arrow

नरेन्द्र मोदीले आइतबार तेस्रो कार्यकालका लागि शपथ लिने 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २४ बिहिबार
narendra-modi-24-always.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी आइतबार लगातार तेस्रो कार्यकालका लागि शपथ लिने भएका छन् । समाचार एजेन्सी एएनआईले आइतबार साँझ ६ बजे मोदीको शपथ हुन सक्ने उल्लेख गरेको छ । 

यसअघि मोदीको शपथ शनिबार हुने बताइएको थियो । मोदीले नेपाल लगाएका देशका प्रधानमन्त्रीहरुलाई आफ्नो शपथमा सरिक हुन निम्तो पठाइसकेकाले नयाँ तिथि भने नसर्ने अपेक्षा गरिएको छ । 

गत मंगलबार घोषित लोकसभा चुनावको नतिजामा भारतीय जनता पार्टी (भाजपा) को नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले लगातार तेस्रो पटक सत्ता हासिल गरेको छ । 

राष्ट्रिय लोकतान्त्रिक गठबन्धनका दलका नेताहरूले बुधबार बैठक गरी प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो नेताका रूपमा चुनेका छन् । पछि प्रधानमन्त्री मोदीले विकसित भारत निर्माणका लागि एनडीएले काम गर्ने बताए । 

प्रधानमन्त्री मोदीले बुधबार ट्विटमा “हाम्रा मूल्यवान् एनडिए साझेदारसँग भेटवार्ता भएको छ । हाम्रो गठबन्धनले राष्ट्रिय प्रगतिलाई अगाडि बढाउने छ र क्षेत्रीय आकांक्षाहरू पूरा गर्नेछ” भनेका छन् । उनले अगाडि भनेका छन्, “हामी भारतका एक अर्ब ४० करोड जनताको सेवा र विकसित भारत निर्माण गर्ने दिशामा काम गर्नेछौँ ।”  

भाजपाले चुनाव जितेका मन्त्रीहरुलाई दोहोर्याउने भएको छ । चुनाव हारेकी भए पनि स्मृति इरानी र राजीव चन्द्रशेखरलाई भने अवसर दिन सक्ने आँकलन पनि भइरहेको छ । 

यसका लागि भाजपा अध्यक्ष जेपी नड्डाको दिल्लीस्थित निवासमा अमित शाह र राजनाथ सिंहको उपस्थितिमा गहन छलफलसमेत भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ