arrow

लेखनाथका संस्थापक मेयरसहित १० जनालाई नागरिक सम्मान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २६ शनिबार
samman-lekhnath.jpg

लेखनाथ । लेखनाथ नगरपालिका संस्थापक मेयर शालिकग्राम पौडेललाई श्रीगौरव पदकबाट सम्मान गरिएको छ । पोखरा महानगरपालिका वडा नं. २९ ले शुक्रबार एक कार्यक्रम आयोजना गरी पौडेललाई उक्त पदकले सम्मान गरिएको हो ।

नगरपालिकाको दीर्घकालीन विकासमा खेलेको भूमिका र लेखनाथ क्षेत्रमा खानेपानीको व्यवस्था मिलाउँदा गरेको कामको मूल्याङ्कन गरी पौडेललाई उक्त पदक प्रदान गरिएको वडाध्यक्ष श्रीप्रसाद गुरुङले जानकारी दिए । श्रीगौरव पदकमा आधा तोला सुनको तक्मा, सम्मानपत्र छ ।

वडा कार्यालयले पौडेलसहित १० जनालाई विभिन्न पदकद्वारा सम्मान गरेको छ । जसमा भोजराज भण्डारी र स्व. हनरी क्याप्टेन तीर्थबहादुर गुरुङलाई श्रीरत्न पदकबाट सम्मान गरिएको छ । श्रीरत्न पदकमा तीन तोला चाँदीको तक्मा र सम्मानपत्र छ ।

यसैगरी श्रीगरिमा पदकबाट यमकुमारी मगर, स्व. केरबहादुर कुमालकी श्रीमती विष्णुमाया कुमाल, श्रीभद्र भण्डारी, मेजर रामप्रसाद गुरुङ, मोतीलाल सुनार, ऋषिराम भण्डारी र क्याप्टेन चन्द्रबहादुर गुरुङलाई सम्मान गरिएको हो । उनीहरुलाई एक तोला चाँदीको तक्मा, सम्मानपत्रले सम्मान गरिएको हो ।

सबै व्यक्तित्वलाई गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री एवं एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सम्मान गरेका हुन् ।

पञ्चायतकालदेखि वर्तमान अवस्थासम्म वडाको विकासका लागि विभिन्न क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्तिको योगदानका आधारमा मूल्याङ्कन गरी सम्मान गरिएको नागरिक सम्मान छनोट समितिका संयोजक ठाकुरप्रसाद घिमिरेले जानकारी दिए ।

संयोजक घिमिरेका अनुसार भावी पुस्तालाई समाजसेवातर्फ अग्रसर हुने प्रेरणा मिलोस् भन्ने उद्देश्यले वडाका करिब १४ हजार जनसंख्याको बीचबाट कार्यविधि बनाएर छनोटमा परेका १० जनालाई पुरस्कृत गर्न सिफारिस गरिएको हो ।

कार्यक्रममा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले राजनीतिक अस्थिरताका कारण जनमानसमा समाजिक कामप्रति कम चासो देखिरहेको अवस्थामा भावी पुस्तालाई समाजसेवातर्फ अग्रसर गराउन कार्यक्रमले थप पे्ररणा प्रदान गर्न विश्वास व्यक्त गरे ।

समाजको हित र विकासका लागि उनीहरुले गरेका कामलाई मूल्याङ्कन गरि गरिएको सम्मानले भविष्यमा हामीले निर्माण गर्न लागेको देश विकासमा थप सहयोग पुग्ने स्पष्ट पारे ।

वडाध्यक्ष श्रीप्रसाद गुरुङले ‘सामाजिक योगदानको उच्च मूल्याङ्कन गर्दै भविष्यका लागि पनि महत्वपूर्ण भूमिका खेल्न सक्ने जनशक्ति निर्माण तथा समाज, देश र भावी पुस्तालाई सिकाउनका लागि पनि यस प्रकारको कार्यक्रम राखेको बताए ।

कार्यक्रममा सम्मानित ब्यक्तित्व भोजराज भण्डारी, महिलाको तर्फबाट काशीमाया गुरुङ, कार्यविधि निर्माण समितिका संयोजक माधवशरण उपाध्याय, छनोट समितिका सदस्य जंगबहादुर गुरुङलगायतले बोलेका थिए ।

वडासचिव दुर्गा न्यौपानेले कार्यक्रम सञ्चालन र धन्यवाद ज्ञापन वडासदस्य क्षेत्रबहादुर गुरुङले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ