arrow

श्रीलङ्काका राष्ट्रपति र सार्क महासचिवबीच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३१ बिहिबार
saarc-mahasachib.jpg

काठमाडौँ । परिचयात्मक परामर्श भ्रमणमा रहेका दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव गुलाम सरवारले श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेसँग बुधबार कोलम्बोमा शिष्टाचार भेट गरेका छन् । 

त्यस अवसरमा महासचिव सरवारले स्थापनाकालदेखि नै सार्क प्रक्रियालाई श्रीलङ्काबाट निरन्तर सहयोग भएकामा त्यसको सराहना गर्दै सङ्गठनलाई थप सुदृढ बनाउन श्रीलङ्काबाट सहयोग र मार्गदर्शन प्राप्त हुने विश्वास व्यक्त गरेको सार्क सचिवालयले जनाएको छ । 

महासचिवले श्रीलङ्काका राष्ट्रपतिलाई सार्कका वर्तमान गतिविधि र यसका चुनौतीहरूबारे अवगत गराउँदै सार्क प्रक्रियालाई पुनः सशक्त बनाउन श्रीलङ्काको सहयोगको अपेक्षा गरेका थिए । 

सार्क अध्यक्ष नेपालसँगको परामर्शमा शिखर सम्मेलनलगायत अन्य उच्चस्तरीय बैठक यथाशीघ्र हुनेमा आफू विश्वस्त रहेको महासचिवले बताए । 

सार्क क्षेत्रका जनताको आशा र आकाङ्क्षालाई मूर्तरूप दिनुपर्नेमा जोड दिँदै राष्ट्रपति विक्रमासिङ्घेले सार्क प्रक्रियालाई पुनरुत्थानका निम्ति थप कदम चाल्न आवश्यक भएको बताएका थिए । 

उनले कोलम्बोमा सार्क सांस्कृतिक केन्द्र स्थापनाका लागि स्थायी स्थान उपलव्ध गराउन सहमति जनाउनुभएको सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

राष्ट्रपति विक्रमासिङ्घेले सार्कप्रति श्रीलङ्काको प्रतिबद्धता दोहो¥याउँदै सार्क क्षेत्रमा दिगो र एकीकृत विकास हासिल गर्न तथा सङ्गठनका लक्ष्य पूरा गर्न हरसम्भव सहयोग गर्ने प्रतिबद्धता दोहोर्‍याएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ