छ भने तेलंगानाको चेवेल्लका भाजपा प्रत्यासीसँग ४ हजार ५६८ करोड भारु सम्पत्ति छ ।

सन् २०१९ मा यो क्षेत्रमा भाजपाले ४२, वाईएसआर कांग्रेसले २२, बीआरएसले ९ तथा कांग्रेसले ६ सिट जितेको थियो । अन्यले १७ सिट जितेका थिए । 

चौथो चरणको मतदान सकिएपछि लोकसभामा ५४३ सिटमा ३८० सिटको मतदान सकिएको थियो ।  

तेस्रो चरणको मतदान 
मे ७ तारिखमा ११ राज्यमा ९३ सिटका लागि भएको मतदानमा ६८ प्रतिशत मत खसेको छ । चुनाव आयोगले ६७.९३ प्रतिशत मत खसेको छ । सन् २०१९ को चुनावमा तेस्रो चरणमा ११६ सिटमा मतदान भएकामा ६८.४० प्रतिशत मत खसेको थियो । 

चुनाव आयोगका अनुसार असममा सबैभन्दा बढी ८१.७१ प्रतिशत मत खसेको छ । उत्तर प्रदेशमा सबैभन्दा कम ५७ प्रतिशत मत खसेको छ । पश्चिम बंगालमा ७६.५२ प्रतिशत, गोवामा ७५.२० प्रतिशत तथा गोवामा ५९.५१ प्रतिशत मत खसेको छ ।  

पश्चिम बंगालमा भाजपा उम्मेदवार र टीएमसी समर्थकबचि झडप भएको छ । उत्तर प्रदेशको सम्भलमा पुलिसले लाठीचार्ज गर्दा केही घाइते भएका छन् । 

बिहारमा मतदानका दौरान पीठासिन अधिकारी तथा होमगार्ड जवानको मृत्यु भएको छ । 

छत्तीसगढको जशपुरमा मतदान गर्न पुगेका एक वृद्धको मृत्यु भएको छ । यो चरणको निर्वाचनमा ७ केन्द्रीय मन्त्री तथा ४ पूर्व मुख्यमन्त्री मैदानमा रहेकामा १० राज्य र एक केन्द्र शासित प्रदेशमा मतदान भएको हो । 

मैदानमा उत्रिएका ७ केन्द्रीय मन्त्रीहरुमा अमित शाह, स्वास्थ्य मन्त्री मनसुख मन्डाविया र मन्त्री ज्योतिरादित्य सिन्धियासमेत रहेका छन् । 

चुनाव आयोगका अनुसार तेस्रो चरणको निर्वाचनमा १ हजार ३५२ उम्मेदवार मैदानमा रहेका छन् । जसमा १ हजार २२९ पुरुष, १२३ महिला उम्मेदवार रहेका छन् । 

एसोसिएसन फर डेमोक्रेटिक रिफम्र्स (एडीआर) को रिपोर्ट २४४ उम्मेदवार आपराधिक छविका हुन् । ३९२ उम्मेदवार करोडपति छन् । 

प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमितकुमार शाहले यो चरणमा मतदान गरेका छन् । 

दोस्रो चरणको मतदान    
२६ अप्रिलमा भएको दोस्रो चरणको मतदान १३ राज्यका ८८ सिटमा भएको हो । ६८ प्रतिशत मतदान भएको चुनाव आयोगले जनाएको छ । 

दोस्रो चरणमा ६७.८८ प्रतिशत मतदान भएको हो । सबैभन्दा बढी त्रिपुरामा ७९.६६ प्रतिशत मतदान भएको छ । सबैभन्दा कम उत्तर प्रदेशमा ५४.५८ प्रतिशत मतदान भएको हो । वर्षाका कारणले पनि दोस्रो चरणमा कम मतदान भएको बताइन्छ । 

सन् २०१९ को निर्वाचनमा ७०.०५ प्रतिशत यो क्षेत्रमा मतदान भएको थियो । यसपालि लोकसभा अध्यक्ष, ५ केन्द्रीय मन्त्री, दुई पूर्व मुख्यमन्त्रीसँगै कांग्रेस नेता राहुल गान्धी तथा अभिनेत्री हेमा मालिनीसमेत मैदानमा छन् । 

राहुल गान्धी वायनाड, शशि थरुर तिरुअनन्तपुरम र हेमा मालिनी मथुराबाट चुनावी मैदानमा उत्रिएकी छिन् । 

दोस्रो चरणमा ८९ सिटमा मतदान हुनुपर्ने भए पनि मध्य प्रदेशको बैतुल सिटमा बसपाका प्रत्यासीको निधन भएपछि ८८ सिटमा मात्र भइरहेको हो । अब उक्त क्षेत्रमा ७ मे मा चुनाव हुनेछ । 

आउटर मणिपुरका केही भागमा पुनः मतदान भएको छ । चुनाव आयोगले यी सिटमा दुई चरणमा चुनाव गर्ने घोषणा गरेको थियो । 

सन् २०१९ मा दोस्रो चरणमा सबैभन्दा बढी भारतीय जनता पार्टी भाजपाको ५० तथा एडीए सहयोगी दललाई ८ सिट मिलेको थियो । कांग्रेसले २१ सिट तथा अन्यले ९ सिट जितेका थिए । 

चुनाव आयोगका अनुसार दोस्रो चरणमा १ हजार १९८ उम्मेदवार मैदानमा छन् । जसमा पुरुष १ हजार ९७ तथा महिला सय उम्मेदवार रहेका छन् । एक जना तेस्रो लिंगी रहेका छन् । 

एसोसिएसन फर डेमोक्रेटिक रिफर्म (एडीआर) का अनुसार यो चरणमा चुनाव लडिरहेका २१ प्रतिशत अर्थात् २५० उम्मेदवारविरुद्ध अपराध मुद्दा दर्ता भएको छ । 

३९० उम्मेदवार करोडपति छन् । ६ जनाको सम्पत्ति शून्य बताइएको छ । ५०० उम्मेदवारसँग एक हजार रुपैयाँको सम्पत्ति बताइएको छ । 

दोस्रो चरणमा केरलमा २०, कर्नाटकमा १४, राजस्थानमा १३, महाराष्ट्रमा ८, उत्तरप्रदेशमा ८, मध्यप्रदेशमा ६, असममा ५, बिहारमा ५, छत्तीसगढमा ३, पश्चिम बंगालमा ३, त्रिपुरामा १, जम्मूकश्मीरमा १ र मणिपुरमा १ सिटमा चुनाव भइरहेको छ । 

पहिलो चरणको मतदान
पहिलो चरणमा १९ अप्रिलमा २१ राज्यको १०२ सिटमा मतदान भएको थियो । ६८.२९ प्रतिशत मत खसेको चुनाव आयोगले जनाएको छ । सन् २०१९ को चुनावको  तुलनामा यसपालि १ प्रतिशत कम मत खसेको छ । २०१९ मा पहिलो चरणमा ९१ सिटमा ६९.४३ प्रतिशत मत खसेको थियो । 

यसपालि सबैभन्दा बढी लक्षद्वीपमा ८३ प्रतिशत र सबैभन्दा कम बिहारमा ४९ प्रतिशत मत खसेको छ । 

यससँगै अरुणाचल प्रदेशको ६० र सिक्किमको ३२ विधानसभा सिटका लािग पनि मतदान भएको छ । दुवै राज्यका एक एक लोकसभा सिटमा सँगसँगै मतदान भएको छ । अरुणाचलमा ७६.४४ तथा सिक्किममा ७९.८६ प्रतिशत मतदान भएको छ । 

मणिपुरको दुई लोकसभा सिट (मणिपुर इनर र मणिपुर आउटर) मा पनि पहिलो चरणमै मतदान भएको छ । 

आउटर सिटका केही भागमा २६ अप्रिलमा मतदान हुनेछ । जसमा आठ केन्द्रीय मन्त्री, एक पूर्व मुख्यमन्त्री र पूर्वराज्यपाल मैदानमा रहेका छन् । 

सन् २०१९ मा यिनै १०२ लोकसभा सिटमा भाजपाले ४०, डीएमकेले २४, कांग्रेसले १५ सिट जितेको थियो भने अन्यले २३ सिट जितेका थिए । यसपटक पनि यिनै तीन दलबीच मुख्य प्रतिस्पर्धा भएको छ । 

दुई राज्य पश्चिम बंगाल र मणिपुरमा भोटिङका क्रममा हिंसा भएको छ । कयौँ घाइते भएका छन् । 

मणिपुरमा पूर्वी इम्फाल जिल्लाको मोइरंगकम्पूमा भोटिङ मेसिन नै जलाइएको छ । 

नागाल्याण्डका ६ जिल्लामा मतदान लगभग शून्य भएको छ । मोन, लान्गलेङ, तुएनसांग, नोकलाक, शामाटोर र किफिरेमा शून्य मत खसेको हो । यो क्षेत्रमा इस्टर्न नागाल्याण्ड पिपुल्स अर्गनाइजेसनले अलग प्रशासन र पहिले भन्दा बढी वित्तीय स्वतन्त्रताको माग गरेको छ । यी जिल्लामा चुनाव वहिस्कार गर्न अर्गनाइजेसनले अपील गरेको थियो । 

पहिलो चरणमा १ हजार ६२५ उम्मेदवार मैदानमा रहेका छन् । जसमा पुरुष १ हजार ४९१ तथा महिला उम्मेदवार १३४ जना रहेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ