arrow

नास आइटीको लण्डन टेक विकमा सफल सहभागिता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १ शनिबार
nas-it-uk-tec-show-participate.jpg

काठमाडौँ। नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेस कम्पनीज् (नास आइटी)ले विश्वकै ठूलो र प्रभावशाली मध्येको एक प्रविधि प्रदर्शनी लण्डन टेक विकमा आफ्नो सहभागिता सफल भएको घोषणा गरेको छ। जुन १० देखि १४ सम्म ओलम्पिया लन्डनमा आयोजित यस प्रदर्शनीमा नास आइटीका १४ सदस्य कम्पनीहरूले भाग लिएका थिए।

लन्डन टेक विक २०२४ को केन्द्रीय विषयहरूमा कृत्रिम बुद्धिमत्ता (एआई), डेटा सुरक्षा, ग्रिन इनोभेसन र उद्यमशीलता जस्ता महत्त्वपूर्ण विषयहरू समावेश थिए। युएसएआईडीसँगको सहकार्यमा भएको नास आइटीको सहभागिताले नेपालका कम्पनीहरूलाई अन्तर्राष्ट्रिय एक्सपोजर प्रदान गर्न मद्दत गरेको छ।

सहभागी कम्पनीका प्रतिनिधिहरूले भने,"लन्डन टेक विक २०२४ मा सहभागी भएर ग्लोबल आइटी मार्केटको अध्ययन र अवलोकन गर्ने अवसर पायौँ।” उनीहरूले यस्ता कार्यक्रमहरूले नेपाली कम्पनीहरूको आत्मविश्वास बढाउने र तिनीहरूको प्राविधिक विकास, बजार व्यवस्थापन र बिक्रीका लागि सहयोग पुर्‍याउनेमा जोड दिएका छन्।

लन्डन टेक विकले नेपाली कम्पनीहरूलाई आफ्नो आइटी उत्पादन र सेवाहरू विश्वव्यापी दर्शकहरू माझ प्रदर्शन गर्ने महत्त्वपूर्ण प्लात्फर्म प्रदान गरेको छ। यस प्रकारका प्रदर्शनीहरूले अन्तर्राष्ट्रिय आइटी जगतमा नेपालको प्रतिष्ठा बढाउनुको साथसाथै व्यापार र सहकार्यको अवसरहरू पनि सिर्जना गर्दछ। नेपाललाई ग्लोबल टेक हबको रूपमा चिनाउन हरेक वर्ष यस्ता अन्तर्राष्ट्रिय प्रदर्शनीहरूमा भाग लिने नास आइटिको योजना रहेको छ।

जुन १२ मा लन्डनस्थित नेपाली दूतावासले नास आइटी प्रतिनिधिमण्डल, अन्तर्राष्ट्रिय अतिथि र प्रवासी समुदायहरूलाई विशेष अन्तरक्रिया कार्यक्रमको लागि स्वागत गरेका थिए। यस कार्यक्रमद्वारा नास आइटीले नेपालको आइटी उद्योगको प्रगति र सम्भावनाहरूको जानकारी दिँदै अन्तर्राष्ट्रिय र प्रवासी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आह्वान गरेको छ। बेलायतका लागि नेपाली राजदूत महामहिम श्री ज्ञान चन्द्र आचार्यले आइटी उद्योगको प्रवर्द्धनका निम्ति नेपाल र बेलायत बीचको सहकार्य एकदम महत्त्वपूर्ण रहेको बताएका छन्।

१४ सदस्य कम्पनीहरूका प्रतिनिधिहरू लन्डनमा भएको अवसरको उपयोग गर्दै जुन १४ मा नास आइटीले नेपाली प्रवासी समुदायका आइटी विज्ञ, उद्यमी र लगानीकर्ताहरूलाई लक्षित गरी नेपालको आइटी क्षेत्रको भविष्यबारे छलफल गर्न एक समारोहको आयोजना पनि गरेका थिए।

नास आइटी नेपाललाई ग्लोबल टेक हबको रूपमा विकास गर्ने लक्ष्य सहित स्थापना भएको आइटी कम्पनीहरूको गैरनाफामूलक छाता संस्था हो। स्थापना कालदेखि नै संस्थाले नेपालको आइटी क्षेत्रलाई अगाडि बढाउन नवप्रवर्तन, सशक्तीकरण, सहकार्य, क्षमता अभिवृद्धि र नीति पैरवीमा काम गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ