arrow

केपी ओलीको निर्देशन गोकुलले मानेनन्, काभ्रेमा भुर्तेलको प्यानल विजयी

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८१ जेठ ३१ बिहिबार
uml-kavre-rajan-bhurtel-81-.jpg

काभ्रे । एमाले काभ्रेको अध्यक्षमा राजन भुर्तेल विजयी भएका छन् । बुधबार अबेर सम्पन्न मतदानपछिको मतपरिणाम अनुसार ३ सय ८० मत प्राप्त गरी निवर्तमान सचिव रहेका भुर्तेलले बाजी मारेका हुन् ।

अध्यक्षका अर्का प्रत्यासी रहेका निवर्तमान उपाध्यक्ष चन्द्रबहादुर लामाले २ सय ९९ मत प्राप्त गरेका छन् । पदाधिकारीमा भुर्तेलको प्यानल नै विजयी भएको छ । 

उपाध्यक्षमा देवसागर लामा, सचिवमा राजकुमार सापकोटा, उपसचिवमा रत्नकुश रञ्जितकार र उपसचिव (महिला) मा सूर्यमाया दनुवार निर्वाचित भएका छन् ।

लामाको प्यानलबाट उपाध्यक्षमा आत्माराम थापा, सचिवमा होम चौलागाई, उपसचिव खुल्लामा पुरुषोत्तम अधिकारी र उपसचिव ९ महिला० मा पवित्रा भुर्तेलले प्रतिस्पर्धा गरेका थिए ।

विद्युतीय मतदानमा ६ सय ८६ जना प्रतिनिधिमध्ये ६ सय ७९ले मतदान गरेका थिए भने ७ जना उपस्थित भएनन् ।

उद्धघाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्यानल बनाएर प्रतिस्पर्धा नगर्न निर्देशन दिए पनि अध्यक्षका दुवै उम्मेदवारले टिम खडा गरेका थिए ।

अधिवेशनमा नेताहरुले हस्तक्षेप नगर्न दिएको अध्यक्षको निर्देशन लत्याउँदै पोलिट्व्युरो सदस्य गोकुलप्रसाद बाँस्कोटा, जिल्ला अध्यक्ष अशोककुमार व्याञ्जु लगायतका नेता कार्यकर्ता भुर्तेलको पक्षमा खडा भएका थिए । 

केन्द्रीय सदस्य रेशम लामा, युवासंघका उपाध्यक्ष अमित लामा लगायतका युवाहरु लामाको पक्षमा खुलेका थिए ।

जिल्ला कमिटीमा ५ पदाधिकारी, भौगोलिक क्षेत्रबाट ८० सदस्य, समावेशीतर्फ १३ सदस्य र खुलातर्फ ७ सदस्य गरी कुल १ सय ५ निर्वाचित भए । 

लेखा आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिवसहित ७ जना निर्वाचित भएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ