arrow

बालकृष्णले 'लोकमान' मुद्दाको पेशी सारिदिए !

अर्को पेशी पुस ७ मा, त्यो पेशी सार्न नपाउने सर्वोच्चको आदेश

logo
प्रकाशित २०७३ मंसिर १६ बिहिबार
lokman-ji-haa.jpeg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग अदुअआका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिलाई लिएर परेको रिटको पेशी स्थगित भएको छ ।

लामो समय राखेर तोकिएको पेशी अनुसार विहिबार फैसला हुनुपर्ने थियो । कार्कीको पक्षबाट बहस गर्ने वकिल बालकृष्ण न्यौपानेले पेशी सार्न निवेदन दिएकाले आउँदाे पुस ७ गतेलाई सरेको सर्वोच्चका सहप्रवक्ता विश्वराज पौडेलले हाम्राकुरालाई जानकारी दिए ।

पौडेलले भने, ‘विपक्षीका वकिलले पेशी स्थगित गर्न भनि निवेदन दिएकाले सरेको हो ।’ वकिल न्यौपानेले आफु विरामी भएकाले बहस गर्न नसक्ने भन्दै निवेदन दिएका बताइएको छ । सर्वोच्चले पुस ७ गतेको पेसी भने सार्न नपाइने आदेश दिएको छ । सर्वोच्चले त्यस दिन वकिलहरुलाई समय व्यवस्थापन गर्न समेत भनेको छ ।

अख्तियार प्रमुख हुन संविधानले माग गरेको योग्यता लोकमानसँग नभएको भन्दै अधिवक्ता ओम प्रकाश अर्यालले रिट दर्ता गरेकामा सर्वोच्चले फैसला गरिसकेको मुद्दालाई पुनरावलोकन गर्ने निर्णय गरेको थियो । सो मुद्दा न्यायाधीश जगदीश शर्मा पौडेल, आनन्दमोहन भट्टराई र ईश्वर खतिवडाको संयुक्त बेञ्चमा परेको छ ।

अभियोजनकर्ता अर्यालले हाम्राकुरासँग भने, ‘पेशी सरेको छ । पुस ७ पछि सार्न पाइँदैन त्यसपछि निरन्तर फैसला हुन्छ । अहिले कार्की विरुद्ध ७ वटा मुद्दा छन् । मैले हालेकै ४ मुद्दा विचाराधिन छन् ।’ यसमा कुनै चलखेल गर्न पाइँदैन ।  अधिवक्ता अर्यालले मुद्दामा लोकमान नियुक्ति पाँच मुख्य कारणले अवैधानिक भएको जिकिर गरेका छन् ।

पेशी रोक्न लगाउने वकिल न्यौपाने पहिले राप्रपा नेपालमा थिए । एक ताका उनी कमल थापाका प्रवक्ता समेत भएका बताइन्छ । पछि उनी कारबाहीमा परे । अहिले लोकमानसिंह कार्कीसँग नजिकएका बताइएको छ ।  कार्की आफुविरुद्धका मुद्दा लम्ब्याउन लागि परेका स्रोतले बताएको छ । कार्कीले यसअघि कांग्रेस सांसद धनराज गुरुङलगायतले दर्ता गरेको सार्वजनिक महत्वको प्रस्तावलाई अघि बढ्न नदिन अर्कै वकिल लगाएर रिट दर्ता गर्न लगाएका थिए । यद्यपि, सर्वोच्चले सो रिट दर्ता गर्न नै मानेन ।  

लोकमानले अहिलेसम्म ५ जना वरिष्ठ र १० जना अनुभवि वकिल नियुक्त गरेका छन् । वरिष्ठ अधिवक्ता सुशील पन्त कार्कीका प्रमुख अधिवक्ता हुन् । उनको तर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ता महादेव यादव, बद्रीबहादुर कार्की, उपेन्द्र केशरी न्यौपाने र बालकृष्ण न्यौपानेले वकालतनामा लेखाइसकेका छन् । त्यस्तै कोमल घिमिरे, मुक्तिनारायण प्रधान, माधव बाँस्कोटा, माधव बस्नेत, कृष्णप्रसाद सापकोटा, सुरेन्द्र महतो, बाबुराम कुँवर, भीमार्जुन आचार्य र कुमार रेग्मी पनि लोकमानका वकिल भएर बहस गर्ने भएका छन् ।

लोकमानको विपक्षमा बहस गर्न पनि पाँच जना वरिष्ठ वकिल छन् । वरिष्ठ अधिवक्ता शम्भु थापा, श्रीहरि अर्याल, सतिशकृष्ण खरेल, रवि खनाल, रामप्रसाद गौडेलले रिट निवेदकको तर्फबाट लोकमानको विपक्षमा बहस गर्दै छन् । त्यस्तै, लोकमानको विपक्षमा बहस गर्न विजय मिश्र, टिकाराम भट्टराई, सुनिल पोखरेल, रमेश बडाल, चन्द्रकान्त ज्ञावली, बाबुराम दहाल लगायत ८० जनाले वकालतनामा लेखाएका बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ