arrow

राजनीतिक अस्थिरता मुलुक र जनताका लागि घातक : मुख्यमन्त्री पाण्डे

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २२ मंगलबार
surendra-panday-cm-gandaki-rss.jpg
तस्बिर-फाइल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लामो समयदेखि देखिएको राजनीतिक अस्थिरता मूलक र जनताका लागि घातक बनिरहेको बताएका छन् । 

गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय पोखराद्वारा आज पोखरामा आयोजित ‘दिगो विकासका लक्ष्य हासिल गर्न गण्डकी प्रदेशका स्थानीय तहबाट स्वास्थ्य क्षेत्रमा भएका नवीनतम कार्य’ सम्बन्धी अन्तक्र्रियामा उनले जनताका चाहना पूरा गर्न नसक्दा राजनीतिक दलहरुप्रतिको विश्वास कम हुँदै गएको उल्लेख गरे । 

“पछिल्लो समय प्रदेश सरकारमाथि त झनै प्रश्न उठिरहेको अवस्था छ”, मुख्यमन्त्री पाण्डेले भने, “प्रदेश सरकारप्रतिको नकारात्मक धारणालाई सकारात्मक बनाउन स्वाथ्यकर्मीले जागिरेका रुपमा नभइ सामाजिक सेवा भावले काम गर्न आवश्यक छ ।”

गण्डकी प्रदेश सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले आधारभूत स्वास्थ्य सेवाबाट कुनै पनि नेपाली नागरिक वञ्चित हुन नहुने बताए । ज्येष्ठ नागरिक, वालबालिका र सुत्केरीलाई सहुलियत दिने गरी उपचार गर्ने योजना ल्याउन लागिएको उनको भनाइ थियो । 

सङ्घीय सरकारले न्यून बजेट दिएका कारण प्रदेश सरकारले जनताको काम गर्न नसकेको मुख्यमन्त्री पाण्डेले बताए । प्रदेशभित्र विपन्नको निःशुल्क उपचार गर्न स्वास्थ्य संस्थाले मात्र नसक्ने भएकाले सहलगानीकर्ताको खोजी गर्दै उनीहरुलाई सेवा दिनुपर्नेमा उनले जोड दिए ।  

स्वास्थ्य बिमा प्रभावकारी बनाउन सके स्वास्थ्य क्षेत्रका समस्या समाधान हुने मुख्यमन्त्री पाण्डेको भनाइ थियो । 

गण्डकी प्रदेशका ११ जिल्लाका नगर तथा गाउँपालिकाका प्रमुख र उपप्रमुख सहभागी भएको उक्त कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश कार्यालयका सचिव विनोदविन्दु शर्माले कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए । 

विभिन्न पालिकाका प्रमुख र उपप्रमुखले आफ्नो जिल्लामा देखिएको स्वास्थ्य समस्या र बजेट अभावका कारण सर्वसाधारणले पाएको सास्तीका साथै पछिल्ला समयमा भएको उपलब्धि, स्वास्थ्य बिमाले पारेको सकारात्मक प्रभावका बारेमा जानकारी गराएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ