arrow

अमरगढी किल्लामा बडाकाजी थापाको शालिक अनावरण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २२ मंगलबार
oli-amargadi.jpg
तस्बिर-फाइल

डडेलधुरा । डडेलधुरा सदरमुकाममा रहेको ऐतिहासिक अमरगढी किल्लामा राष्ट्रिय विभूति अमरसिंह थापाको पूर्णकदको सालिक अनावरण गरिएको छ । बडाकाजी थापाको पुरानो शालिकलाई हटाएर नयाँ शालिक राखिएको हो । 

अमरगढी नगरपालिकाद्वारा सोमबार आयोजित कार्यक्रममा नगरप्रमुख डिल्लीराज जोशीले बडाकाजी थापाको पूर्णकदको नयाँ सालिक अनावरण गर्दै किल्लामा यसअघि राखिएको सालिकको अनुहार बडाकाजी थापाको अनुहारसँग मेल नखाने गुनासो आएपछि नयाँ पूर्णकदको सालिक राखिएको बताए । “धेरैले बडाकाजी थापाको अनुहारसँग किल्लामा रहेको सालिकको अनुहार नमिल्ने गुनासो गरेका छन् ।” उनले भने, “एक वर्षको प्रयासपछि अहिले नयाँ सालिक अनावरण गर्न सफल भएका छौँ ।” 

अङ्ग्रेजहरुसँगको लडाइ लड्न तयार भएको किल्लामा अमरसिंहको सेनाको फौज लामो समयसम्म बसेको इतिहासकार बताउँछन् । अमरगढी किल्ला , अजयमेरुकोट लगायतका धार्मिक क्षेत्र पनि यस जिल्लामा अवस्थित छन् । अमरगढी किल्ला जीवन्त किल्लाका रूपमा रहेको छ । नेपाल एकीकरणका बेला बडाकाजी थापाले डोटेली राज्यको डडेलधुरालाई आधार क्षेत्र बनाइ कुमाउ गडवालसम्म युद्ध लडेको इतिहास छ । रणबहादुर शाहको शासनकाल विसं १८४७ मा नेपाल एकीकरण शिलशिलामा डोटेली राज्यको नारी दाङमा युद्ध भएपछि विशाल डोटी राज्य नेपाल अधिराज्यमा गाभिएको इतिहास जानकार बताउँछन् ।

युद्धमा गोर्खाली फौजसँग डोटेली फौज पराजित भइसकेपछि यस भूभागको सुशासनलाई सुदृढ र विस्तार गर्न बडाकाजी थापा प्रथम प्रशासकका रूपमा यहाँ आएको बताइन्छ । ढुङ्गे किल्लाको निर्माण अमरसिंह थापा, काजी जगत पाण्डे, कप्तान गोलैया, कप्तान रणवीर खत्री, सुब्बा जोगनारायण मल्ल, सुब्बा फौदसिंह, सुग्विर खत्रीलगायतका सैनिक कमान्डरले १८औँ शताब्दीमा गरेको बताइन्छ । 

विसं २०५४ मा अमरगढी किल्लाको नामबाट स्थापना अमरगढी नगरपालिकाले विसं २०५६ मा किल्लालाई आफ्नो मातहतमा लिएको थियो । विसं २०५८ मा तत्कालीन नेकपा माओवादी युद्धका कारण जिल्लालाई सुरक्षा दिन सो किल्ला पुनः नेपाली सेनाले आफ्नो मातहतमा लिएपछि अवलोकन तथा हिँडडुलमा प्रतिबन्ध लगाइएको थियो । हाल सर्वसाधारणका लागि खुला गरिएको छ । 

दैनिक किल्ला अवलोकनका लागि बाह्य र आन्तरिक पर्यटक आउने गर्दछन् । सो अवसरमा परशुराम नगरपालिकाका प्रमुख भरत बडायर जोशी, सहायकरथी मनोज थापा, डडेलधुरा अमरगढी नगरपालिकाका पूर्वप्रमुख मोहनराज पाठक, जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजकर्मी, सञ्चारकर्मीलगायत उपस्थिति रहेको थियो । किल्लामा नेपाली सेनाको सहयोगमा ढुङ्गा छाप्ने काम पनि सम्पन्न भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ