arrow

प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालको शपथ लिँदै, नेहरूको बराबरी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २७ आइतबार
narendra-modi-cheers-electi.jpg
तस्बिर – फाइल ।

नयाँदिल्ली । भारतमा भएको १८ औँ लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) को गठबन्धन एनडीएले बहुमत हासिल गरेसँगै गठबन्धनका संसदीय दलका नेता प्रधानमन्त्री नरेन्द्र मोदीले पद तथा गोपनियताको आज शपथ लिँदैछन् । 

लोकसभामा रहेको ५४३ सिटमध्ये २९३ सिटसहित बहुमतप्राप्त एनडीएका तर्फबाट मोदीले शपथ लिन लागेका हुन् । जसमा मोदीको दल भाजपाले २४० सिट ल्याएको छ । 

सन् २०१४ र २०१९ को तुलनामा भाजपाको सिट घटेको भए पनि गठबन्धनका लागि भने बहुमत प्राप्त सिट हो । गठबन्धनमा अन्य दलको ५३ सिट रहेको छ । 

मोदीले बेलुकी स्थानीय समयअनुसार ७ः१५ बजे शपथ लिँदैछन् । शपथ समारोह राष्ट्रपति भवनमा हुनेछ । 

जसमा भारतीय मिडियाहरुका अनुसार ४० जना सांसदले मन्त्री पदको शपथ लिनेछन् । जसमा एनडीएका १४ दलका १८ सांसद हुन सक्नेछन् । 

समारोहमा छिमेकी राष्ट्रहरुका सरकार प्रमुख सहभागी हुने बताइएको छ । चीन, पाकिस्तान र अफगानिस्तान बाहेकका छिमेकी राष्ट्रहरु नेपाल, भुटान, श्रीलंका, बंगलादेश, माल्दिभ्स, सेशेल्स र मौरिससका सरकार प्रमुखहरु सहभागी हुनेछन् । 

नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दिउँसो भारत जाँदैछन् । 

सन् २०१४ मा मोदीले शपथ लिँदा ४६ मन्त्री थिए । मन्त्रिमण्डल ७१ सदस्यीय बनेको थियो । 

सन् २०१९ मा ५८ मन्त्रीले शपथ लिएका थिए । मन्त्रिमण्डल ७२ सदस्यीय भएको थियो । 

भारतको संविधानको धारा ७५ अनुसार बढीमा ८१ जना मन्त्री बनाउन पाइन्छ । 

नेहरूको बराबरी
नरेन्द्र मोदीले लगातार तेस्रो पटक प्रधानमन्त्री बनेर पं जवाहरलाल नेहरूको बराबरी गर्नेछन् । नेहरू सन् १९५२, १९५७ र १९६२ मा प्रधानमन्त्री भएका थिए । नेहरूको सरकार पूर्ण बहुमतप्राप्त थियो । 

मोदी सन् २०१४ देखि तेस्रो पटक प्रधानमन्त्री बनेका छन् । यसअघिको दुवै सरकार पूर्ण बहुमतको भए पनि यसपालि भने गठबन्धनकोमात्र बहुमत हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ